जसले पायो मदन पु्रस्कार

अन्तिम मल्ल राजा रणजीत मल्लको ‘हार’को कथा- रणहार

काठमाडौँ – नेपाल लामो शासन इतिहासमा स्मरणीय समय हो मल्लकाल। १२ औँ शताब्दीमा अरिदेव मल्ल राजाले सुरु गरेको मल्लकालीन शासन १८ औँ शताब्दीमा राजा रणजीत मल्लको समयमा आएपछि टुंगियो।

यसमा नेपाल एकीकरण अभियानका अभियन्ता श्री ५ महाराजधिराज पृथ्वी नारायण शाहको प्रमुख भूमिका रह्यो। शाहले मितेरी साइनो जोडी मल्ल वंशलाई आफ्नो हातमा लिने चातुर्य गरे। फलस्वरुप उपत्यकामा दबदबा रहेको मल्ल शासन पतन भयो।

इतिहासका पुस्तकमा मल्लकालका धेरै कथा कोरिएका छन्। कतिपय कथाहरु पालिस लगाएर चम्काइएको छ भने कतिपय कोरिएका नै छैनन्। काठमाडौँ, भक्तपुर र ललितपुरमा भएको भौतिक संरचनाले पनि मल्लकालीन शासन स्मृतिलाई जीवित राखेको छ। समय कालखण्ड बित्दै जाँदा कयौँ पुस्तक लेखिएका छन्, केही तथ्य त केही आख्यान।

२०७५ सालमा इतिहासविद् योगेश राजले लेखेको पुस्तक ‘रणहार’ प्रकाशनमा आयो। ‘इतिहास आख्यान’ मा आधारित उपन्यास ‘रणहार’ मल्लकालका अन्तिम राजा ‘रणजीत मल्ल’ सँग जोडिएको छ। यो पुस्तक नेपालयले प्रकाशन गरेको हो।

के भन्छन्, प्रकाशक

नेपालय प्रमुख किरणकृष्ण श्रेष्ठ यो पुस्तक नेपालयको प्रकाशन क्याटलगमा पर्नु नै ठूलो कुरा भएको बताउछन्। देशसञ्चारसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘व्यापारिक सफलता र त्यसबाट पाइने सम्मानको कुरा फरक हो तर नेपालयले यस्तो पुस्तक छाप्ने मौका पाउनु नै खुसीको कुरा हो।’

यो पुस्तक नेपालयलाई एक वर्ष अगाडि छाप्ने प्रस्ताव आएको हो। किताब प्राप्त गर्ने बित्तिकै नेपालयले यसलाई उम्काउन चाहेन। श्रेष्ठले कारण खुलाउँदै भने, ‘हामीलाई यो किताब सारै उत्कृष्ट लागेर छापेका हौँ।’ लेखक योगेश राजका अहिलेसम्म मार्टिन चौतारीको प्रकाशनमा शैक्षिक पुस्तकहरुमात्र प्रकाशन भएका छन्।

यो पुस्तकमा राजा रणजीत मल्लको राजकीय स्वाभाव बाहेक अन्य रुचिको बारेमा उल्लेख गरिएको छ। भक्तपुरको नेवारी लवज अनि रणजीत मल्लको संगीत प्रतिको रुचिलाई किताबमा चित्रण गरिएको छ। यो पुस्तकले नाममा ‘जीत’ लागेका राजाको ‘हार’ लाई उतारेको छ।

‘हामीले सबै प्रक्रिया पूरा गरेका हौँ तर किताबको गहनतालाई आधार मान्ने हो भने पनि यसको कम चर्चा भएको हो,’ श्रेष्ठले भने, ‘खुसीको कुरा पुस्तकले मदन पुरस्कार जित्यो।’

श्रेष्ठले मदन पुरस्कारको मनोनयनमा परेका ७ ओटै पुस्तक उत्कृष्ट भएको बताए। तर ‘रणहार’ ले पुरस्कार पाउनुले पुस्तकको गहनतालाई प्रस्तुत गर्ने श्रेष्ठले बताए। पुस्तक छाप्दा पुरस्कारको आशा नगरिएकोले पनि यो छनौटले खुसी थपेको श्रेष्ठले बताए।

सन् २००५ बाट प्रकाशन सुरु गरेको नेपालयले सन् २०१९ को मार्चसम्म ४० ओटा पुस्तक प्रकाशन गरिसकेको छ। नेपालयले पहिलो पटक प्रकाशन गरेको नारायण वाग्ले लिखित पुस्तक ‘पल्पसा क्याफे’ले मदन पुरस्कार जितेको थियो।

त्यसपछि राधा पौडेलले जनयुद्धको समयमा जुम्लालाई आधार बनाएर लेखेको पुस्तक ‘खलंगामा हमला’ले पनि मदन पुरस्कार जितेको थियो। ‘रणहार’ सम्म आइपुग्दा नेपालयको तेस्रो पुस्तकले मदन पुरस्कार जितेको हो।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्