आई केयर फाउण्डेशनले मनायाे ३५ औँ वार्षिकोत्सव

आई केयर फाउण्डेशनका अन्तर्राष्ट्रिय निर्देशक वियोन स्टेनभर्स।

काठमाडौँ– आँखा उपचारको क्षेत्रमा नेपालको सफलता विश्वकै लागि उदाहरण बनेको छ। अन्तर्राष्ट्रिय रुपमै ख्याति प्राप्त ‘आई केयर फाउण्डेशन’ ३५ वर्ष अगाडि नेपालबाटै सुरु भएको थियो।

त्यसपछि यो क्षेत्रमा उसले नेपालमा मात्र हैन, विश्वका अन्य मुलुकमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

फाउण्डेशनले यही अगस्ट २६ मा काठमाडौँ, २८ मा पोखरा र २९ मा गोरखामा आफ्नो ३५ औँ वार्षिकोत्सव मनाउने भएको जानकारी हाल नेपालमा रहेका संस्थाका अन्तर्राष्ट्रिय निर्देशक वियोन स्टेनभर्सले बताए।

नेपालमा तिलगंगा लगाएत आँखाका क्षेत्रमा योगदान पुर्‍याएका उत्कृष्ट संस्थाहरुसँग प्रतिस्पर्धा नभएर एउटै लक्ष्यका लागि सहकार्य गरेको उनले देश सञ्चारलाई बताए।

फाउण्डेसनको सहयोगबाट हालसम्म करिब ४४ लाख ९३ हजार ४ सय ७६ जनाको आँखा जाँच गरिएको छ भने करिब ४ लाख ८ सय ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको फाउण्डेशनले जनाएको छ।

यसैगरी करिब एक सय ५७ जना नेत्र विशेषज्ञ, एक हजार पाँच सय १७ जना नेत्र सहायक र करिव ४० हजार ६ सय ५६ जनालाई प्रथामिक उपचार तालिम उपलब्ध गराउँदै नेपालको अन्धोपन निवारणमा सहयोग पुर्‍याउँदै आइरहेको स्टेनभर्सले बताएका छन्।

सन् १९८४ मा स्थापना भएको फाउण्डेशन, नेदरल्याण्डले नेपाल लगायत विभिन्न १६ राष्ट्रिमा सहयोग पुर्‍याउँदै आउनुका साथै नेपालका विभिन्न जिल्लाहरुमा आँखा उपचार केन्द्रका लागि आवश्यक सहयोग समेत जुटाउँदै आइरहेको उनले बताए।

भदौ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्