भक्तपुरको मध्यपुर ठिमीमा टोलबासीलाई मल्लकालीन लायकु भैरव नाँच देखाइँदै।विगत ४५ बर्षदेखि स्थगित यो जात्रा विगत चारवर्ष देखि पुनः थालनी गरिएको हो। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
४५ वर्ष पूरानो नाँचको रहस्य

ठिमीमा रातभर ‘लायकू भैरव नाँच’

गाईजात्राको भोलिपल्टदेखि भक्तपुरको मध्यपुर ठिमीमा मनाइने मल्लकालीन लायकू भैरव नाँच टोलबासीलाई देखाउन सुरु भएको छ।

विगत ४५ बर्षदेखि स्थगित यो जात्रा विगत चारवर्ष देखि पुनः थालनी गरिएको हो।

भैरव जात्राका क्रममा प्रत्येक दिन टोलबासीलाई भोज खुवाइ यो नाँच देखाउने चलन छ।

आइतबार राति ८ बजे भोज खुवाइ भैरव नाँच सुरु भएको छ। यो नाँच हेर्न लायकूदेखि बालकुमारी मन्दिरसम्‍म स्थानीयको भीड लागेको छ।

लायकूबाट निकालिने नाँच त्यहाँस्थित गणेश, भैरव, बालकुमारी मन्दिरको परिक्रमा गरी सोही स्थानमा नचाइनेछ भने स्थानीय इनाय टोल, धीगू टोल लगायत विभिन्‍न १२ टोलको परिक्रमा गरिने छ भने सोमबार बिहान पुन: लायकूमै पुर्‍याइ सम्पन्‍न गरिनेछ।

मल्लकालिन वंशावलीमा ‘मदये काम गा गू’ अर्थात नभइ नहुने उलेलेख गरिएको नाँचमा दुई भैरव, दुई दागी अर्थात देवी र ज्‍यापूको एक गरी पाँचजना व्‍यक्तिले देवताको मुकुण्डो धारण गरी नाँच प्रदर्शन गरिन्छ।

स्थानीय युवाहरुको सक्रियतामा लायकू दरवारबाट ४५ वर्षपछि यो नाँच निकालिएको स्थानीय युवाहरुले बताएका छन्। उनीहरुका अनुसार यसअघि ८५ वर्षीय गोपाल प्रजापतिको अगुवाइमा यो नाँच निकालिन्थ्यो। तर विचमै रोकिएको थियो यो भैरव नाँच। पहिला पहिला प्रजापतिहरुले यो नाँचलाइ निकाल्‍ने गर्दथे।

भैरव नाँचमा तान्त्रिक विद्या अनुसार भैरव, कुमारी र ज्यापू गोको मुकुण्डो लगाइ नाँच्‍नेहरुको शरीरमा दवीदेवता प्रवेश गर्छन् भन्‍ने विश्वास छ। यसका साथै यो नाँच देखाएमा भूत, प्रेत र अनिष्ट हटेर जान्छ भन्‍ने जनविश्वास छ। परापूर्वकालमा ठिमीमा भूत, प्रेतले निक्कै दु:ख दिएपछि भैरव नाँच चनाउन थालिएको किंवदन्ती छ।