‘सईले हृदयेन्द्रको पास हेर्न खोज्दा पारसले घचेडेछन्’

फाइल फोटो

काठमाडौँ- पूर्वयुवराज पारस शाह यतिबेला चर्चामा छन्। आमा कोमललाई थाइल्यान्डका लागि विदाइ गर्न छोरा र छोरीसहित आइतबार दिउँसो त्रिभुवन विमानस्थल पुगेका पारसले भीआईपी प्रस्थान कक्षबाट भित्र छिर्नेक्रममा त्यहाँ सुरक्षार्थ खटिएका नायब निरीक्षक- सईलाई धकेलेको भिडियो सार्वजनिक भएको थियो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिइसकेको छ। यसबारे देशसञ्चारले विमानस्थल प्रहरी प्रमुख डीआईजी सूर्यप्रसाद उपाध्यायसँग कुरा गरेको छ। उनीसँग भएको कुराकानी उपाध्यायकै शब्दमा –

कोमल शाह सोमबार दिउँसो थाइल्यान्ड जाने जानकारी हामीलाई थाहा थियो। तर उहाँलाई विमानस्थलमा बिदाइ गर्न को को आउँदैन् भन्नेबारे थाहा थिएन। कोमललाई बिदाइ गर्न भिआईपी कक्षमा जानका लागि पारसको सुरक्षार्थ खटिएका अधिकारीले विमानस्थलका अधिकारीसँग तीनवटा पास मागेका रहेछन्।

ती तीनवटा पास कसका लागि थियो भन्नेपनि पास दिनेलाई जानकारी गराइएको रहेनछ। हामीले पाएको रिपोर्टअनुसार भीआईपी प्रस्थान कक्षबाट भित्र छिर्दा पारसको अगाडि उनका छोरा थिए। पारसको छोरा (हृदयेन्द्र) लाई नचिनेकोले हुन सक्छ-हाम्रो सई साबले रोकेर कार्ड हेर्न खोज्नु भएछ।

पछाडि आउँदै गरेका पारसले सईसाबलाई घचेडेको पाइएको छ। केही अगाडि बढेपछि पारस फर्किएर फेरि सई साबलाई थर्काउन आउनु भएको भन्ने कुरा साँचो होइन। उहाँ बाहिर नारा लगाइरहेका आफ्ना समर्थकलाई हेर्न आउनु भएको बुझिएको छ। कोमल शाहलाई पारस विदाइ गर्न आउनु भएको थियो भन्ने जानकारी सुरुमै पाएको भए सबैलाई जानकारी हुन्थ्यो ,त्यहाँ चेकजाँचमा खटिएका हाम्रा सुरक्षाकर्मीलाई पनि। 

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्