टीकापुर सम्मेलनको तयारी पूरा, तीन सय स्वयंसेवक परिचालन

धनगढी- थरुहट÷थारुवान संघर्ष समितिले आगामी भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा गर्ने राष्ट्रिय सम्मेलनमा ३ सय जना स्वयंसेवक परिचालन हुने भएका छन् । सुरक्षाकर्मी संग संगै स्वयंसेवक समेत परिचालन गरिने आयोजकले जानकारी दिएको छ।

समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ। पत्रकार सम्मेलनमा थारु नेता लक्ष्मण थारुले सम्मेलनको तयारी पुरा भएको जनाउँदै सुरक्षाकर्मीलाई सहयोग गर्न ड्रेससहित ३ सय जना थारु युवा–युवतीलाई स्वयंसेवकका रुपमा तयार गरिएको बताए।

उनले भने–‘सम्मेलनलाई शान्तीपुर्ण र मर्यादित बनाउन स्वयंसेवक परिचालन गर्न लागेका हौं।’ सम्मेलनमा सहभागि हुन कैलाली बाहेक अन्य जिल्लाबाट आउने अतिथिहरुलाई बसोबास र खानपिनका लागि सम्पूर्ण व्यवस्था गरिसकेको लक्ष्मण थारुले जानकारी दिए।

उनले भने–‘कैलाली वाहिरका २४ जिल्लाका झण्डै २५ सय जना जति अतिथीका लागि टीकापुर आसपासका गाउँमा बस्ने ब्यबस्था मिलाएका छौ, खाना भने सम्मेलन गर्ने सिटी हलमै हुनेछ।’

टीकापुरस्थित सिटीहलमा हुन लागेको सम्मेलनलाई शान्तिपूर्ण बनाउन सिटीहल वरिपरी र टीकापुर बजारका मुख्य चोकमा सिसी क्यामेरा जडान गर्ने काम भइरहेको समेत थारुले जानकारी दिए। उनले भने–‘कार्यक्रमले शान्ती र सदभावना बढाउने छ भन्नेमा हामी प्रतिबद्ध छौं, स्थानीय थारु गैर थारुले पनि यसलाई सकारात्मकरुपमा लिएको पाएका छौ।’

७ गते हुने सम्मेलनको उद्घाटनमा डाक्टर बाबुराम भट्राई, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण, किशोर नेपाल, खगेन्द्र संग्रौला लगायत वक्ता रहेको पुर्व सांसद एवं आयोजक कमिटिका सदस्य कृष्ण कुमार चौधरीले जानकारी दिए।

आयोजकले सम्मेलनमा कैलाली कंचनपुर लगायत २५ जिल्लाका कम्तिमा ७ देखि ८ हजार जनसहभागिता रहने जनाएको छ। बाहिर जिल्लाबाट आउने सहभागीका लागि टीकापुर क्षेत्र आसपासका २७ गाउँमा बस्ने व्यवस्था मिलाइएको छ।

सम्मेलनको कार्यतालिका अनुसार भदौ ७ गते उद्घाटन कार्यक्रम हुनेछ। भदौ ८ गते बन्दसत्र चल्नेछ भने ९ गते टीकापुर घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।

संबेदनसिल रहेको टीकापुरको शान्ति सुरक्षाका बारेमा स्थानीय प्रशासनले निरन्तर छलफल जारी राखेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कार्यक्रमलाई मर्यादित बनाउनको लागि बिभिन्न चरणमा आयोजक संग छलफल गरिसकेको जानकारी दिए।

उनले भने–‘सबैसँग छलफल गरेर सम्मेलन मर्यादित बनाउन शान्ति सुरक्षाको ब्यबस्थापन गरेका छौं, सबैबाट सकारात्मक प्रतिकृया आएको छ ।’ सुरक्षाका लागि प्रशासनले गर्नुपर्ने सबै तयारी पूरा गरेको पनि प्रजिअ बोहोराले बताए।

‘आयोजकले यो आन्दोलन नभएर सम्मेलन भएकोले शान्तिपूर्ण हुने प्रतिबद्धता जनाउनु भएको छ’ प्रजिअ बोहोराले भने–‘स्थानीय स्तरको छलफल र आयोजकको तयारी हेर्दा सम्मेलनले शान्ति र सदभावमा थप सहयोग पुर्‍याउने छ।’

सम्मेलनको अवधिमा सद्भाव रक्तदान कार्यक्रम, खानेपानी र पुष्प गुछाले सहभागी हुन आउनेलाई स्वागत गर्ने, प्रतिकात्मक रुपमा थारुको घरमा पहाडी र पहाडीको घरमा थारु समुदायका मानिसलाई बसाउँने तयारी समेत आयोजकले गरेका छन्।

टीकापुरमा थरुहट÷थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ नाबालक गरी ९ जनाले ज्यान गुमाए। त्यसको भोलिपल्ट भदौ ८ गते कफ्यू जारी भएकै अवस्थामा थारु समुदायका घर, पसल, एफएम लगायत करोडौंको संरचना जलाइएको थियो।

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्