जनप्रदर्शनबीच रवि लामिछाने रिहा हुने सम्भावना कति?

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले भरतपुरमा गरेको प्रदर्शन र सुरक्षाकर्मी । सडक अबरुद्ध गरी प्रदर्शनमा उत्रेपछि ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।तस्बिर-रासस

काठमाडौँ- पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरिएको भनिएको घटनामा दोषीको आशंका गर्दै पक्राउ गरिएका रवि लामिछानेसहित तीन जना अहिले चितवन प्रहरीको हिरासतमा छन्।

प्रहरीले आफ्नो प्रतिवेदनका आधारमा आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न लिएको पाँच दिनको म्याद सोमबार सकिँदैछ। प्रहरीले मंगलबार म्याद थप्न तयारी गर्दै छ। रवि पक्राउ परेको भोलिपल्ट साउन ३१ गतेदेखि चितवन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अघि हरेक दिन अशान्त बनिरहेको छ।

आफूलाई रवि समर्थक बताउने हजारौँ मानिसहरुले चितवनमा आन्दोलन चर्काइरहेका छन्। स्थिति असामान्य बन्दै गएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले समेत अनुसन्धान अगाडि बढाइरहेको छ। आरोपितहरु पक्राउ परिसकेको अवस्थामा सीआईबीले उनिहरुविरुद्ध लाग्ने प्रमाण एकातर्फ जुटाउने छ भने अर्कोतर्फ आरोपितबाहेक अन्यको संलग्नताबारे पनि अनुसन्धान गर्ने छ।

शालिकरामले आत्महत्या अघि रेकर्ड गरिएको भनिएको भिडियोका आधारमा रविसहित तीन जना पक्राउ परेका हुन्। उक्त भिडियोमा शालिकरामले आफूलाई रवि, युवराज कँडेल र अस्मिता कार्कीले मर्न बाध्य बनाएको भन्दै उनीहरुमाथि हदैसम्मको कारबाहीको माग गरेका छन्।

नुवाकोट घर भई काठमाडौं बस्दै आएका शालिकराम साउन २० गते साँझ चितवनको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। रवि प्रस्तोता रहेको कार्यक्रम सिधा कुरा जनतासँगमा दुई महिना अघिसम्म काम गर्थे शालिकराम।

त्यसयता उनी ललितपुरमा रहेको माउन्टेन टेलिभिजनमा आबद्ध भएका थिए। अस्मिता, शालिकरामकी प्रेमिका रहेको प्रहरीको दावी छ। युवराज, सिधा कुरा जनतासँग आबद्ध छन्।

शालिकराम झुन्डिएको अवस्थामा फेला परेको ९ दिनपछि उनले मृत्युअघि रेकर्ड गरेको भनिएको भिडियो बाहिरिएको थियो, अनलाइन सन्चार माध्यममार्फत जसलाई प्रेस काउन्सिलका अध्यक्ष समेत रहेका किशोर श्रेष्ठले उपलब्ध गराएको भनिएको छ।

२०७५ साल भदौ १ देखि लागु भएको मुलुकी फौजदारी संहितामा आत्महत्या दुरुत्साहन कसुरमा पनि मुद्धा चल्न सक्ने व्यवस्था भएकाले प्रहरीले भिडियोलाई ‘डेथ डिक्लरेसन’ मान्दै रविसहित तीन जनालाई साउन ३० गते पक्राउ गरेको हो। रवि समर्थकहरु भिडियो बनाउन लगाइएको र सुनियोजितरुपमा बाहिर ल्याइएको भन्दै रविलाई सिध्याउन षड्यन्त्र भएको दावी गरिरहेका छन्। उनिहरुले माग राखेका छन् – रवि लामिछानेको निशर्त रिहाई र पुडासैनी आत्महत्या प्रकरणको निष्पक्ष छानबिन।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल ठोस प्रमाणका आधारमा तीन जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको दावी गर्छन्। आइतबार पुडासैनीकी श्रीमती शर्मिलाले पक्राउ परेका तीन जनाविरुद्ध  किटानी जाहेरी (पुरक जाहेरी) दिएपछि रवि लामिछाने तत्काल छुट्ने सम्भावना कम देखिन्छ।

मृतकका आफन्तको किटानी जाहेरी, प्रहरीको दावीलगायतले रविसहित तीनै जनामाथीको अनुसन्धान लम्बिने सम्भावना बलियो छ। कानुनत् यस किसिमको कसुरमा हिरासतमा लिइएको २४ दिनभित्र अदालतमा अभियोग पत्र दर्ता गर्नुपर्छ यदि प्रतिवादी बन्ने स्थिती रहेमा। नत्र प्रमाण नभेटिए सरकारी वकिलको रोहबरमा साधारण तारेखमा रिहा हुने प्रचलन छ अभियोग पत्र दर्ता हुनुअघि नै।

कन्चनपुरमा एक वर्षअघि भएको निर्मला पन्त्रको बलात्कार र हत्या प्रकरणमा जबर्जस्ती करणी र कर्तब्य ज्यान मुद्धामा म्याद थपेर अनुसन्धान गरिएका दिलिप सिंह विष्ट डीएनए नमिलेपछि अभियोग पत्र दर्ता हुनुअघि नै छुटेका थिए जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा।

अबका अनुसन्धानले  पुडासैनीले आत्महत्या अघि रेकर्ड गरिएको भनिएको भिडियो सुनियोजित र दबाबमा खिच्न लगाइएको कुनै प्रमाण फेला परे यो प्रकरणमा रविलाई सहज हुने छ। पोस्ट मार्टम रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुर्‍याउने छ। अन्यथा रविसहित तीन जनाविरुद्ध अभियोग पत्र दर्ता हुने सम्भावना बलियो हुने छ। आत्महत्या दुरुत्साहन कसुरमा पाँच वर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान छ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्