अन्तर्वार्ता

‘धरावासी दाजुका कृति भावुक र मेरा यथार्थपरक छन्’

कुमार भट्टराई

कुमार भट्टराई झापाका एक स्थापित युवा साहित्यकार हुन्। भट्टराई साहित्यकार कृष्ण धरावासीका सहोदर भाइ हुन्। साहित्यकार मात्र नभइ उनी तेक्वान्डो प्रशिक्षक पनि हुन्। सँगै पत्रकारिता पनि गर्छन्। उनको कृति ‘अश्वत्थामा’ चर्चामा छ। प्रस्तुत छ, हाम्रा सहकर्मी उमाकान्त खनालले उनै साहित्यकार भट्टराईसँग गरेको कुराकानीको अंश ।

लेखनको प्रेरणा कहाँबाट आयो ? 

मैले थाहा पाउँदा दाजु कविता लेख्नु हुन्थ्यो । बाहिर सुनाउनु हुन्थ्यो र घरमा पनि अरुले सुन्ने गरी पढ्नु हुन्थ्यो । यस्तो लेखेको राम्रो होला भन्ने लाग्थ्यो । आफू पढ्ने स्कूल शनिश्चरे माविमा पनि हरेक शुक्रवारका दिन साहित्यिक कार्यक्रम हुन्थे ।

शिवप्रसाद दहाल, सरोज ओली, रोहिणीविलास लुइँटेल सरहरु कविता लेख्न उत्प्रेरणा दिनुहुन्थ्यो । साथीहरु पनि कविता लेख्ने खालकै थिए । सायद उहाँहरुको संगतले नै त्यस तर्फ प्रेरित भइयो ।

तपाईंका लेखका विशेषताहरु के के हुन् ?

पहिलो विशेषता भनेको यतिखेर हामी लीलालेखन तर्फ उन्मुख छौँ, जो पूर्वीय दर्शनको मान्यता टेकेर स्थापित हुँदैछ । अर्को भनेको मैले लेखेका अधिकाशं कथा, उपन्यासका पात्रहरुले धेरै भन्दा धेरै सम्वाद गर्छन् । कथा वा उपन्यासमा व्यक्तिगत भावनाका लागि ‘म’ पात्रहरु स्थापित छन् ।

किन लेख्नु हुन्छ ?

यसका धेरै कारण छन् । पहिलो, आफूले गर्न नसक्ने कुराहरुलाई लेखेर व्यक्त गर्न सकिने रहेछ । दोस्रो, समय परिवर्तनसँगै सोच, चेतनाहरु पनि परिवर्तन हुँदै जान्छन्, अनुभूतिहरु बिर्सिँदै गइन्छ । त्यसैले तीहरु संग्रहित हुनुपर्छ भन्ने लागेर पनि लेख्छु । आफू मरेपछि पनि कृति बाँचिरहोस् लागेर पनि लेख्छु ।

दाजु धराबासी र तपाईको लेखनमा भिन्नता के छ ?

हामी एउटै लेखन धारमा लेख्छौँ। शैली पनि उस्तै उस्तै छ । हाम्रा लेखका विषयहरु पनि त्यति धेरै गन्जागोलभित्रका हुँदैनन् । त्यसको कारण भनेको आफूले भोगेको परिवेश पनि होला । पछिल्लो समय धराबासी दाइले संसार घुम्दै हुनुहुन्छ र संसारभरिका कुराहरु लेख्न थाल्नु भएको छ । मैले त्यसो गर्न सकेको छैन । यति हुँदाहुँदै पनि धराबासी दाइको लेखनमा भावुकता र भावना पक्ष अलिक बढी समेटिएको जस्तो लाग्छ मलाई । आफ्नो लेखन चाहिं अलिक तर्कशिलता उन्मुख हो कि भन्ने अनुभूति हुन्छ ।

तपाईं मार्सल आर्ट्सको विद्यार्थी कि साहित्यको ?

म त थुप्रै थोकको विद्यार्थी । तर ती कुनै मेरा पेशा होइनन् । हरेक विषयलाई पेशा बनायो भने त्यसले बाँध्छ, स्वतन्त्र हुन दिँदैन । मेरो अर्को जीवन छैन, त्यसैले सरल जीवन बाँच्नु पर्छ जस्तो लाग्छ मलाई । स्वास्थ्यको लागि व्यायाम गर्नै पर्छ, त्यसैले तेक्वान्दो प्रशिक्षण गर्छु र गराउँछु । मनमा उब्जेका प्रश्नहरुको उत्तर खोज्छु र लेख्छु । एउटा मात्र विधा समात्यो भने विशेषज्ञता हाँसिल गर्न सकिन्छ, तर विशेषज्ञता हाँसिल गर्न बडो साधना गर्नुपर्छ, जुन एकाग्रता ममा छैन । त्यसैले म त खोला जस्तै हुन मन लाग्छ, आफ्नो अगाडि आइलागेका हरेक सजिला कुराहरुको विद्यार्थी बनिहालौँ।

‘अश्वत्थामा’ प्रकाशित हुनुभन्दा अगि कुन–कुन कृति प्रकाशित छन् ?

दुई कथासंग्रहहरु– नसमेटिएका पाइलाहरु र बकाइनो, एक उपन्यास– धनबहादुर र म, एक कविता संग्रह– मेरो, एक सूत्रकाव्य– कृष्ण ।

बकाइनो र अश्वत्थामा के कारणले आए?

बकाइनो कथासंग्रहभित्र बाह्र वटा कथा छन् । छ वटा महिलाका र छ वटा पुरुषका । महिलाले पुरुषबाट गरेका अनुभूति, दुःख, प्रेम लगायतका कुराहरु र पुरुषले पनि महिलाबाट त्यसरी नै प्राप्त कुराहरुमाथि लेखिएका कथाहरु छन् । जुन कुरा हाम्रा गाउँघर र दैनिकीमा छ । तर अश्वत्थामा भने वर्तमान राजनीतिक माहौललाई अनुभूत गरेर महाभारतकालीन अवस्थाका खलनायक पात्रहरुमाथि न्याय गर्न खोजिएको छ ।

कुमार भट्टराई

अहिले राजनीतिवृत्तमा उठेका महिलावादी, छुवाछुत, ब्राह्मणवाद, आदिबासी–जनजाति, लोपोन्मुख जाति लगायतका सामाजिक संरचनाको अवस्थासँग महाभारतकालीन परिवेश बुझ्न खोजिएको छ । त्योसँगै हस्तिनापुर राज्य विखण्डन र राजनीतिक उतार–चढाव तथा सत्ता परिवर्तनका लागि भएका छलकपट, घटना–परिघटना, सूत्रधारहरु लगायतलाई प्रष्ट्याएर अहिले हाम्रो देशको राजनीतिक परिस्थिति बुझाउन खोजिएको छ । त्यसैले यो कृति गम्भीर भएर अध्ययन गरेर वर्तमान माहौलसँग तुलना गर्न खोजियो भने नेपालको भविष्यको मार्गचित्र प्रष्ट देखिनेछ ।

नेपाली साहित्यमा पढ्ने मान्छे कति पाउनु भएको छ विगतको तुलनामा ?

पढ्ने संख्या बढेको छ । पहिला–पहिला लेखकले प्रकाशन गरको एक हजार कृति बिक्री नभएर बाँड्दै हिँड्नु पर्थ्यो । अहिले कृति किनेर पढ्नु पर्छ भन्ने चेतनाको विकास हुँदैछ । तथापि राज्यले पढन सस्कृतिको विकासका लागि कुनै योजना नबनाएकाले नयाँ पुस्ताहरु किताब तर्फभन्दा पनि फोन तर्फ बढी आकर्षित हुँदै गएका छन् ।

अन्त्यमा,

अस्वत्थामा कृति पढ्ने पाठकहरुलाई मुरीमुरी धन्यवाद । उहाँहरुलाई लागेका कुनै पनि राम्रा वा सुधार गर्नुपर्ने विषयहरु भए रचनात्मक सल्लाह, सुझाव मेरो फेसबुक, इमेल वा म्यासेन्जरमा लेखी पढाइ दिनुहुनका लागि अनुरोध गर्दछु ।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू