विवाह समारोहमा आत्मघाती बिस्फोट, ६३ जनाको मृत्यु

‘आफन्तहरुको अन्तिम संस्कार पनि जान सक्दिन, म साह्रै कमजोर भएको छु…’

अफगानिस्तानको काबुलमा विवाह समारोहमा आत्मघाती आक्रमण भएपछि सो समारोहमा विवाह हुँदै गरेका बेहुलाले घटनाका कारण आफ्ना आश नै टुटेको बताएका छन् ।

टेलिभिजन अन्तर्वार्ताको क्रममा आत्मघाती आक्रमणमा बाँच्न सफल भएका बेहुला मिर्वाइस इल्मीकी दुहली पनि बाँचे पनि आफ्ना भाइ र नातागोताको मृत्यु भएको कारण आश गुमेको बताए ।

शिया बाहुल्य राजधानी काबुलको पश्चिमी क्षेत्रमा शनिबार राति भएको आक्रमणमा ६३ जनाको ज्यान गएको छ । बिद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको छ । सो आक्रमणमा १८० जना भन्दा बढी घाइते भएका छन् ।

आत्मघाती आक्रमणकारीले विवाह समारोह भइरहेको हलमा गएर आफैलाई बिस्फोट गराएका थिए । अफगानिस्तानका राष्ट्रपति अशर्फ घानीले आक्रमण बर्बर र पाशविक रहेको बताएका छन् ।

केही घण्टाअघि मुस्कराउँदै आफूहरुलाई बधाई तथा शुभकामना दिन आएका आफन्तहरु केही घण्टापछि मृत अवस्थामा देख्दा जीवनका सबै आशहरु गुमेको मिर्वाइसले टोलो न्युजसँगको अन्तर्वार्तामा भनेका छन् ।

उनले भनेका छन्, ‘मेरो परिवार, नवविवाहित श्रीमत सबै गम्भीर पीडामा छन् । उनीहरु बोल्न पनि सक्दैनन् । श्रीमती त बेला बेलामा बेहोस भइरहेकी छन् ।’

उनले अघि भनेका छन्, ‘मैले आश गुमाएको छु । भाइ गुमाएँ । मेरा साथीहरु गुमाएँ । आफन्तहरु गुमाएँ । शायद जीवनमा कहिले पनि खुशी देख्ने छैन अब ।’

‘म आफन्तहरुको अन्तिम संस्कारमा पनि जान सक्दिन, म साह्रै कमजोर भएको छु… मलाई थाहा छ हामी अफगानीका लागि यो नै अन्तिम पीडा होइन । यस्ता घटना फेरि घट्ने छन् । मजस्तै अरु पनि टुट्ने छन् । यो रोकिनु पर्छ ।’

बेहुली तर्फको परिवारका १४ जनाको घटनामा मृत्यु भएको छ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्