आफूलाई पछाडि धकेलेपछि बैठकमै ओलीसँग कड्किए माधव नेपाल

काठमाडौँ– उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभन्दा ७२ घण्टा अगाडि माधव नेपाललाई पहिलो वरिष्ठताबाट विस्थापित गरी झलनाथ खनालसँग नयाँ समीकरण बनाउन पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालका मागलाई ठाडै अस्वीकार गरेका छन्।

स्रोतका अनुसार आइतबार साँझपख बसेको सचिवालय बैठकमा जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज तोके लगत्तै खनालले आफूलाई पहिलो वरिष्ठताको हैसियत प्राप्त होस् भन्दै शुक्रबार पेश गरेको प्रस्तावबारे छलफल हुनुपर्ने माग दोहोराएका थिए।

विज्ञापन

त्यसलगत्तै नेपालले आफूलाई पार्टीको दोस्रो वरिष्ठ नेता स्वीकार्य भएपनि पार्टीमा वरियताकै आधारमा युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई वामदेव गौतम सरह उपाध्यक्ष नै बनाउनु गरेको आग्रहलाई ओलीले अस्वीकार गरेका हुन्।

स्रोतका अनुसार नेपालले तत्कालीन एमालेमा झलनाथ खनालभन्दा आफू जुनियर भएको भएपनि पार्टी एकताका बेला झलनाथ खनालसँग बदला लिन आफूलाई ओलीले वरिष्ठ नेता बनाएको र अहिले आफूसँग बदला लिन खनाललाई पहिलो वरिष्ठता दिन लागेको भन्दै आक्रोश पोखेका थिए।

उनले भनेका थिए, ‘खनाल र म वर्षदिनले तलमाथि हौँला। तर तपाई (ओली) ले पहिले खनालसँग रिस उठेका बेला उनीसँग बदला लिन मलाई वरिष्ठ नेता बनाएको हो। अहिले मसँग बदला लिन खनाललाई मेरो वरियता खोस्न लाग्नु भयो। यसमा तपाईको ठूलो गल्ती भयो।’

जवाफमा ओलीले आफूले कसैसँग पनि बदल लिन नचाहेको र झन आफूबाट भएको त्रुटि सच्याउन खनाललाई तेस्रो वरियतामा ल्याएको बताएका थिए ।

त्यसपछि नेपालले त्रुटि सच्याउने नै हो भने पूर्व एमालेका उपाध्यक्षको हैसियतामा रहेका ज्ञवाली, रावल र शाक्यलाई नेकपाको पनि उपाध्यक्ष बनाउनु पर्ने माग तेर्साएका थिए।

जवाफमा ओली पनि ‘मेरा पनि १० जना मान्छे छन्’ भन्दै झोँक्किएका थिए।

त्यसपछि पनि नेपाल चुप लागेनन र भने, ‘मेरो ‘एक पद एक व्यक्ति’ माग पनि कार्यान्वयन गर्नु पर्छ। अध्यक्षहरुको कार्यविभाजन हुनुपर्छ । एक जना प्रधानमन्त्री हुने भए एक जना पार्टी अध्यक्ष बन्नुहोस्।’

तर नेपाललाई हस्तक्षप गर्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘त्यस मामिलामा हामीले चिन्ता गर्न पर्दैन।  उहाँ (ओली) को खुसी अनुसार अघि बढ्नु पर्छ।’

ओलीले आफूलाई पार्टी अध्यक्ष दिने आश्वासन पाएपछि दाहालले नेपाललाई पाखा लगाएको स्रोतले बतायो।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू