एउटा जापानी युवतीको सडक अनुभव

काठमाडौँको ट्राफिक ‘खतरा’ छ

काठमाडौँ– राजधानीको पुतलीसडकमा बेलुकीपख ट्राफिक प्रहरीसँगै ‘ट्राफिक भोलेन्टियर’ लेखेको ज्याकेट लगाएर एक युवती ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको देखिन्छिन्।

उनको नाम हो आयुमी ओहोसी। उनको नेपाली नाम सुप्रभा हो।आयुमी जापानी नागरिक हुन्। जापानमा नौ वर्ष प्रहरीमा काम गरेकी उनी अहिले नेपालमा स्वयंसेवकका रुपमा काम गर्न आएकी हुन्।

आयुमी नेपाल आएको चार महिना भयो। अहिले उनी नेपालमा ट्राफिक नियमका बारेमा सिकाउँदै छिन्। उनले जापानी प्रहरी भएर कार्य गर्दा धेरै जिम्मेवारी पालना गरिन्। तर अन्य देशमा पनि सेवा गर्ने इच्छा भएपछि प्रहरीको जागिर छोडेर जाइकाको मुख्य कार्यालयमा ट्रेनिङका लागि पुगिन्।

त्यहाँ उनले नेपाली भाषा सिकिन्। अहिले नेपाली बोल्ने मात्र होइन, टाइप पनि गर्ने सक्ने भएकी छन्। ३२ वर्षकी आयुमी अविवाहित हुन्। उनका दुई जुम्ल्याहा भाइ छन्। आमा गुमाइसकेकी उनका बुवा जापानमै छन्।

नेपालमा उनी स्वयंसेवकका रुपमा आइपुगेकी छन्। ‘सुरु–सुरुमा गाह्रो भयो अहिले त बानी परेकी छु। यहाँ बाइकमा दुई जनाले यात्रा गर्दा एक जनाले मात्र हेल्मेट प्रयोग गरेको देख्दा मलाई अचम्म लाग्यो’, आयुमीले सुनाइन्, ‘अहिले सिकाउने प्रयास गरिरहेकी छु।’

उनले नेपालीले ट्राफिक नियम मात्र होइन, फोहर पनि जथाभावी गरेको बताइन्। उनले भनिन्, ‘कति राम्रा–राम्रा मानसहरुले पनि बाटोमै फोहोर फालेको देखेँ।’ नेपालमा ट्राफिक अवस्था ‘खतरा’ देखेको उनले बताइन्।

चार महिनादेखि उनको दैनिकी नेपालका सडकमा ट्राफिक व्यवस्थापनको काममा बितिरहेको छ। उनले विद्यार्थीहरुलाई ट्राफिक नियमका बारेमा सिकाउने र जनचेतना जगाउने काम गरिरहेकी छन्। यसरी आफूले सिकेका कुरा अरुसँग बाँड्न पाउँदा खुशी लागेको छ।

जापानमा आफ्नो परिवार साथीहरु भएकोले जापानको माया लाग्ने बताउँछिन् आयुमी। नेपाल पनि आफूलाई मन परेको उनले बताइन्। उनलाई नेपाली खाना दालभात मन खुब मनपर्छ।

आयुमी अब २१ महिना नेपालमा बस्ने छिन्। ‘मेरो यो कामबाट यहाँका मानिसले केही सिके हुन्थ्यो जस्तो लाग्छ’, उनले भनिन्।

आफ्नो देश बाहेक अन्यत्र गएर सेवा गर्ने मनसायले प्रहरीको जागिर छाडेर नेपालसम्मको यात्रा तय गरेकी आयुमी जापान फर्केर प्रहरीमै फर्कने की यसरी अरुको सेवा गर्ने भन्ने बारे सोचिनसकेको बताउँछिन्।

 

भिडियो हेर्नुहोस्:

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्