बाहुबलीको चन्द्रयात्रा

चन्द्रयान- २

आज मंगलबार २० अगस्ट, २०१९ का दिन बिहान ९ बजेर ३० मिनेट जाँदा भारतको दोस्रो चन्द्र मिसन अन्तर्गतको चन्द्रयान–२ चन्द्रमाको कक्ष (अर्बिट) मा प्रवेश गरेको छ।

भारतको यो यान प्रक्षेपण भएको तिसौँ दिनमा चन्द्रमाको अर्बिटमा प्रवेश गरेको हो। सबै कुरा ठीक भएमा आउँदो ७ सेप्टेम्बरका दिन (प्रक्षेपण गरिएको ४८ औँ दिनमा) चन्द्रयान–२ को चन्द्रमामा अवतरण गर्ने यान ‘ल्याण्डर विक्रम’ ले चन्द्र धरातल स्पर्श गर्नेछ।

विज्ञापन

चन्द्रयान–२ को यात्रा २२ जुलाई २०१९ सोमबारका दिन दिउँसो २ बजेर ४३ मिनेट जाँदा भारतको श्रीहरिकोटास्थित सतिश धवन अन्तर्राष्ट्रिय केन्द्रबाट सुरु भएको थियो।

भारतमै निर्मित भएको शक्तिशाली रकेट जीएसएलभी एमके–३ (जियोसिंक्रोनस सेटेलाईट लञ्च व्ह्कल मार्क–३) चन्द्रयानलाई प्रक्षेपणको १६ मिनेट १४ सेकेण्डमै पृथ्वीको तल्लो कक्ष (लोअर अर्थ आर्बिट)मा स्थापित गर्‍यो। यसलाई शक्तिशाली रकेटको काम यत्ति नै थियो, चन्द्रयान–२ लाई पृथ्वीको अर्बिटमा स्थापित गर्नु।

६ सय ४० टन तौल र ३ अर्व ७५ करोड भारतीय रुपैयाँको लागतमा निर्मित यो भारतको सबैभन्दा उन्नत र शक्तिशाली रकेट हो। यसले पृथ्वीको निम्न कक्ष (लोअर अर्बिट– १ सय ८० देखि २ हजार किलोमिटर) सम्म १० टन तौल (पेलोड) र पृथ्वीको माथिल्लो कक्षसम्म (हाई अर्थ अर्बिट अथवा जियो सिंक्रोनस अर्बिट– पृथ्वी सतह देखि ३५ हजार ७ सय ८० किमीभन्दा माथि) ४ टन तौल लिएर जाने क्षमता राख्छ।

साउथ इण्डियन चलचित्र बाहुबलीको उपमा दिइएको यस रकेटले चन्द्रयान–२ लाई पृथ्वीको १६९.७ × ४५४७५ कि.मी.को अर्बिटमा स्थापित गरिदिएर आफ्नो काम पूरा गर्‍यो।

चन्द्रयान–२ बाहुबली रकेट विच्छेदित (अनडक) भएर पृथ्वीको अर्बिटमा घुम्न थालेपछि रकेट अन्तरिक्षमै नष्ट भयो।

२२ जुलाई देखि २४ जुलाईसम्म रकेट १६९.७×४५४७५ कि.मी. माथिल्लो अर्थ अर्बिटमा घुमिरह्यो। यसको अर्थ यो दीर्घवृत्तिय (इलिप्टिकल) परिक्रमा पथमा रहेर पृथ्वीको चौरतिर घुमिरह्यो। यस अर्बिटमा रहँदा पृथ्वीको नजिक हुँदा चन्द्रयान–२, १६९.७ कि.मी. टाढा मात्रै हुन्थ्यो र दीर्घवृत्तिय पथमा टाढा हुँदा ४५४७५ कि.मी. पर हुन्थ्यो।

२४ जुलाईमा यो पृथ्वीको नजिक आउँदा वैज्ञानिकहरुले चन्द्रयान–२ को मुख्य यान अर्बिटर भनिने यानको इन्जिन ४८ सेकेण्डका लागि प्रज्वलित गरे। यसबाट गति प्राप्त गरेर चन्द्रयान–२ पृथ्वीको दास्रो अर्बिट २३०×४५१६३ कि.मी. माथिल्लो अर्बिटमा स्थापित हुन पुग्यो।

पुनः २६ जुलाईमा ८८३ सेकेण्डका लागि चन्द्रयान–२ को इन्जिन बालियो। यसबाट गति पाएर यान अझै माथिल्लो अर्बिट २५१×५४८२९ कि.मी.मा स्थापित हुन पुग्यो।

चन्द्रयानको इन्जिन, यसलाई माथिल्लो अर्बिटमा धकेल्ने बेला मात्रै प्रज्वलित गरिन्छ। कक्षमा स्थापित भएपछि पृथ्वीको गरुत्वाकर्षण र इन्जिन बाल्दा प्राप्त भएको गतिका कारण स्वतः पृथ्वीको परिक्रमा गरिरहन्छ। यसलाई अर्बिटमा गति गर्न कुनै बल आवश्यक पर्दैन।

२६ जुलाईपछि २९ जलाईमा तेस्रोपटक ९८९ सेकेण्डका लागि इन्जिन प्रज्वलित गरिएर चन्द्रयानलाई अझ माथिल्लो २७६×७१७९२ कि.मी. अर्बिटमा र त्यसपछि २ अगष्टमा ६४६ सेकेण्डका लागि इन्जिन बालेर २७७×८९४७२ कि.मी. भन्दा माथिल्लो अर्बिटमा पुर्‍याइयो।

प्रत्येक पटक माथिल्लो अर्बिटमा पुग्दा पृथ्वी र चन्द्रयान–२ बीचको दूरी बढ्दै थियो।

र अन्तमा ६ अगष्टका दिन पाँचौ पटक अर्बिट परिवर्तन गर्ने क्रममा १०४१ सेकेण्डका लागि चन्द्रयान–२ को इन्जिन प्रज्वलित गरेर यसलाई झर्ने माथिल्लो अर्बिट २७६×१४२९७५ कि.मी.मा स्थापित गरियो।

यसै अर्बिटमा परिक्रमारत रहिरहँदा, यस अर्बिटमा पुगेको ८ औँ दिन पुनः इन्जिन प्रज्वलित गरेर यसलाई पृथ्वी बाहिर चन्द्रमातिर पठाइयो।

धेरै मानिसको मनमा यो प्रश्न उठ्छ, जम्मा ३ लाख ८४ हजार किमी पर रहेको चन्द्रमासम्म पुग्न यत्तिको समय (४८ दिन) किन लाग्छ भारतीय चन्द्रयान–२ लाई।

जस्तो कि प्रायः सबैलाई थाहा छ, अमेरिकाको अपोलो अभियान अन्तर्गतका चन्द्रयान ७०–७२ घण्टामै चन्द्र धरातलमा आर्लेका थिए।

यसको कारण यति मात्रै हो, अपोलो अभियान मानवसहितका अभियान थिए। चन्द्रयात्रामा गएका मानिसलाई सकुशल पृथ्वीमा फर्काउनु पनि थियो। यात्रा अविधिभरी उनीहरुको खाने पिउने इन्तजाम पनि गर्नु थियो। यात्रा जति बढी दिनको हुन्थ्यो, खाद्यान्नको मात्रा त्यति बढी हुन जान्थ्यो। तसर्थ नासाले आफ्ना अभियानका लागि हात खोलेर खर्च गर्‍यो।

भारतीय रोभरले चन्द्रमाको एक दिन अवधि बराबर काम गर्छ। २१ सेप्टेम्बरमा ल्याण्डर विक्रम र रोभर प्रज्ञान निस्तेज भई चन्द्र धरातलमा सदासदाका लागि पृथ्वीबाट पठाइएको फोहोरका रुपमा रहिरहने छ।

अत्यन्त शत्तिशाली रकेट सैटर्न–५ को प्रयोग गरेर सोझै पृथ्वीको माथिल्लो अर्बिटमा पुग्यो। त्यहाँ अमेरिकी चन्द्रयानको मुख्य नियन्त्रण यान कोलम्बिया ‘अनडक’ भएर सोझै चन्द्र यात्रामा गयो। कोलम्बियाले चन्द्र अर्बिटमा पुगेर आफूले बोकेर लिएर गएको अर्को यान ‘इगल’ (भारतीय यान ल्याण्डर विक्रम जस्तै) बेग्लै गरेर चन्द्र अवतरणमा पठायो र माइकल कोलिन्सले कोलम्बियामै बसेर (भारतीय यान आर्बिटर जस्तै) चन्द्रमाको परिक्रमा गरिरहे।

भारतले पठाएको चन्द्रयान–२ को सबै प्रविधि झण्डै–झण्डै अपोलो अभियानकै समतुल्य हो तर मानवविहीन अभियान भएकोले खर्च/लागत कम गर्न लामो समय लगाएको हो।

स्मरण रहोस् भारतको उन्नत रकेटलाई बाहुबलीको संज्ञा दिइए पनि सैटर्न–५ रकेटको तुलनामा यसको सामर्थ्य १/१० पनि होइन।

मानवविहीन चन्द्र यात्रामा खर्च कम गर्न सबै देशले पृथ्वीको गुरुत्वाकर्षण शक्तिलाई प्रयोग गरेर क्रमशः विस्तारै चन्द्रयानलाई माथिल्लो अर्बिटमा स्थापित गर्दै चन्द्रमातिर पठाउने गर्छन्।

भारतको स्पेस एजेन्सी इसरोले पनि यही प्रविधि प्रयोग गरेर चन्द्रयान–२ लाई चन्द्र यात्रामा पठाएको हो।

१४ अगष्टमा पृथ्वीको माथिल्लो आर्बिटबाट चन्द्रमाको अर्बिटतिर हुत्याइएको चन्द्रयान–२ ले ६ दिनको यात्रापछि २० अगष्टमा चन्द्र अर्बिटमा प्रवेश गरेकाे छ। यसले चन्द्र अर्बिटमा रहेर (१४ दिन) ३ सेप्टेम्बरसम्म चन्द्रमाको परिक्रमा गरि रहनेछ।

३ सेप्टेम्बरमा मुख्य यान अर्बिटबाट (अपोलो–११ को कोलम्बिया जस्तै) चन्द्रमामा अवतरण गर्ने यान ल्याण्ड विक्रम –अपोलो–११ को ‘इगल’ जस्तै) विच्छेदित भएर चन्द्र अवतरण गर्ने तर्खरमा लाग्ने छ।आर्विटर भने चन्द्र अर्बिटमै रहेर परिक्रमा गरिरहनेछ।

३ सेप्टेम्बरमा अर्बिटरबाट ‘अनडक’ भएर पाँचौ दिनमा ल्याण्डर विक्रमले ७ सेम्टेम्बरमा चन्द्र धरातलमा स्पर्श गर्नेछ। ‘ल्याण्ड विक्रम’ चन्द्रमाको जुन भागमा ओर्लिन्छ, त्यहाँ केही समय पहिला मात्रै सूर्योदय भएको हुन्छ।

भारतले ल्याण्डरको नाम प्रसिद्ध भारतीय वैज्ञानिक विक्रम साराभाईको नाममा राखेको हो।

ल्याण्डर ओर्लेको केही घण्टा पश्चात यसभित्र रहेको ‘रोभर प्रज्ञान’ यसबाट निस्किएर (निल आर्मस्ट्रङ र बज एल्ड्रिन जस्तै) चन्द्र धरातलमा विचरण गर्दै अनेकौँ वैज्ञानिक परीक्षण गर्न थाल्नेछ। यसको चन्द्र धरातलमा गति १ सेन्टिमिटर प्रति सेकेण्ड हुनेछ।

ल्याण्डर विक्रम र रोभर प्रज्ञान दुवैले सौर्य इनर्जीबाट उर्जा प्राप्त गर्नेछन्। यिनको कार्य अवधि पृथ्वीको १३ः४५ दिन रात अथार्त झण्डै ३२७ घण्टा अर्थात १३.६५ पृथ्वी दिनको र रात्रीको अवधि पनि ३२७ घण्टा अर्थात १३.६५ पृथ्वी रात्री बराबर हुन्छ।

कारण चन्द्रमाले आफ्नो अक्षको एक परिक्रमा पृथ्वीको २७.३ दिनमा पूरा गर्छ। तसर्थ त्यहाँ १३.६५ पृथ्वी दिन बराबरीको दिन र १३.६५ पृथ्वी रात्री बराबरको रात्री हुन्छ।

भारतीय रोभरले चन्द्रमाको एक दिन अवधि बराबर काम गर्छ। २१ सेप्टेम्बरमा ल्याण्डर विक्रम र रोभर प्रज्ञान निस्तेज भई चन्द्र धरातलमा सदासदाका लागि पृथ्वीबाट पठाइएको फोहोरका रुपमा रहिरहने छ।

२०१७
ज्ञान मित्र।

 

भदौ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्