विश्वकै ठूलो सुनखानी छ, र पनि गरिब–दमित

‘हामी बाँदर होइनौँ, न सुँगुर या कुकुर…’

विद्यार्थीहरुको एक समूहलाई लक्षित गरी रंगभेदी मजाक गरिएपछि इन्डोनेसियाको पूर्वी क्षेत्र पापुआमा हिंसात्मक प्रदर्शन भएको छ ।

पापुआमा पछिल्लो वर्षमा भएको सबैभन्दा ठूलो प्रदर्शनको क्रममा धेरै भवनमा आगलागी भएको छ । एक जेल र एक बजारमा पनि आगलागी भएको छ ।

इन्डोनेसिया सरकराले सो क्षेत्रमा हजारौँको संख्यामा थप सुरक्षाकर्मी तैनाथ गरेको छ । सो क्षेत्रमा यसअघि नै ठूलो संख्यामा सैनिक थिए । सुरक्षा स्थापित गर्नका लागि भन्दै सरकारले पापुआमा इन्टरनेट सेवा बन्द गरेको छ ।

क्याटलगमा विद्यार्थीहरुको एक समूहलाई लक्षित गरी रंगभेदी मजाक संग्रहित गरिएको थियो । जसले वर्षौँदेखि नैराश्यलाई विरोध प्रदर्शनको रुप दिन उर्जाको काम गर्‍यो ।

इन्डोनेसिया सरकारले पापुआ र पश्चिम पापुआ गरी दुई प्रान्तमा विभाजित पापुआ इन्डोनेसियाको एकीकृत भाग बताउने गरेको छ । संयुक्त राष्ट्रसंघले पनि त्यसलाई मान्यता दिएको छ । तर पापुआका धेरै बासिन्दाले सो विचारसँग सहमति जनाउँदैनन् ।

नेदरल्याण्डसको उपनिवेशमा रहेको पापुआ सन् १९६१ मा स्वतन्त्र घोषित भएको थियो । तर सन् १९६९ मा विवादास्पद रुपमा इन्डोनेसियाले कब्जा गर्‍यो । संयुक्त राष्ट्रसंघको सुपरिवेक्षणमा जनमतसंग्रह भयो, जसमा मात्रै एक हजार पापुअन्सले भोट दिन पाए । इन्डोनेसियामा समाहित हुने पक्षमा परिणाम आयो । तर मात्रै एक हजार जनाको भोटले भएको निर्णय वैध नहुने अधिकांश पापुअन्सको भनाई रहँदै आएको छ ।

यहि कारण लामो समयदेखि सो क्षेत्रमा स्वतन्त्रताको अभियान चलिरहेको छ । हालसम्म पनि इन्डोनेसियाबाट स्वतन्त्र हुनका लागि आन्दोलन हुँदै आएको छ । अहिले रंगभेदी मजाकले त्यसलाई बल प्रदान गरेको छ । पापुआ क्षेत्रमा बसोबास गर्ने अधिकांश अफ्रिकन मुलका छन् । इन्डोनेसियामा मुल जाती मंगोलियन हो ।

इन्डोनेसियाको सेनाले पापुआ क्षेत्रमा मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप छ । स्रोतले भरिपूर्ण पापुआ आफ्नो नियन्त्रणबाट कुनै पनि हालतमा बाहिर जान दिने पक्षमा छैन इन्डोनेसिया । पापुआमा विश्वको सबैभन्दा ठूलो सुन खानी छ । तर पनि यो इन्डोनेसियाको सबै भन्दा गरिब क्षेत्रका रुपमा रहेको छ ।

पापुआमा गएको फेब्रअरीमा दादुरा तथा कुपोषणका कारण कम्तिमा ७२ जनाको ज्यान गएको थियो र अधिकांश बालबालिका थिए ।

सतही रुपमा रहेको आक्रोशले तब उर्जा पायो, जब पापुअन विद्यार्थीको एक समूहमाथि सुराबाया शहरमा रंगभेदी मजाक गरियो ।

विश्वविद्यालयमा अध्ययनरत पापुअन विद्यार्थीले स्वतन्त्रता दिवसको अवसरमा भएको समारोहमा इन्डोनेसियाको झण्डाको अपमान गरेको आरोप लाग्यो ।

त्यसपछि राष्ट्रवादीहरुको समूहले उनीहरुको आत्रबास घेराउ गरी रंगभेदी नारा लगाए । राष्ट्रवादीहरुले पापुअन विद्यार्थीलाई बाँदर, सँगुर र कुकुर भनेका थिए । त्यसपछि प्रहरीको दमनले प्रदर्शनलाई थप भड्काएको जनाइन्छ ।

रंगभेदी मजाकबाट सुरुभएको प्रदर्शन हाल स्वतन्त्रताको मागका रुपमा विकसित भएको छ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्