हेल्थ टिप्स

यस्ताे छ नमिलेका दाँत मिलाउने तरिका

डा. सीता निउरे भट्ट

काठमाडौँ – मानिसले आफ्नो सुन्दरता कायम राख्नका लागि अनेक उपाय अपनाउने गरेको पाइन्छ। मानिसले अपनाउने गरेका अनेक उपायमध्ये एक हो, दाँत। टम्म मिलेका, सेता र चम्किला दाँतकाे चाहना कसलाई पो नहोला र?

धेरै जसो मानिसहरुले नमिलेका दाँतका कारण आफ्नो सुन्दरतामा कमी आएको महशुस गर्ने गरेको पाइन्छ। तर पछिल्लो समयमा भने दाँत सम्बन्धी कुनै पनि प्रकारको समस्या देखिएको खण्डमा तनावमा बस्न नपर्ने चिकित्सकहरुले बताउने गरेका छन्।

बाङ्गोटिङ्गो, बाहिर उछिट्टिएको दाँत मिलाउनका लागि तार लगाउने वा बाँध्ने गरिन्छ। दाँत मिलाउने वा बाँध्ने प्रकृयालाई अर्थाेड्न्टिक ट्रिटमेन्ट भन्ने गरिन्छ। तर बोलीचालीको भाषामा भने यसलाई तार बाँध्ने वा मिलाउने भन्ने गरेको डा. सीता निउरे भट्टले बताइन्।

यस्ता समस्या भएका व्यक्तिले तार बाँध्न सक्ने उनले बताइन्। उनले भनिन्,‘जुन व्यक्तिलाई आफ्ना दाँत नमिलेको जस्ताे लाग्छ, उहाँहरुले हामी जस्ता दन्त चिकित्सकसँग सल्लाह लिएर मिलाउन सक्नुहुन्छ।’ यसका लागि सबैभन्दा पहिला दाँतको एक्सरेका साथै मुखको सम्पूर्ण जाँच गरिन्छ।

यसबाट दाँतमा किरा लागेको छ–छैन, मुख कत्तिको फोहोर छ भन्ने कुरा थाहा हुन्छ। दाँतमा कुनै समस्या देखिए बाँध्नु भन्दा पहिले उपचार गर्ने गरिएको डा. भट्टले बताइन्। दाँतको अवस्था सामान्य भएपछि मात्रै मिलाउनका लागि दाँतको नाप लिइन्छ र दाँतको फोटो खिचिन्छ। मिलाउनु भन्दा पहिला र मिलाइ सकेपछि दाँतको तुलना गर्नका फोटो लिने गरिएको हो।

यति भइसकेपछि मात्रै तार बाँध्ने प्रकृया सुरु हुने उनले बताइन्। तार बाँध्नका लागि कुनै सीमित उमेर नभएको विज्ञहरुले बताए। पहिला बढी उमेरका व्यक्तिहरुमा तार बाँन्ने क्रममा केही समस्या देखिने गरेता पनि पछिल्लो समयमा अत्याधुनिक प्रविधि भित्रिसकेका कारण कुनै पनि समस्या नुहने डा. भट्टले बताइन्।

उनले भनिन्, ‘यसका लागि स्वस्थ दाँत हुन आवश्यक हुन्छ, त्यस कारण जति स्वस्थ दाँत, गिँजा, हड्डी त्यति नै तार बाँध्नका लागि राम्रो मानिन्छ।’

दाँतको स्थिति कस्तो छ, कति बिग्रेको छ सबै कुरा हेरेर मात्र तार प्रयोग गरेका व्यक्तिहरुले कति लामो समयसम्म यसको प्रयोग गर्नु पर्ने भन्ने सल्लाह आफूहरुले दिँदै आएको उनले बताइन्। उनले भनिन्, ‘दाँत धेरै बिग्रेका व्यक्तिले लोमो समयसम्म राख्नु पर्ने हुन्छ भने कम बिग्रिएका व्यक्तिहरुको छोटो समयमा पनि मिल्न सक्छ।

तर तार निकालिएको केही समयसम्म दाँतको राम्रो हेरचाह गर्नु पर्ने डा. भट्ट सुझाउँछिन्। उनले भनिन्, ‘तार निकालिसकेपछि हामी प्यासेन्टलाई रिटेनर प्रयोग गर्न सल्लाह दिन्छाैँ, यो रिटेनर भनेको ट्रिटमेन्ट भन्दा पनि महत्वपूर्ण हुन्छ।’

तार निकालिसकेपछि दाँत फेरि आफ्नै ठाउँमा जाने सम्भावना धेरै हुने हुँदा नयाँ ठाउँ मेन्टेन गरेर राख्नु पर्ने हुन्छ। जसको अवधी सामान्यतया एक वर्षकाे हुने डा. भट्टकाे भनाई छ।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्