पर्सामा भाइरल ज्वरोकका बिरामी बढे, सावधानी अपनाउन चिकित्सकको सुझाव

वीरगञ्‍ज-पर्सा जिल्लामा शहरदेखि गाउसम्म भाइरल ज्वरोको प्रकोप अहिले ह्वातै बढेको छ।करिब २ सातादेखि बढेको गर्मीसँगै जिल्लामा गाउँ-गाउँसम्म भाइरल ज्वरोको प्रकोप बढेको हो।

अहिले जिल्लाका सरकारीदेखि निजी अस्पताल क्लिनिकहरुमा समेत भाइरल ज्वरोको बिरामीको संख्या बढेको चिकित्सकहरुले बताएका छन्।असार महिनाको अन्तिम साता र साउनको पहिलो सातासम्म पानी परेको र बाढीले मौसम चिसो भएको तथा त्यसपछि अचानक बढेको गर्मीका कारण अहिले भाइरल ज्वरोका बिरामीहरु बढेका छन्।

भाइरल ज्वरोको विरामीको सिकार कुनै एक उमेरको नभइ बच्चादेखि वृद्धसम्म सबै यो रोगको प्रकोपमा पर्ने गरेका छन्।भाइरल ज्वरोका बिरामीहरु अहिले पहिलोको तुलनामा दोब्बरले वृद्धि भएको नारायणी अस्पतालका फैमिली फिजिसियन डाक्टर उदय नारायण सिंहले बताए।

उनले अहिले मौसममा आएको तातोपनाका कारण बिशेष गरि भाइरल ज्वरोको बिरामीहरु बढेको जानकारी दिए।अहिले भाइरल ज्वरोको प्रकोप तिब्र रुपमा बढेको बताउँदै डाक्टर सिंहले यसलाई इपिडेमिक महामारी नै भन्‍न सकिने जिकरि गरे।

अहिले नारयणी अस्पतालमा ईमरजेन्सीदेखि लिएर ओपिडीमा पनि अधिकाँश भाइरल ज्वरोकै कारणले बिरामी भएकाहरु आउने गरेको सिंहले बताए।अहिले पर्सा जिल्लाका प्राय जसो परिवारका सदस्यहरुमा भाइरल ज्वरोको बिरामी हुने गरेको बताउदै डा सिंहले निजी क्लिनिकदेखि सरकारी अस्पतालहरुमा समेत भाइरल ज्वरोले सताएका बिरामीको संख्या उच्च रहेको बताए।

सिंहका अनुसार अहिलेको भाइरल ज्वरोका बिरामीहरुमा कडा खालको ज्वरो आउने,जिउ दुख्ने,खाना खान मन नलाग्ने,रुघाखोकी लाग्ने जस्ता लक्षणहरु बढी देखिने गरेका छन्।यसरी यस्ता लक्ष्णहरु भएका बिरामीहरुको रगत जाँच गर्दा बिरामीहरुको रगतमा प्लेटलेटसको मात्रा कमी भएको देखिने गरेको सिंहले जानकारी दिए।

नारयणी अस्पतालमा भेटिएका बिरगञ्जका राधेशयाम ठाकुरले आफनी आमालाई एक हप्तादेखिको ज्वरोले सताएपछि नारायणी अस्पतालमा उपचार गराउन ल्याएको बताए।उनले पहिले आफनो छोरालाई यस्तै किसिमको ज्वरोले सताएको र उसलाई निको भएपछि आमालाई पनि त्यस्तै प्रकारको ज्वारेले सताएको बताए।

‘पहिले छोरालाई ज्वरोले सताएको थियो,ठाकुरले भने,छोरालाई निको हुने बितिक्कै अहिले आमालाई पनि त्यस्तै ज्वरो आय ।’ ठाकुरले एक हप्तासम्म स्थानीय क्लिनिकहरुमै देखाएर औषधि खुवाएको भएपनि निको नभएपछि अस्पतालमा नै उपचारको लागि लिएर आउनु परेको बताए ।

बढी बिरामी ग्रामीण भेगका


मौसममा भएको उतार चढावका कारण पर्सा जिल्लाको ग्रामीण’ भेगमा पनि भाइरल ज्वरोकै बिरामी बढेका छन्।

पर्साको पोखरिया नगरपालिका ,पर्सागढी,बहुदरमाई नगरपालिका,पटेर्वा सुगौली गाउपालिका लगायतका स्वास्थय चौकीहरुमा पनि अहिले भाइरल ज्वरोकै बिरामीहरु बढी आउने गरेको स्वास्थय चौकीका ईन्चार्र्जहरुले बताएका छन्।

अहिले केही हप्तादेखि स्वास्थय चौकीमा दिनहु सयौको सँख्या भाईरुल ज्वरोकै बिरामीहरु आउने गरेको पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी स्वाथ्य चौकीका ईन्चार्ज बिकाश मण्डलले बताए।उनले अहिले स्वास्थय चौकीमा आउने गरेका बिरामीहरु मध्ये अधिकाँश भाइरल ज्वरोकै हुने गरेको बताए।

‘अहिले स्वास्थय चौकीमा एक सयजनाभन्दा पनि बढी भाइरल ज्वरोका बिरामीहरु आईरहेका छन,मण्डलले भने,दिउसोको समयमा स्वास्थ्य चौकी नै बिरामीले भरिने गरेको छ।’मण्डलले बच्चादेखि बृद्ध लगायत हरेका उमेरका मानिसहरु अहिले भाइरल ज्वरोकै कारण पीडित बनेको बताए।

सावधानी अपनाउन चिकित्सकको सुझाव


मौसममा भएको परिवर्तनसँगै भाइरल ज्वरो सर्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

भाइरल ज्वरो परिवारमा एक जनालाइृ लागेमा अर्को सदस्यलाई लाग्नसक्ने सम्भावना उच्च रहेकोले सावधानी अपनाउन नसके पुरै परिवारमा नै भाइरल ज्वरोको शिकार हुन सक्ने चिकित्सकहरु बताउँछन्।

असार साउनमा पानी परेको तथा अहिले दुई हप्तादेखि बढेको गर्मीका कारणले भाइरल ज्वरोको बिरामीको संख्या बढेकोले परिवारको कुनै एक सदस्यलाई भाइरल ज्वरो भएमा अन्यमा पनि सजिलै सर्न सक्ने सम्भावना रहेको सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन्।

भाइरल ज्वरो भएकाले बिरामीले खोक्दा हाच्छयु गर्दा यो रोग सर्न सक्ने डाक्टर उदय नारायण सिंहले बताए।उनले भाइरल ज्वरो लागिसकेका बिरामीले सफा लुगा लगाउनु खोक्दा हाच्छयु गर्दा रुमालले मुख छोप्नु तथा सफा पानीको प्रयोग गर्नाले यो रोग सर्नबाट बच्न सकिने जानकारी दिए।

गाउँघरमा अहिले पनि ज्वरो आएपछि गाउमा सस्तो औषधिले उपचार गराउने तथा पैसा बढी लाग्ने डरका कारण अस्पताल नजाने गरेको पाइएकोले अहिलेको मौसममा भईरहेको परिबर्तनका कारणले ज्वरो लाग्ने बितिक्कै अस्पतालमा जान डाक्टर सिंहले सुझाव दिए।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्