एनआरएनएका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने

सिड्नी – गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिए ।

विज्ञापन

एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि आफूले उम्मेदवारी दिने निर्णय गरेको कुरा उल्लेख गरे ।

पत्रकारहरूसँगको अन्तरक्रियामा अधिकारीले भने, “हामीले विदेशमा बसेर नाम, दाम कयौं होला तर मातृभूमिप्रतिको दायित्वले सदैव हामीलाई चिमोटिरहन्छ । हामीलाई थाहा छ मातृभूमिको सेवाबाट मात्र हाम्रो मनलाई पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यसैकारण हामीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ।”

साथै अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने योजना रहेको कुरा पनि उल्लेख गरे ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १३ देखि १६ तारिखसम्म काठमाडौँमा विश्व सम्मेलन हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्