जम्मू–कश्मीर तनाव

भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको निर्णय

जम्मू–कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।

भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान त्यसको विरोधमा छन् ।

पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको ढोका ढकढक्याएको पाकिस्तानले अब यो विषयलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।

भारतको कश्मीरमाथिको निर्णयपछि पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध सीमित गरेको छ भने भारतीय राजदूतलाई फिर्ता पठाएका छ ।

कश्मीरका पूर्ण भागमा दुवै देशको दाबी रहँदै आएको छ तर विभाजित भागमा मात्रै उनीहरुको शासन रहेको छ । कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबिच लामो समयदेखि विवाद छ । तर पछिल्लो पटक यो विवाद उत्कर्षमा पुगेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेसीले मंगलबार एअर न्युज टिभीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने निर्णय गरेका छौँ । यो निर्णय सबै कानूनी पक्षको विश्लेषण गरेर लिइएको हो ।’

मुद्दाको केन्द्रमा भारतले गरेको मानवअधिकार उल्लंघन केन्द्रमा रहने उनले बताए । मुश्लिम बाहुल्य कश्मीरमा भारतले मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप छ, तर सो आरोप भारतले अस्वीकार गर्दै आएको छ ।

भारतले कश्मीरमा टेलिफोन तथा इन्टरनेट सेवा लामो समय बन्द गरेको थियो । टेलिफोन सेवा स्थापित भए पनि इन्टरनेट सेवा अझैसम्म सुचारु छैन ।

यसैबिच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरी कश्मीर मुद्दा भारत र पाकिस्तानको द्विपक्षीय विषय रहेको बताएका छन् । उनले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्