‘मिर्गौला बेचेर ठूलो गल्ती गरे,अब रुद्राक्ष खेतीले जीवन चलाउँछु’

काभ्रे-पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोपे। अहिले उनको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्‍ने गरेको छ।

घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गौला बिक्री गरेकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गरेको हो। उनी भन्छन्, ‘जीवनमै एकपटक ठूलो गल्ती गरियो, अब रुद्राक्ष खेती गरेर घरव्यबहार टार्नेछु।’

विज्ञापन

गाउँमै रुद्राक्षको बिरुवा ल्याएका व्यापारीसँग उहाँले प्रतिबोट रु ७५ मा किनेकी हुन। ‘अब अरु २५ बोट थप रुद्राक्षका बिरुवा रोप्ने विचार गर्दैछु” ती महिला भन्छन,’ ‘गाउँका हुनेखानेले रुद्राक्ष रोपेर राम्रो आम्दानी गरेको देखेपछि आफू पनि यो खेतीमा लागेकी हूँ ।”

उहाँकै सल्लाहमा मिर्गौला बिक्री गरेका एक छिमेकी पुरुषले पनि बारीमा २० बोट रुद्राक्ष रोपेका छन्। खेत छैन, बारीमा राम्रोसँग मकै पनि फल्दैन, अब रुद्राक्षबाट केही कमाइएला की भन्ने आशा पलाएको उनी सुनाउँछिन्।आम्दानीको स्रोत पहिल्याउन नसक्दा मिर्गौला बिक्री गरेर आफूले घातक काम गरेको ती पुरुषको पनि दुःखेसो छ ।

अहिले यो गाउँका मिर्गौला बिक्री गर्ने १३ जनाले रुद्राक्षखेती थालेका छन्। चार वर्षअघि बिरुवा रोपेका तीन जनाको रुद्राक्ष फल्न शुरु भएको छ। त्यसपछि रोप्नेका रुद्राक्षको बोट हुर्कँदैछ।

होक्से र भुम्लुका साथै दोलालघाटका बासिन्दाले पाँच वर्षअघि नमूनाका रुपमा यो खेती थालेकामा मिर्गौला बिक्री गर्नेहरु पनि अबको केही वर्षमै रुद्राक्षले घरव्यबहार थेग्नेमा विश्वस्त छन्।

मिर्गाैला बेचेर आफ्नो स्वास्थ्यका साथै घरव्यवहार बिग्रदै गएपछि अघिकांश उनीहरू रक्सीले पीडा भुलाउने गर्थे। ‘आम्दानीको दरिलो स्रोत भेट्टायौँ, अब दायाँबायाँ लाग्दैनौँ’ मिर्गौला बिक्री गरेका हाक्सेकै अर्का एक पुरुष भन्छन, ‘अब हामी यहीखेती गरेर जीविकोपार्जन गर्छौँ।’ उनी मिर्गौला बिक्री गरेका अन्यलाई पनि रुद्राक्ष खेतीगर्न सल्लाह दिँदैजाने बताउँछन्।

स्थानीय समाजसेवी हरिप्रसाद सापकोटा मिर्गौला बिक्री गर्ने केहीलाई आफूले पनि रुद्राक्षखेती गर्न सल्लाह दिएको बताउँछन्। उनी भन्छन्, ‘चार वर्षअघि रुद्राक्ष रोप्नेको अहिले उत्पादन शुरु भएको छ।” सामाजसेवी सापकोटाका अनुसार एक पाथी रुद्राक्षको रु ३०० मा गाउँमै व्यापारीले किन्ने गरेका छन्।

सोही नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल पनि मिर्गौला बिक्री गर्नेका परिवारलाई थप आम्दानी गराउने उद्देश्यले मौरीका घार वितरण गरिएको जानकारी दिइन्। उनी भन्छन्, ‘हाललाई प्रतिघर एक घार वितरण गरिएको छ, क्रमैसँग प्रतिघर पाँच वटासम्म पुर्‍याउने लक्ष्य राखिएको छ।’

आठ दश वर्ष पहिले रुद्राक्ष रोपेका होक्सेका बासिन्दाले वार्षिक १० हजार किलो रुद्राक्षका दाना पशुपति क्षेत्रमा बिक्री गर्दै आएको स्थानीयवासी राममाया तामाङ बताउँछन्। उनी भन्छन्, ‘दुई बोटले मात्रै वर्षमा रू २० हजारसम्म आम्दानी दिन्छ।’ बजारमा एकमुखे, आठमुखे र ११ मुखे रुद्राक्ष बहुमूल्य मानिन्छ।

एक गैरसरकारी संस्थाको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म होक्सेका २१४ तथा मण्डनदेउपुर नपास्थित ज्याम्दीका ५६ जनाले आफ्ना एउटा मिर्गौला दलालमार्फत भारतमा गएर बिक्री गरेका थिए। केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकबाट २५ वर्ष अघिदेखि मिर्गौला बिक्री हुनथालेको घटनाक्रमले देखाएको छ।

साविक होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले नै मिर्गौला बिक्री गरेपछि २०६८ सालमा उनीहरूले गाउँ नै छाडेका थिए। विसं २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्रेपछि यहाँबाट मिर्गौला तस्करी रोकिँदै गएको हो।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू