संकटमा अमेजन रेनफरेस्ट

डढेलो नियन्त्रणका लागि आर्मी परिचालन

अमेजन रेनफरेस्टमा अत्याधीक मात्रामा भइरहेको आगलागी नियन्त्रणमा लिनका लागि ब्राजिलका राष्ट्रपतिले सैनिक परिचालन गरेका छन् ।

ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारोले अमेजनमा लागेको डढेलो नियन्त्रणमा लिनका लागि भइरहेको प्रयासलाई थप सघन र प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

बोल्सोनारोले जारी गरेको आदेश अनुसार जंगल, आदिवासी जनजातिको बसोबास रहेको क्षेत्र तथा सीमावर्ती क्षेत्रमा सैनिक परिचालन भएका छन् । युरोपियन नेताहरुले अमेजन जंगलमा भएको डढेलोप्रति गम्भीर चासो व्यक्त गर्दै दिएको दबाबपछि राष्ट्रपति बोल्सोनारोले सैनिक परिचालन गर्ने आदेश दिएका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर एङ्गेला मर्केल तथा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अमेजन रेनफरेस्टमा लागेको आगो अन्तर्राष्ट्रिय संकट रहेको बताएका छन् । उनीहरुले डढेलो नियन्त्रणमा लिनका लागि चाहिने जति प्रयास नभएको भन्दै ब्राजिलका राष्ट्रपति बोल्सोनारोको आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासविच एन्टोनियो गुट्रेसले विश्वव्यापी जलवायु परिवर्तनको संकट पूर्ण अवस्थामा अक्सिजनको भण्डारका रुपमा रहेको अमेजन जंगलमा भइरहेको विनाश स्वीकार्य नरहेको बताएका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागी नियन्त्रणमा लिनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा चौतर्फी दबाबपछि बोल्सोनारोले डढेलो नियन्त्रणमा लिनका लागि सेना परिचालन गर्ने घोषणा गरेका हुन् । विशेष गरी फ्रान्स र आयरल्याण्डले अमेजन जंगलमा लागेको आगो नियन्त्रणमा लिनका लागि ब्राजिलले थप प्रयास नगरेसम्म तयारीमा रहेको ठूलो व्यापार सम्झौता अनुमोदन नगर्ने बताएपछि यस्तो घोषणा आएको हो ।

यस्तै फिनल्याण्डका वित्त मन्त्रीले इयुसँग ब्राजिलबाट हुँदै आएको बिफ (गाइको मासु) आयात बन्द गर्ने सम्बन्धमा सोच्नु पर्ने बताएपछि ब्राजिल थप दबाबमा आएको हो । वातावरणवादीहरुको समूहले ब्राजिलका विभिन्न शहरहरुमा प्रदर्शन पनि गरिरहेका छन् ।

तीव्र गतिमा फडानी अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ स्टेलाइट तथ्यांक अनुसार यो वर्ष अमेजन रेनफरेस्टमा डढेलो लाग्ने क्रम अत्याधिक मात्रामा बढेको देखिएको हो ।

गएको वर्षको सोही अवधिको तुलनामा यो वर्ष अमेजन रेनफरेस्टमा डढेलोको मात्रा ८५ प्रतिशतले बढेको स्याटेलाइट तथ्यांकले देखाएको इनपेले उल्लेख गरेको छ ।

बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ ।
यो वर्षको जनवरीदेखि अगस्टसम्ममा अमेजन जंगलमा आगलागीका ७८ हजार घटना भएको इनपेले उल्लेख गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशत बढी हो । सन् २०१३ यता इनपेले अमेजनमा हुने आगलागीका घटनाको तथ्यांक राख्न थालेयता यो सबैभन्दा बढी हो ।

गर्मी मौसममा ब्राजिलका जंगलमा आगलागी हुने गरेका छन्, तर कृषि तथा पशु चरनका लागि गैरकानूनी रुपमा वनमा आगो लगाइने गरेको पनि छ ।

इनपेको भनाईप्रति राष्ट्रपति बोल्सोनारोले आक्रोश व्यक्त गर्दै किसानले जमिन सफा गर्नका लागि आगो लगाउने भएकाले यो समय आगो लाग्ने गरेको बताउँदै आएका थिए ।

इनपेले भने सामान्यतया अघिल्ला वर्षको सुक्खा समय लाग्ने गरेको भन्दा यो वर्ष अत्याधिक मात्रामा आगलागी भएको जनाएको छ ।

बोल्सोनारोले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको वातावरणविदले बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् । फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ । अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ ।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्