जम्मू–कश्मीर तनाव

राहुल गान्धी विपक्षी नेताहरुको टोलीसहित कश्मीर जाँदै

भारतीय कांग्रेसका पूर्व अध्यक्ष रााहुल गान्धी शनिबार जम्मू–कश्मीर जाने भएका छन् । उनी अरु विपक्षी नेतासँगै कश्मीर जाने भएका हुन् ।

भारतीय पत्रिका हिन्दुस्तानले स्रोतलाई उद्धृत गर्दै राहुल गान्धी शनिबार कश्मीर जाने सम्बन्धी खबर प्रकाशित गरेको छ ।

विज्ञापन

राहुल गान्धीसँगै कांग्रेस नेता गुलाम नबी आजाद, आनन्द शमर्मा, भाकपाका नेता डी राजा, माकपाका नेता सीताराम येचुरी, राजदका नेता मनोज झा र एनसिपीका नेता माजिद मेनन पनि शनिबार दिउँसो श्रीनगर पुग्ने जनाइएको छ ।

तर प्रशासनले भने बयान जारी गर्दै राजनीतिक दलका नेताहरुलाई श्रीनगर उपत्यकाको भ्रमण नगर्न भनेको छ । नेताहरुको भ्रमणले जनजीवन सामान्य बनाउने प्रयासमा बाधा पुग्ने प्रशासनको दाबी छ।

जम्मू–कश्मीरको सुरक्षा अवस्था तथा सर्वसाधारण नागरिकमाथि लगाइएको बन्देज र स्थानीय नेताहरुलाई गरिएको पक्राउप्रति कडा आपत्ति जनाउँदै आएको भारतीय कांग्रेसले सो क्षेत्रको अवलोकनका लागि विपक्षी नेताहरुको टोली जान पाउनु पर्ने बताउँदै आएको थियो ।

गएको हप्ता राहुल गान्धीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकसँग आफूसहितका विपक्षी नेताहरुको अनुगमन भ्रमणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यसको जवाफमा जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकले ‘जहाज पठाउँछौँ, आउनुस्, अनुगमन गर्नुस्’ भनेर जवाफ दिएका थिए । राहुलले ट्वीट मार्फत गरेको आग्रहमा मलिकले ट्वीट मार्फत नै जवाफ दिएका थिए ।

राज्यपाल मलिकको जवाफबाट सन्तुष्ट नभएका कांग्रेस नेता गान्धीले साउन २९ गने पुनः ट्वीट मार्फत नै ‘कहिले आउँ ?’ भनेर सोधेका थिए । राहुलले आफूहरुका लागि जहाजको व्यवस्था गर्नु नपर्ने तर यात्रा र स्थानीय बासिन्दासँग भेट्न पाउने स्वतन्त्रता, स्थानीय नेताहरु तथा सुरक्षाकर्मीहरुसँग भेट गर्न पाउने व्यवस्था गरिनु पर्ने बताएका थिए, त्यो बेला ।

त्यसपछि पनि राहुलले लगातार कश्मीरको अवस्थाबारे अवलोकन गर्न पाउनु पर्ने बताउँदै आएका थिए । प्रशासनले नआउन भने पनि राहुल गान्धी विपक्षी नेताको नेतृत्व गर्दै कश्मीरको अवलोकनका लागि जान लागेका हुन् ।

भारत सरकारले अगस्ट ५ मा संविधानमा रहेको धारा ३७० निष्प्रभावित घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेपछि सो क्षेत्रमा तनावको अवस्था छ । सरकारले सो क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा अधिकांश रुपमा बन्द गरेका छ । ल्याण्डलाइन टेलिफोन भने आंशिक रुपमा सञ्चालनमा आएका छन् ।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू