किन भेटे प्रचण्डले नेपाललाई ओली सिंगापुर गएकै भोलिपल्ट?

फाइल तस्बिर

काठमाडौँ– आफ्ना राजनीतिक सम्बन्ध र अभिव्यक्ति फेरिरहने नेताका रुपमा परिचित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीबाट अपमानित माधव नेपाललाई किन भेटे?

शुक्रबार बिहान दाहाल निवास खुमलटारमा यी दुई नेताबीच भएको करिब दुई घण्टा लामो भेटको तात्पर्य या उद्देश्य दाहालले फेरी एकपल्ट नेपाललाई ‘तपाई र मेरोबीचको सहकार्यले नै पार्टीको भविष्य सुनिश्चित गर्नेछ।’ भन्ने सन्देश दिन खोजेको अनुमान पार्टीको उपल्लो तहमा छ।

सिंगापुरमा स्वास्थ्य परीक्षणपछि साउन २७ स्वदेश फर्किए लगत्तै ओलीले नेपाल र प्रचण्डबीच आफूविरुद्ध लिखित सहमति भएको आरोप मात्र लगाएका थिएनन्, ओली–प्रचण्डबीच आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ‘साइत हेरेर’ सार्वजनिक गरेकोमा आपत्तिसमेत जनाएका थिए।

‘ओलीको खप्कीपछि लल्याक्लुलुक परेका प्रचण्डले त्यसपछिका बैठक र माधव नेपाललाई वरियतामा तल झार्दा ओलीलाई खुलेरै साथ दिए।’ सचिवालयका एक सदस्यले देश सञ्चारलाई बताए।

उनी भन्छन्, ‘प्रत्यारोपित मृगौलाको उपचार र आवश्यक परे त्यसको पुन: प्रत्यारोपणका लागि बिहीबार सिंगापुर जानुअघि ओलीले ‘फुटाउ र राज गर’को सिद्धान्त अपनाउँदै दलभित्र महत्वपूर्ण निर्णय लिने अधिकारसमेत प्रत्यायोजित गरे जबकी नेपाललाई वरियतामा तर झारे।’

सात बुँदे ‘नोट अफ डिसेन्ट’मा नेपालले आफ्नो मानमर्दन भएको आरोप लगाएका थिए। त्यो मानमर्दनको घटनापछि र प्रचण्डको हातमा एकल नेतृत्व गएपछि शुक्रबारको भेटमा प्रचण्डले आफ्नो तर्फबाट नेपाललाई अपमानित गर्ने कुनै मनसाय नरहेको र अबका दिनमा दुवै सँगसँगै जानुको विकल्प नभएको आग्रह गरेको बुझिएको छ।

‘हामी पहिला पनि सँगै थियौँ र अब पनि सँगै जानुपर्छ, तपाईलाई म सहयोग गर्छु’ बैठकपछि आफू निकटका नेताहरुलाई नेपालले प्रचण्डको भनाई यसरी प्रस्तुत गरेका थिए।

एकतालाई अर्थपूर्ण बनाउन प्रयाप्त गृहकार्य र सामुहिक नेतृत्वको विकासको आवश्यकताबोध दुवै नेताले गरेको पनि स्रोतले बतायो। तर मुख्य रुपमा माधव नेपालसँग प्रचण्डले आफूलाई गलत रुपमा नबुझ्न आग्रह गरेको स्रोतकाे दावी छ।

बिहान बैठकपछि एक फरक कार्यक्रममा बोल्दै दाहालले कम्युनिष्ट नेता र कार्यकर्ताको विलासी जिवनशैलीबारे आलोचनासँगै नेतृत्वमा जिम्मेवारीवोध र अनुशासन दुवै हुनुपर्ने अभिव्यक्ति दिएर अहिले त्यसको अभाव देखिएको सन्देश दिएका थिए।

यता नेपालले भने आफूलाई एक्ल्याउने कोशिस ओलीबाट भएपनि आफूले विधिको पालनाको मागबारे निरन्तर बोल्ने र त्यसलाई समर्थन गर्नेहरुको पनि ठूलो संख्या रहेकोले आफू किञ्चित विचलित नभएको आफ्ना निकटकालाई बताउने गरेका छन्।

खासगरी अब पार्टीलाई चुस्त र पारदर्शी बनाउन विधानमै उल्लेख ‘एक व्यक्ति एक पद’को व्यवस्था कार्यान्वयन गर्न नेतृत्वलाई निरन्तर दवाव दिने, पोलिट व्यूरो गठन तथा केन्द्रिय सदस्यको कार्य विभाजन सोही व्यवस्था अनुसार हुनुपर्ने, स्थायी तथा केन्द्रिय कमिटीको बैठक राखेर छलफल गर्नु पर्ने लगायत मागलाई निरन्तर उठाउने नेपालले रणनीति बनाएका छन्।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्