पेनाल्टीमै चुके पोग्बा, रोकियो म्यानचेस्टर युनाइटेड

स्टार खेलाडी पउल पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भएको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो दोस्रो खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो खेलमा जित निकालेको युनाइटेडले सोमबार राति अवे मैदानमा भएको दोस्रो खेलमा पनि सुरुवाति अग्रता लिएको थियो । २७ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

५५ औँ मिनेटमा रुबेन नेवेसले वुल्भ्सका लागि बराबरी गोल गरे । १–१ को बराबरी रहेको अवस्थामा युनाइटेडले पुनः अग्रता लिने मौका पाएको थियो, जब उसले पेनाल्टी पायो ।

कोनर कोएडीले पोग्बालाई फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको हो । गएको सिजन तीन पेनाल्टीमा चुकेका पोग्बा नै पेनाल्टी प्रहारका लागि तम्सिए । उनले प्रहार गरेको बल रुई प्याट्रिसिओले रोके ।

बराबरीपछि युनाइटेडको दुई खेलबाट चार अंक भएको छ र उ चौथो स्थानमा छ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्