१५ वर्ष मुनिको साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको बिदाई

मोरङ– भारतको कोलकातामा हुने १५ वर्षमुनिको साफ च्याम्पियन्यसीप फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको बिदाई गरिएको छ।

सुनसरीको इटहरीमा अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुले २९ जनाको टोलीलाई बिदाई गरेको हो। बिदाईका क्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको विकासले गति लिँदै गएको बताए।

विज्ञापन

साफ च्याम्पियन्सीपमा सहभागी हुने टोलीलाई शुभकामना दिँदै अध्यक्ष शेर्पाले स्तरीय खेलको प्रदर्शन गर्दै उपाधि जित्ने क्षमता टोलीमा रहेको बताए।

सुहाउँदिलो वातावरणका लागि इटहरीमा पछिल्लो एकसातादेखि टोली बन्द प्रशिक्षणमा रहेको बताएका टोली व्यवस्थापक निरोज खड्गीले कोलकाता मिसन जितका लागि हुने बताए।

टोलीको कप्तानी प्रदीप लम्सालले गरिरहेका छन्। नेपालले पहिलो खेल भारतविरुद्ध भदौ ४ गते कल्याणी स्टेडियममा खेल्नेछ।

प्रतियोगितामा आयोजक राष्ट्र भारतसँगै साविक विजेता बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानसँगै नेपालले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

गतवर्ष काठमाडाैँमा सम्पन्न प्रतियोगितामा नेपाल चौथो स्थानमा रहेको थियो। सोक्रममा बंगलादेशले पाकिस्तानलाई पेनाल्टीमा पराजित गर्दै उपाधि चुम्न सफल भएको थियो। भारतीय टोली भने तेश्रो स्थानमा रहेको थियो।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्