श्रीमतिले गराइन् श्रीमानको हत्या, चारजना किलर पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम-आफ्नै श्रीमानलाई हत्या गराउने घटना सार्वजनिक भएको छ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा श्रीमतीले नै पेसेवर अपराधीमार्फत् आफ्नै श्रीमानको हत्या गराएको घटना बाहिर आएको छ।

बर्दिबाँस नगरपालिका ३ गौरिडाँडाका ३६ वर्षीय सरोज भनिने श्रवण थापालाई आफ्नै श्रीमतीले माइती पक्षसँग मिलेर पेसेवर अपराधिहरु मार्फत हत्या गराएकोमा चारजना पेसेवर हत्यारालाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् भने श्रीमती, ससुरासहित ८ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

विज्ञापन

पक्राउ पर्नेमा सर्लाही जिल्लाको धनकौल गाउँपालिका ३ हरकटबाको २७ वर्षिय प्रमोद सिंह, वडा २ बस्ने २७ वर्षिय मुकेश साह, रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. ६ बखरीटोल बस्ने ३३ वर्षिय जिला भन्ने श्री नारायण महरा र त्यसै स्थानको वडा नं. ६ बस्ने ४६ वर्षिय टिआई सहनी रहेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए।

घटनामा १२ जनाको संलग्नता देखिए पनि ४ जना पेसेवर अपराधी पक्राउ परेको छ भने श्रीमति सहित घटनामा संलग्न रहेको अन्य ८ जनाको खोजी कार्य भईरहेको महोत्तरी प्रहरीले जनाएको छ।

के थियो घटना ?


गत असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित स्मृति पार्क नजिक बिपी राजमार्ग सडक खण्डमा प्रदेश ०२–०२–००१ प २०५४ नम्बरको स्कुटर र एक जनालाई घाईते अवस्थामा देखेपछि त्यसलाई उपचारको लागि नजिकको स्वास्तिक अस्पतालमा लग्दा सरोजलाई डाक्टरहरुले मृत घोषित गरेको थियो।

तर पोस्टमार्टम गर्दा सरोजलाई हत्या गरेको पाएपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले श्रीमान र श्रीमतिबीच सम्बन्ध राम्रो नरहेकोले र सरोजले जग्गा बेचेपछि रहेको रुपैयाको लागि श्रीमतिले आफ्नो माईती पक्षसँग मिलेर पेसेवर हत्यारालाई सरोजको हत्या गर्ने कोन्ट्राक्ट दिएका थिए।

आरोपीले दिएको ब्यान अनुसार करिब ३ लाखमा यिनीहरु बिच डिल भएको थियो।यस घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले संयुक्त रुपमा एक महिना दिनदेखि अनुसन्धान गरिरहेका थिए।

भदौ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू