नयाँ औषधिले ‘सुट’ नगरे प्रधानमन्त्री ओलीको मिर्गौला फेरि फेर्नुपर्ने सम्भावना

काठमाडौँ — सिगापुरबाट ‘स्वास्थ्य परीक्षण’ गरेर फर्केको करिब दुई सातापछि अर्थात भदौ चार गते फेरि तय भएको प्रधानमन्त्री केपी ओलीको सिंगापुर यात्रा पछिल्लो पटक भन्दा अझै लम्बिने संकेत देखिएको छ।

गत साउन १८ देखि २७ गतेसम्म ९ दिन ‘स्वास्थ्य परीक्षण’ गरेर फर्किएका प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि खाइरहेको औषधि परिवर्तन गरेर पछिल्लो पटक सिंगापुरमा गएका बेला खान शुरु गरेको नयाँ औषधिको असर हेर्ने र त्यो असफल भएमा नयाँ मिर्गौला प्रत्यारोपण गर्ने सम्भावना समेत रहेको छ।

त्यसका लागि उनले पछिल्लो पटक भन्दा धेरै समय सिंगापुर बिताउनुपर्ने हुनसक्ने उच्च स्रोतले बताएको छ।

सिंगापुरबाट फर्किएपछि आफुू स्वस्थ्य रहेको दाबी गरेका ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सीटी अस्पतालका चिकित्सकसँग फेरि जाँचका लागि भदौ ५ गते अर्थात बिहीबार समय लिएको र चार गते त्यहाँ पुग्ने तयारी गरेका हुन्।

उनी स्वास्थ्य जाँचका लागि भदौ चार गते फेरि सिंगापुर जान लागेकोबारे समाचार ३० गते देशसञ्चारले प्रकाशित गरेको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले बाहिर हल्ला भएजस्तो आफु सिकिस्त नभएको दाबी गरेका थिए भने उनका सचिवायल सदस्य र समर्थकले ओलीको स्वास्थ्यलाई लिएर भ्रामक समाचार प्रकाशन गरेको भन्दै आलोचना गरेका थिए।

तर उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्री स्वास्थ्यबारे नागरिकलाई लुकाउन खोज्नु ठूलो गल्ती हो। उहाँको अवस्था जे हो त्यसबारे जान्ने हक नागरिकलाई छ। अब ओलीले बताउनु पर्छ फेरि किन सिंगापुर जान लागेको हो?’

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर ढुक्क हुने अवस्था नरहेकाले ‘फलोअप’का लागि सिंगापुर जाने सम्बन्धमा त्यतिबेलै निश्चित गरिएको भएपनि त्यो लुकाउने प्रयास गरिएको थियो।

नेपालमा परीक्षण नहुने र उपचार नहुने उनलाई के समस्या भएको हो? र, उनको त्यहाँको स्वास्थ्य जाँचको रिपोर्ट किन सार्वजनिक गरिएन भन्ने प्रश्न नागरिकस्तरबाट पनि व्यापकरुपमा उठेको थियो।

प्रधानमन्त्री ओलीले आफूलाई चिकित्सकले अझै २0/२५ वर्ष बाँच्छस् भनेको बताएको सूचनाहरु पनि उनको सचिवालयबाट यो बीचमा बाहिरिएको थियो।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्