जमिन बाँझो राखेर समृद्ध हुन सकिन्न : मन्त्री अर्याल

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँ–गाउँका किसानका घरदैलोसम्म पुग्नु पर्ने बताएकी छन्।

नेपाल साना किसान कृषि सहकारी संघ केन्द्रीय आयोजनाले गरेको सहकारी विकास साझेदारी कार्यक्रममा बाेल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

विज्ञापन

साना किसान ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको भन्दै मन्त्री अर्यालले भनिन्,‘तपाईहरु गाउँसम्म पुग्नुभएको छ। अझ निम्नस्तरसम्म पुग्नेगरी तपाईं अगाडी बढ्नुस्।’

सहकारी ठूलाका हातमा भए र उनीहरुले नै फाइदा लिए भन्ने गुनासो रहेको भन्दै मन्त्री अर्यालले अब सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्ने बताइन्।

उनले भनिन्, ‘राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिनेगरी अगाडि बढ्नुस्, मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्नेगरी अगाडि बढ्नुस्।’

अब परम्परागत खेति प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडी बढ्नुपर्ने भन्दै उनले जमिन बाँझो राखेर समृद्ध हुन नसकिने बताइन्।

भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै मन्त्री अर्यालले व्यवसायिक बन्नका निम्ती ऐन, कानुनले पनि प्रबन्ध गरेको बताइन्। अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो।

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्