किनेको एक महिनामै बिग्रिएका गाडीबारे समितिले छानबिन थाल्यो, सबै कागजात उपलब्ध गराउन निर्देशन

सभापतिहरुका लागि खरिद गरिएका स्कोरपियो गाडी।

काठमाडौँ – संसदीय समितिका सभापतिहरुले चढ्नका लागि किनेको गाडी प्रयोगमा आएको एक महिनामै बिग्रिएपछि छानबिनका लागि गठन भएको समितिले काम थालेको छ।

राष्ट्रियसभाको प्रत्यायोजित विधायन व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्वमामा साउन २७ गते सभामुख कृष्णबहादुर महराले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले सोमबारदेखि काम थालेको हो।

विज्ञापन

सोमबार बसेको समितिको पहिलो बैठकले संसद सचिवालयलाई खरिदसँग सम्बन्धित सम्पूर्ण कागजात आजै उपलब्ध गराउन निर्देशन दिएको संयोजक बिडारीले जानकारी दिए।

संसद सचिवालयले सभापतिहरुका लागि खरिद गरेको ११ वटा स्कोर्पियो प्रयोग गरेको एक महिनामै बिग्रन थालेपछि अनियमितता भएको आशंकामा सभामुख महराले १५ दिनभित्र प्रतिवेदन दिने गरी छानबिन गर्न समिति बनाएका थिए।

समितिले गाडी प्रयोग गर्ने सभापतिहरुलाई मंगलबार बिहान ८ बजे बोलाएर छलफल गर्ने निर्णयसमेत गरको छ।

गाडीमा कमसल खालका सामाग्रीको प्रयोग भएको हुन सक्ने आशंकामा समितिले प्राविधिक परीक्षणमा सहयोग गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुई दिनभित्र प्राविधि सहसचिव पठाउन भनेको छ ।

त्यस्तै खरिद प्रक्रियाको कानुनी प्रक्रियाबारे अध्ययन गर्न सार्वजनिक खरिद अनुमगन कार्यालयलाई पनि एकजना सहसचिव पठाउन निर्देशन दिइएको छानबिन समितिका सदस्य एवं कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।

समिति संयोजक बिडारीले देश सञ्चारसँग भने, ‘आजदेखि समितिले गाडी खरिदबारे छानबिन अघि बढाएको छ। गाडीमा भएको आर्थिक अनियमितता तथा प्राविधिक त्रुटीबारे अध्ययन गरेर समयमै प्रतिवेदन बुझाउँछौं।’

साउन २७ गते नै समिति गठन भए पनि छानबिनका लागि औपचारिक पत्र नपाएको र समितिका सदस्यहरु काठमाडौँ बाहिर भएकाले केही दिन ढिलाइ भएको संयोजक बिडारीले बताए।

संसद सचिवालयले प्रति गाडी ५५ लाख रुपैयाँमा महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिबाट खरिद गरिएको हो।

नयाँ गाडीमा गियर सजिलै, स्टार्ट नहुने, अधिकांश गाडीमा झ्यालढोकाका सिसा खोल्न–लगाउने गाह्रो हुने, वाइफरको समस्या, स्पिकरमा खराबी भेटिएको छ।

महंगो पैसा तिरेर गाडी किने पनि छोटो समयमै समस्या देखिएका पछि सभापतिहरुले सामूहकि रुपमा सभामुख र राष्ट्रियसभा अध्यक्ष समक्ष उजुरी गरेपछि गरेका थिए।

छानबिन समितिका सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट छिन्।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू