जिल्ला सभा छाडापशु नियन्त्रणमा केन्द्रित

नेपालगञ्ज-जिल्ला समन्वय समिति बाँकेको चौथो जिल्ला सभा छाडा पशु नियन्त्रण र ब्यवस्थापनमा केन्द्रित भएको छ।

जिल्ला सभाले जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गरि भारतबाट आउने पशु ब्यवस्थापनका लागि भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य चेतबहादुर घर्तीले जानकारी दिए।

भारतका सुरक्षा अधिकारीले नाकाबाट गाई नेपालतर्फ धपाइदिने गरेको पाइएपछि यस्तो निर्णय गरिएको हो । दैनिक ठूलो संख्यामा गाई भारतबाट आएपछि नेपालगञ्जमा त्यसको व्यवस्थापन गर्न चुनौती भएको छ।

बैठकले जिल्ला समन्वय समितिको कोषबाट छाडा पशु चौपाय ब्यवस्थापनका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ।छाडा पशु चौपाय नियन्त्रणका लागि चुनौती भएपछि स्थानीय तहको अनुरोधका आधारमा जिल्लासभा भएको हो।

जिल्लासभामा नरैनापुर र राप्ती सोनारीमा ठूलो गौशाला निर्माण गर्न सकिने विषयमा प्रस्ताव आएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बताइन्।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले सबै पालिकाले बजेट हाल्ने गरी एउटा ठूलो गौशाला बनाएर छाडा पशुको व्यवस्थापन गर्नुपर्ने बताए। उनले जिल्ला सभामा त्यसबारेमा बृहत छलफल गरेको बताए।

बाँके जिल्लालाई ६ महिनाभित्र साक्षरता जिल्ला घोषणा गर्ने, बालविवाहविरुद्ध र कुपोषण नियन्त्रणका लागि जिल्लाभर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

जिल्लासभाले जिल्ला समन्वय समितिको कोषमा जम्मा रहेको आकस्मिक कोषको ४८ करोड रुपियामध्ये बाँकेका ६ वटा गाउँपालिकालाई ४÷४ करोड र उपमहानगरपालिका र नगरपालिकालाई ४ करोड ५० लाख रुपैयाका दरले योजनाको सम्पूरक प्रस्तावना माग गर्ने निर्णय गरेको छ ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु व्यवस्थापनका लागि व्यक्ति र संस्थाले सहयोग गर्न सक्ने जनाएको छ।

उपमहानगरपालिकाले त्यसका लागि खातासमेत खोलिसकेको छ। नेपालगञ्ज–२१, बिर्तामा सञ्चालन गरिएको कान्जीहाउसमा छाडा पशु नअटेपछि छाडा पशु व्यवस्थापन असम्भवजस्तै भइसकेको छ।

भदौ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्