दर्शनसँग सम्बन्धित दुईदिने अन्तराष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ – ‘मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौँमा सुरु भएको छ। मार्क्सवाद र पूर्वीय दर्शनका विषयमा राखिने परस्पर विरोधी धारणाबारे विचार विमर्श गर्न नेपाल संस्कृत विश्वविद्यालय, मार्क्सीय गुरुकुल र नेपाल खुला विश्वविद्यालयको आयोजनामा दुईदिने सम्मेलन सुरु भएको हो। सम्मेलनको समापन मंगलबार हुनेछ।

दुई दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त दर्शनशास्त्री र विद्वानहरुले ३० वटा कार्यपत्र प्रस्तुत हुने संयोजक काशीना न्यौपानेले जानकारी दिए।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १९औं शताब्दीमा मार्क्सवादको विकास भएपछि मात्र मावन सभ्यतालाई हेर्ने पूर्ण दर्शनको विकास भएको उल्लेख गरे।

नेपालमा पनि धेरै सभ्यता र दर्शनको विकास भए पनि तिनीहरुको विस्तृत अध्ययन आवश्यक रहेको खनालले औंल्याए। ‘नेपाल र दक्षिण एसिामा धेरै सभ्यता र दर्शनको विकास भएको छ। तर त्यसको उचित अध्ययन र विश्लेषण हुन सकिरहेको छैन। त्यसतर्फ अध्येताहरुको ध्यान जान आवश्यक छ,’ खनालले भने।

त्यस्तै मार्क्सवादी अनुसन्धाता खगेन्द्र प्रसाईले पूर्वीय र पश्चिमा दर्शनले एक अर्कालाई शत्रुका रुपमा हेर्न धारणामा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे। विश्वमा मार्क्सवाद कमजोर बन्दै जानुको कारण त्यसलाई अरु दर्शनसँग तुलना गरेर अध्ययन अनुसन्धान नगर्नु मुख्य कारण रहेको प्रसाईंले उल्लेख गरे।

उनले भने, ‘९० को दशकपछि सोभियत रुसबाट मार्क्सवाद ढल्दासमेत त्यसको विस्तृत अध्ययन भएन। मार्क्सवादलाई अरु दर्शनसँग तुलना गरेर अध्ययन गरिएन। मार्क्सवाद कमजोर बन्दै जानुको कारण पनि यही हो।’

सम्मेलनमा प्रोफेसर अशोक मोडकले मार्क्सवाद र पूर्वीय दर्शन, डा. ऋषिराम अधिकारीले मार्क्सवाद र संस्कृत कर्मकाण्ड, प्रा.डा. कृष्णचन्द्र शर्माले मार्क्सवाद र वेदान्त, डा. शरद पौडेलले बुद्ध दर्शन र मार्क्सवादी दर्शन, मौसम शाक्यले मार्क्सवाद र वैभाषिक – सौतान्त्रिका विधाबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्यस्तै चिनियाँ विद्वानले टावजिम र भौतिकवाद, लि सुजुनले जङ्जान भ्यु माक्स अफ फ्रिडमलगायतका कार्यपत्र प्रस्तुत हुनेछन्।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू