भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई ट्रम्पले गरे फोन, जम्मू–कश्मीरबारे कुराकानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

उनले दुवै देशका प्रधानमन्त्रीसँग सोमबार टेलिफोन वार्ता गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले जम्मू–कश्मीरमा जारी तनाव अन्त्य गर्न आग्रह गरेको जनाइएको छ ।

ट्रम्पले मंगलबार ट्वीट गर्दै आफ्ना दुई असल मित्र राष्ट्र भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण जम्मू–कश्मीरमा जारी तनाव कम गर्नेबारे कुराकानी भएको उल्लेख गरेका छन् । मुश्किल समय भए पनि कुराकानी राम्रो भएको उनले उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई कश्मीरमा जारी तनाव कम गर्न आग्रह गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेको थियो । जम्मू–कश्मीरबाट स्वायत्तता खोसेपछि भारत र पाकिस्तानबिचको तनाव उत्कर्षमा पुगेको छ ।

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्