श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै, कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ – भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यो दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

यस अवसरमा देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास गरिन्छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् कृष्णकै मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरे ।

यस अवसरमा आइतबार पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बुढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कृष्ण मन्दिरमा पनि विशेष मेला लाग्दछ ।

यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्