२० लाखमा पूरा हुने पढाइकाे ६४ लाखभन्दा बढी लिने गरेकाे भन्दै आन्दोलन

डा. प्रकाश चन्द

काठमाडौँ– सरकारले स्वास्थ्य क्षेत्रमा निर्धारण गरेको श्रमको मूल्य कर्मचारीलाई हतोत्साहित बनाउने प्रवृतिकाे रहेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ।

बिहीबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा संघर्ष समितिले स्वास्थ्य क्षेत्रमा आवद्ध डाक्टर, नर्स, फर्मासिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको श्रमको शोषण भइरहेको भन्दै आन्दोलनको घोषणा गरेको हो।

एमबीबीएस, बीडीएस, बीएनएस, बीएस्सी नर्सिङलगायतका चिकित्सा अध्ययनमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पारिनु पर्ने समितिका संयाजक डा. प्रकाश चन्दले बताए। उनले भने, ‘मेडिकल कलेजहरुले आफू मनपरी शुल्क उठाउदै आइरहेका छन्, तर हामीले यही कुरा सबै कलेजहरुमा समान हुनुपर्छ भन्दै आइरहेका छौँ।’

चिकित्सा शिक्षालाई लुट र भ्रमको साधन बनाउँदै २० लाखमा पुरा हुने पढाइ ६४ लाख भन्दा धेरै शुल्क विभिन्न मेडिकल कलेजहरुले लिदै आइरहेको चन्दले बताए। आफ्नो श्रम शोषण भइरहँदा आफू र बिरामीबीचको विश्वास बढ्दै गएको समितिको बुझाइ छ।

उनले भने, ‘इन्टर्नसिप, नर्स, रेसिडेन्ट लगायतलाई उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था, पाठ्यक्रम परिमार्जन गरि प्रविधिमैत्री बनाउनु पर्ने, गुणस्तरिय पठपाठनको वातावरण बनाउने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसारको सुविधा हुनुपर्ने हाम्रा माग रहेका छन्।’

त्यसैगरी, समितिले विरोध स्वरुप भदाै ६ देखि ८ गतेसम्म मागपत्र वितरण गर्ने, ९ गते अन्तर्क्रिया गर्ने, १० देखि १४ गतेसम्म सबै मेडिकल कलेजमा सभा र विरोध स्वरुप कालो ब्यानर बाँध्ने, १५ गते कालो पट्टि बाँधेर काम गर्ने र पढ्ने, १६ गते सबै मेडिकल कलेज प्रशासनसँग छलफल गर्ने, २५ गते राजधानीमा विशाल प्रदर्शन गर्ने योजना समितिले तय गरेको छ।

भिडियो हेर्नुहोस्

भदौ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्