प्रदेश-१ मा गाइजात्रा राजधानीबारे चर्चा

मोरङ-प्रदेश एकमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, समाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश एक प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, उद्योगपति तथा उपस्थित अधिकांशको ध्यान मन्चमा रहेको थियो।

साँझको ५ बज्‍न केही मिनेटमात्र बाँकी थियो। विराटनगरको वीरेन्द्र सभागृह हलभित्र एकाएक संगीत गुन्जियो। सबै थप केन्द्रित भए मन्चतर्फ। आवाज आयो बुद्धिष्ट गुरुको। आवाज आएपनि उनी मन्चतर्फ देखिएन।

विज्ञापन

बुद्धिष्ट पहिरनमा एक ब्यक्ति विस्तारै विभिन्‍न कुरा राख्दै दर्शकदिर्घाको पछाडितर्फको ढोकाबाट मन्चतर्फ प्रवेश गरे। त्यसबेला मञ्‍चमा केन्द्रित सबैले टाउको घुमाएर पछाडि फर्किन बाध्य भए।

सोही क्रममा ती व्‍यक्तिले बुद्धिष्ट लवचमा भने, ‘विराटनगर प्रदेश एकको राजधानी भयो, प्रदेशको नाम चाँही किन राख्न नसकेको मन्त्री ज्यू।’ दर्शकदीर्घाबाट हाँसोको आवाज गुन्जियो हलभित्र।

प्रसंग विराटनगरमा शनिबार सम्पन्न प्रदेश प्रदेशमा गाइजात्राको हो। जसमा बुद्धिष्ट भेषमा कार्यक्रमको सुरुआत गरेका हास्य कलाकार मनोज गजुरेलले ‘प्रदेश एकको राजधानीको एउटै सभागृह थोत्रो भएको र अर्कोवर्ष सभागृह सुन्दर भए तपाईसंग भोट टपलक्कै’ भनेर हास्यब्यंग गर्दा दर्शक त्यसैगरी, मञ्‍चनजिक बसेका मुख्यमन्त्री राईसंगै अन्य मन्त्री तथा नेताहरु मुसुमुसु हाँसिरहे।

कार्यक्रम सुरुआतसँगै प्रदेश एकको नाम, राजनीतिक अवस्था तथा समाजिक विषयमा तिखो प्रहार गरेका गजुरेलले विभिन्‍न तरिकाबाट दर्शकलाई हसाएका थिए। कार्यक्रममा गजुरेलसंगै कार्यक्रमको सुरुआत यमन श्रेष्ठको प्यारोडि गीतबाट भएको थियो।

त्यसपछि करिब पौने तिन घण्टा समय वितेको दर्शकले आभाष नै पाउन सकेनन्। हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमनको प्यारोडी गीतपछि हास्य कलाकारद्धय रवि डङ्गोल ‘बेमान’ र पूर्ण थापाले गाइजात्रा अस्पतालबाट कार्यक्रम अघि बढाए। सो क्रममा संघीयतासंगै करको चपेटामा जनता भन्‍ने विषयलाई जोड दिइएको थियो।

त्यसपछि, हास्यकलाकार शैलेन्द्र सिम्खडाले राजनीति र समाजिक विषयमा प्रस्तुति दिएका थिए। सिम्खडाले सिंहदरबार भित्रका बेथिती र शक्तिको आडमा हुने गरेका भ्रष्टाचारका नालीबेली लगाएका थिए। सिम्खडापछि युवा हास्यकलाकारका रुपमा परिचित सुवोध गौतम र सुमन कार्कीको जोडीले जनता हान्न चाहन्छन् नामक अन्र्तवार्ताले दर्शकलाई करिब २५ मिनेट एकाग्रह बनाए। जसमा गौतमले विभिन्न नेताको र कार्कीले पत्रकार ऋषि धमलाको क्यारिकेचर गरेका थिए।

त्यसैगरि सुरेन्द्र केसी ‘मुलाको साग’ र शिवशङ्कर रिजालले ‘जोगिन्दर पानवाला’को जोडीको हास्यब्यंग्य हेर्न लायक रहेको थियो। सांगितीक क्षेत्रमा पाइला चाल्ने क्रममा काउली बुढीको अभियन गरेर स्थापित भएकी सन्ध्या बुढा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अभिनयमा गजुरेल बीचको ब्यंगात्मक प्रहसनलाई दर्शकले उत्तिकै रुचाएका थिए।

४ लाख रुपैया खर्च हुने अनुमान गरिएको कार्यक्रमको आयोजना जेसिस विराटनगरले गरेको हो।गजुरेलसहितको टोली प्रदेश प्रदेशमा गाइजात्रा नाम दिएर अभियानका रुपमा देशभर कार्यक्रम आयोजना हुने बताएका छन्।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्