हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन सुझाव

काठमाडौँ – दक्षिण एसियाकै पुरानो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक नगरी हाँडीगाउँ–विशालनगर क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

विशालनगर हाँडीगाउँ सम्पदा समाजले आयोजना गरेको ‘हाँडीगाउँको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ विषयको गोष्ठीमा पूर्व लिच्छविकालीन र मल्लकालीन सम्पदाको संरक्षण गर्दै पर्यटकीय नगरीका रुपमा विकास गरिनुपर्नेमा विभिन्न विद्वान्ले जोड दिए ।

विज्ञापन

मानदेवको मानगृह, अंशुवर्माको कैलाशकूट भवनलगायत महत्वपूर्ण मठमन्दिर, चैत्य, विहार, ढुङ्गेधारा, पोखरीजस्ता सम्पदा तथा कहीँ नभएको जात्रा, गहना खोज्ने जात्राका लागि प्रख्यात हाँडीगाउँलाई खुला सङ्ग्रहालयका रुपमा स्थापित गर्ने गरी काम अघि बढाइनुपर्ने उनीहरूको सुझाव थियो । हाँडीगाउँस्थित सत्यनारायणको मन्दिर नजीक रहेको सातौँ शताब्दीको ढुङ्गेधारा काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो मानिन्छ जुन मानदेवका नाति भारविले विसं ६०७ मा बनाएका थिए । म्हपूजाको थालनी पनि हाँडीगाउँबाटै भएको मानिन्छ ।

सो अवसरमा ‘हाँडीगाउँ सम्पदा, संरक्षण तथा विकास’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. यज्ञनाथ आचार्यले सन् २००३ मा तयार गरिएको हाँडीगाउँको गुरुयोजना अपुरो भएकाले यहाँको सम्पदालगायत सम्पूर्ण विषयलाई समेटी गुरुयोजना तयार गनुपर्ने र त्यसका अधारमा वडाको समृद्धि र विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

प्रा. डा. सुदर्शनराज तिवारीले ‘हाँडीगाउँमा पर्यटनको विकास’बारे कार्यपत्र प्रस्तुत गर्दै पर्यटनका लागि गहनापोखरीदेखि सत्यनारायणसम्म फैलिएको हाँडीगाउँको केन्द्रीयस्थालको विकास गरिनुपर्नेमा जोड दिए । उक्त क्षेत्रमा न्यालमलोह (चौखट नारायण), साल्मी चौर (चैत्य), तथा डबली (अंशुवर्माको शिलालेख, जलेफे, टुँडालदेवीको खट राख्ने ठाउँ) जस्ता पुरातात्विक सम्पदा रहेको उनले बताए ।

प्रदेशसभा सदस्य नारायण सिलवालले हाँडीगाउँ सम्पदा, संस्कृति र कलामा धनी भएको बताउँदै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यहाँ भइरहेको सम्पदा निर्माणको काम कतिपय सकिएको र कतिपय काम भइरहेको उनले बताए । उनले भने, “एकीकृत गुरुयोजना नै बनाएर हाँडीगाउँलाई समृद्ध बनाउनुपर्छ ।”

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर हाँडीगाउँलगायत कामपाभित्रका मूर्त तथा अमूर्त कला, संस्कृति र सम्पदाको मर्मत सम्भार तथा जीर्णोद्वार गरिने जानकारी दिए । यसको संरक्षण तीन तहका सरकारको दायित्व भएको उनले बताए ।

स्थानीय तहसँगै, प्रदेश र केन्द्र सरकार मिलेर यहाँ रहेका सम्पदाको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । अहिले भइरहेको निर्माणको काम चालु आवभित्रै सम्पन्न गर्ने योजना रहेको उनले बताए । उनले भने, “पर्यटनको प्रचुर सम्भावना रहेको यस स्थानको प्रचारप्रसारमा लाग्न सबैलाई अनुरोध गर्छु ।”

समाजका अध्यक्ष गणेश श्रेष्ठले कामपाको सहकार्यमा हाँडीगाउँको समग्र गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू