मुख्यमन्त्री हरित प्रदेश अभियान: प्रदेशभरिमा ३ लाख ६ हजार वृक्षा रोपन गरिने

जनकपुरधाम-मुख्यमन्त्री हरित प्रदेश अभियान अन्तर्गत प्रदेश २ को आठ वटै जिल्लामा करिब २ सय हेक्टर क्षेत्रफलमा वृक्षा रोपन हुने भएको छ।

शुक्रवारदेखि शुरु हुने उक्त अभियान अन्तर्गत प्रदेश २ को ८ वटै जिल्लाको १९१.२२ हेक्टर क्षेत्रफलमा ३ लाख ६ हजार वृक्षा रोपन गर्ने योजना रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले बिहीबार पत्रकार सम्मेलन मार्फत अभियानको पहिलो दिन शुक्रवार सागरनाथलाई व्यवस्थित गर्न यहाँबाट अभियान सञ्चालन गर्न लागेको बताए।

उक्त वृक्षा रोपन अभियानमा प्रदेशका मुख्यमन्त्री लगायत सम्पूर्ण मन्त्री र राज्यमन्त्रीको उपस्थिति रहने मन्त्री रायले जानकारी दिए। यस क्षेत्रहरुमा महोगनी, मसाला, निम, सोहिजन, अम्ला, बेललगायतको बिरुवा रोपने मन्त्री रायले जानकारी दिए । सागरनाथ वन विकास परियोजना २७ सय हेक्टर क्षेत्रफलमा रहेको छ।

अभियानको पहिलो दिन सागरनाथ वन विकास परियोजनाको २० हेक्टर क्षेत्रफलमा वृक्षा रोपन गरिने योजना रहेको छ भने त्यसको अर्कोदिन देखी धनुषाको सवैैला नगरपालिकामा ६ हेक्टर र गणेशमान चारनाथ नगरपालिकामा २२ हेक्टर, महोत्तरीको गौशाला नगरपालिकामा १० हेक्टर र बर्दिबाँस नगरपालिकामा ९.६ हेक्टर क्षेत्रफलमा वृक्षा रोपन गर्ने योजना रहेको छ।

त्यस्तै सर्लाहीमा १८.१७ हेक्टर, सिरहामा २० हेक्टर, सप्तरीमा २०.१ हेक्टर, बारामा २०.३५ हेक्टर, रौतहटमा २० हेक्टर र पर्सामा २५ हेक्टर क्षेत्रफलमा वृक्षा रोपन गर्ने कार्यक्रम रहेको छ।

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्