जम्मू–कश्मीर तनावबारे ट्रम्प

कश्मीरको अवस्था बिस्फोटक र जटिल, मध्यस्थताका लागि प्रस्ताव

फाइल तस्बिर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरको अवस्था ‘बिस्फोटक’ र जटिल रहेको बताएका छन् । ट्रम्पले पुनः समस्या समाधानका लागि भारत–पाकिस्तानबिचको वार्ताका लागि मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् । ट्रम्पले यो हप्ताको अन्त्यमा फ्रान्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताएका छन् ।

कश्मीर जटिल समस्या रहेको र यसलाई सुझबुझसहित समाधान खोजिनु पर्ने उनले बताएका छन् । ट्रम्पले भने, ‘जम्मू–कश्मीरमा हिन्दू पनि छन् र मुसलमान पनि छन् । मलाई लाग्दैन कि त्यहाँ सहकार्यको अवस्था छ ।’

उनले अघि भने, ‘यो समस्या लामो समयदेखि चलिरहेको छ र समस्या जटिल पनि हो । वार्तामा मध्यस्थता गर्ने प्रयास गरिरहेको छु । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र भारतका प्रधानमन्त्री मोदीसँग मेरो राम्रो सम्बन्ध छ । यो हप्ताको अन्तमा मोदीसँग भेट हुनेछ ।’
आफू भारत र पाकिस्तानसँग सम्पर्कमा रहेको पनि बताएका छन् ।

भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान त्यसको विरोधमा छ । पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको ढोका ढकढक्याएको पाकिस्तानले अब यो विषयलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको छ ।

भारतको कश्मीरमाथिको निर्णयपछि पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध सीमित गरेको छ भने भारतीय राजदूतलाई फिर्ता पठाएका छ ।

कश्मीरका पूर्ण भागमा दुवै देशको दाबी रहँदै आएको छ तर विभाजित भागमा मात्रै उनीहरुको शासन रहेको छ । कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबिच लामो समयदेखि विवाद छ । तर पछिल्लो पटक यो विवाद उत्कर्षमा पुगेको छ ।

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्