रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण सुरु

तस्बिर-फाइल आर्काइभबाट

काठमाडौं- रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ।

गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सिए÷तुलसी कन्सट्रक्शन जेभीले मन्दिर बनाउन थालेको हो।

मन्दिर पुनःनिर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको ‘कङ्क्रिटको टाइबिम’ फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको प्यासेज पुनःनिर्माण थालिएको हो।

रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजीकै चुना भिजाइएको छ। चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ। सिए÷तुलसी कन्सट्रक्शन जेभीका इञ्जिनीयर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको जानकारी दिए।

क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनःनिर्माण गरिने उनले बताए। कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रुपमा अघि बढाइनेछ। रानीपोखरी पुनःनिर्माण अनुगमनको नेतृत्व गरिरहनुभएका प्राधिकरणका सहसचिव एवम् सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको काम सन्तोषजनक रुपमा अघि बढेको बताए।

निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माण गर्नेछ। उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माणको जिम्मेवारी पाएको छ।

उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ। दक्षिण र उत्तरको एक तिहाइ भागमा पर्खाल लगाउने क्रम जारी छ। पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ।

भक्तपुरका दक्ष कालिगढद्वारा पोखरीमा पानी अड्याउन कालो माटोको सलामी दिने काम भइरहेको छ। प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढको सङ्ख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्