डानी अल्भेसले साओ पाओलो डेब्युमा गरे गोल

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छोडेर ब्राजिलियन सिरी ए क्लब साओ पाओलो गएका डानी अल्भेसले ब्राजिलियन क्लबबाट डेब्यु खेलमा गोल गरेका छन् ।

अल्भेसकै गोलको मद्दतमा साओ पाओलो विजयी भयो । साओ पाओलोले सेआरालाई १–० ले पराजित गरेको हो । ४० औँ मिनेटमा अल्भेसले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

३६ वर्षका अल्भेसले यहि समरमा पिएसजी छोडेर आफूले समर्थन गर्दै आएको क्लब साओ पाओलो गएका हुन् । खेल जीवनको हालसम्म राइट–ब्याकको रुपमा खेलेका उनले साओ पाओलोबाट डेब्यु खेलमा भने मिडफिल्डमा खेले र गोल पनि गरे ।

हालै उनले आफ्नो कप्तानीमा ब्राजिललाई कोपा अमेरिका फुटबलको उपाधि दिलाएका थिए। अल्भेस एक मात्र फुटबलर हुन्, जसले क्लब र राष्ट्रिय टिमबाट गरेर ४० वटा उपाधि जितेका छन् ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्