‘प्रोटोकल’ नमिलेको भन्दै प्रचण्ड र नेपाल गएनन् जयशंकरलाई भेट्न

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण विवादमुक्त रहन सकेन। विदेश मन्त्रालयको नेतृत्व सम्हालेको ८० दिनपछि नेपाल–भारत विदेशमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भागलिन २८ घण्टाका लागि नेपाल आएका जयशंकरको चाहना विपरित नेपालका दुई पूर्व प्रधानमन्त्री तथा सत्ताधारी नेकपाका नेताहरुले प्रोटकल’ का कारण जयशंकर बसेको होटल द्वारिकाजमा गएर भेट्न अस्वीकार गरेको बुझिएको छ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई जयशंकरका तर्फबाट होटलमा भेट्न निमन्त्रण आए पनि प्रचण्ड र नेपालले अरु नेताहरुले भन्दा फरक निर्णय लिए।

प्रचण्डले बिहीबार बिहान ८ बजे पार्टी सचिवालयको बैठक चलेकाले त्यो समयमा जयशंकरलाई भेट्न असमर्थ रहेको खबर पुर्‍याएका थिए। प्रचण्डले आफ्ना केही निकटसँग सत्ताधारी पार्टीको अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीका हैसियतमा त्यहाँ गएर कुनै मन्त्रीलाई भेट्नु ‘प्रोटोकल’ विपरित भएको धारणा राखेको बुझिएको छ ।

त्यस्तै नेता नेपालले पनि त्यही आधारमा जयशंकरलाई भेट्न अस्वीकार गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीलाई बालुवाटर पुगेर भेटेका जयशंकरसँग प्रचण्ड र नेपाल बाहेकका अरु पूर्व प्रधानमन्त्रीहरु द्वारिकाज गएर भेट गरेका थिए, जसमा कांग्रेस सभापति शेरबहादुर देउवा, बाबुराम भट्टराईसहित थिए ।

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्