नयाँ पुस्ताकाे पर्खाइमा परम्परा झल्काउने प्रदेश संग्रहालय

पोखरा – प्रवेशद्वारबाट भित्र छिर्नासाथ हाम्रै बाउबाजेले जुग बिताएको रातो माटोले लिपेको र खरले छाएको घुमाउने घरले स्वागत गर्छ।

‘आमै’ घरभित्र भुंग्रोमा आगो सज्दै छिन्। सानी बहिनी क्रोर्कोमा सुतेको भाई हल्लाउँदै छिन् र बा पिँढीमा बसेर एकतमासले ‘धुँवा’ हुक्का तान्दै छन्। संग्रहालयमा राखिएका हरेक वस्तु मात्र निर्जीव जस्ता लाग्दैनन्।

भुंग्रोमा आगो फुक्दै गरेकी ‘आमै’ले केही छिनमै ‘तिनपाने’ लिएर बाहिर स्वागत गर्न आइपुग्छिन्। ‘बा’ले एकसर्को तान्न संकेत गर्दै ‘कस्तो छ केटा तलाइँ?’ भनी हालखबर सोध्छन्। यस्तै मनोभावले एकाएक दृश्य बनाउँछ।

आफ्नै हजुरबुबा, बुबाका पालामा चलनचल्तीका दैनिकी संस्मरण गर्न नवपुस्तालाई समय छैन। अझ केही पुराना पुस्ताका नेपालीहरुको दैनिकी झन् कस्तो हुँदो हो ! यि सबै बुझ्ने फुर्सद कहाँ?

अनुसन्धानकर्ता वा विषयगत विद्यार्थीका लागि चासो बन्न सक्छ तर आम व्यक्तिले खोजीनीति गर्दैनन्।

चासो राख्नेका लागि भने वर्षौ पुरानो र केही वर्षअघिसम्मका हाम्रै परम्परागत संस्कृति प्रत्यक्ष अनुभूति गराउन प्रदेश संग्रहालय, पोखराले पक्कै सघाउँछ।

पोखराको नयाँबजारमा हालैमात्र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालनमा आएको संग्रहालय नेपाली परम्परागत वस्तुस्थितिको अध्ययन केन्द्र हो।

रेडियो सुन्न र खबर पाउनकै लागि हातहातमा भएका स्मार्ट फोनले सहज बनाइसक्यो।

घुमाउने घरको पिँढीमा बसेर साँझबिहानका खबर सुनिरहेका जस्ता देखिने ‘बा’को आकृतिमा श्यामश्वेत नेपाली समाज मनमस्तिकमा झल्काउँछ।

ब्राह्मण, क्षेत्री, गुरुङ र हिमाली भेगमा बसोबास गर्ने नेपालीहरुको दिनचर्या, संस्कार संग्रहालयमा सजीव लाग्छन्।

खेतीपातीको काम गर्दा प्रयोग भएका औजारदेखि शिकार खेल्दा प्रयोग हुने हतियारसम्म चाख लाग्ने आकर्षण हुन्। युद्ध लड्न जाँदा प्रयोग भएका ढाल, तरबार, धनुष, मट्यांग्रा, खुँडा, कटारले परम्परागत हातहतियारबारे बेलिविस्तार लगाउँछ।

पुरातात्विक वस्तुहरुसमेत संग्रहालयमा संग्रहित छन्। माटाका वर्षौ पुराना भाडा छन्, जुन गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका गुफाहरुमा भेटिएका थिए तिनको जानकारी संग्रहालयमा छ।

विवाह उत्सव लगायत चाडबाडमा बजाइने पञ्चेबाजा, प्राय हिमाली भेगमा बजाइने टुङ्गाले पनि सांस्कृतिक, सांगीतिक विविधताको झल्काउँछ।

औषधीमूलोको साटो झारफुकमा विश्वास गर्ने प्रचलनलाई संग्रहालयमा देखाइएको छ। पच्यु, क्लेप्री र वोन्पोलाम गुरुङ (तमु) समुदायका तीन प्रमुख पुरोहित हुन्।

पुरोहितले धार्मिक पूजा तथा जन्मदेखि मृत्युसम्मका कर्म संस्कार सम्पादन गर्छन्। पुरोहितले कर्म संस्कारका क्रममा प्रयोग गर्ने सामग्रीसमेत संग्रहालयमा देख्न पाउँदा इतिहाससँग दर्शन गराउँछ।

संग्रहालयका विभिन्न भवनहरुमा परम्परागत नेपाली संस्कृति सजाइएको छ। गरगहना, दैनिक जीवनयापनका क्रममा प्रयोग हुने सामग्रीहरुले संग्रहालयलाई दर्शनीय बनाएको छ।

विवाह मण्डप र चर्खामा धागो बुन्दै गरेकी महिलाको आकृति अझबेँसी आकर्षण लाग्छन्।

इतिहासबारे बुझ्न चाहने जोकोहीलाई संग्रहालय विशेष थलोको रुपमा स्थापित गर्न प्रदेश सरकारले आफू मातहत सञ्चालनमा आएपछि थप व्यवस्थित बनाउने प्रयास गरिरहेको छ।

अध्ययनको केन्द्र बनाइ सञ्चालन गर्ने उद्देश्यले प्रदेश सामाजिक मन्त्रालयबाट १ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ।

पर्याप्तमात्रामा प्रचार हुन नसक्दा संग्रहालयमा अत्यन्तै कममात्रामा अवलोकनकर्ता पुगेको संग्रहालयका कर्मचारीको भनाइ छ।

तस्बिरहरु:  ईश्वर देवकोटा/देशसञ्चार

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्