विपद व्यवस्थापनको दीर्घकालीन उपाय खोजिनु पर्छ : प्रचण्ड

जनकपुरधाम – प्राकृतिक विपदको दीर्घकालीन समाधानमा सरकारको ध्यान जान नसकेको पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

देशमा विभिन्न प्राकृति विपद आउँदा तत्कालीन राहत उद्धारको व्यवस्था मात्र सरकारले गर्ने गरेकोले समस्याको दीर्घकालीन समाधान खोज्नु आवश्यक रहेको बताए ।

मंगलबार जनकपुरधाममा विपद व्यवस्थापन समितिले आयोजना गरेको बैठकमा बोल्दै प्रचण्डले खास गरेर असार महिनाको अन्तिम तिर आएको वर्षा तथा बाढीको कारण प्रदेश २ मा सबैभन्दा बढी क्षति भएकाले यस क्षेत्रका प्रभावित व्यक्तिहरुको लागि विशेष प्याकेज लिएर प्रधानमन्त्री ओलीसँग चाँडै प्रदेश २ मा आउने बताए ।

‘प्रदेश २ अन्नको भण्डार हो, यहाँ उत्पादन हुने खाद्यान्य देशभरि जान्छ’, उनले भने, ‘बाढी लगायत यहाँ हुने विभिन्न प्राकृतिक विपदबाट बँच्न दीर्घकालीन समाधानको उपाय अपनाउनु पर्छ ।’ प्रदेश २ मा सिँचाईको लागि विशेष ध्यान दिन आवश्यक रहेको भन्दै उनले भने, ‘सुनकोसी–कमला डाईभर्सन निर्माण भएपछि सिँगो नेपाल नै यसबाट लाभान्वित हुन्छ ।’ प्रदेश २ को समृद्धि सँग देशको समृद्धि जोडिएकोले यस क्षेत्रमा आफूहरुको ध्यान केन्द्रित रहेको प्रचण्डले बताए ।

बाढी जस्ता विपदको मुख्य कारण चुरे बिनास रहेकाले यसको संरक्षणमा सबैलाई जुट्न उनले आग्रह गरे । केही महिना पहिले बारा–पर्सामा आएको टोर्नाडोका कारण घरबार बिहीन भएकाहरुका लागि ८०० वटा घर नेपाली सेनाले निर्माणको कार्य सम्पन्न गरेकोले अब चाँडै पीडितहरुलाई हस्तान्तरण गर्ने उनले बताए ।

देशभरि भ्रष्टचार मौलाएकाले यसलाई प्रभावकारी ढंगले अन्त गर्न सबैजना मिलेर यस समस्यालाई समाधान गर्न आग्रह गरे । वर्तमान सरकारसँग जनताको अपेक्षा रहेकोले अब समन्वयनको विकल्प नरहेको समेत प्रचण्डले बताए ।

यस्तै नेता माधव कुमार नेपालले विपद परेको समयमा राजनीति नगर्न सुझाव दिए । भारतसँग सीमा जोडिएका क्षेत्रमा बाढीका कारण बढी क्षति हुने गरेकोले भारतसरकारसँग समन्वय गरी समाधान खोजिनु पर्ने उनले बताए ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रीले बाढिको कारण सबै भन्दा बढी प्रभावित भएको प्रदेश २ मा हरेक सिजनमा प्रभावित हुने गरेको बताए ।

बाढीका कारण धनुषामा १३ जनाको ज्यान गएको थियो भने धेरै मानिस बिस्थापित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । बाढीका कारण धनुषामा ३ हजार ४ सय ३७ घर पूर्ण रुपले प्रभावित भएको छन् भने ९ हजार भन्दा बढी घरमा आंशिक प्रभाव परेको छ ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्