विदेशमा रहेका विराटनगरवासीमा रथयात्राप्रति चासो

विराटनगर – विराटनगरमा राधाकृष्ण रथयात्राको ५२ औँ संस्करण शनिबार निकालिँदैछ। मुख्यतः श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्राले नगरपरिक्रमा गर्छ।

२०२५ सालदेखि तत्कालिन भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथयात्राको सुरुवात गरेको आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । यसअघि, १९८८ सालबाट खटमा राखेर यात्रा गराइने उनले बताए ।

विज्ञापन

नगरपरिक्रमका क्रममा यसपटकको रथलाई मुख्य बजार हुँदै पुनः मन्दिरमा नै पुर्‍याइने छ । यसक्रममा रथलाई विभिन्न ४० स्थानमा रोकिने र पूरा परिक्रमाका क्रममा अनुमानित ४ घण्टा २० मिनेटको समय खर्चिने बताइएको छ।

यतिबेला रथयात्राको विषय समग्र विराटनगरबासीका लागि मात्र नभएर विदेशमा रहने नेपालीहरुका लागि पनि चासो र महत्वको दिन बन्दै गएको छ। अस्ट्रेलियामा विगत १२ वर्षदेखि बसोबास गर्दै आएका कोशी प्रोजेक्टका दामोदर आचार्यले रथयात्राले विराटनगरका धार्मिक महत्वलाई थप उचाँइ दिने बताए ।

विद्यालय र कलेज पढ्दा जस्तो रथयात्रा देखेका थिए अझैपनि उस्तै नै रहेको बताएका आचार्यले अब रथयात्रालाई केही परिस्कृत बनाउन आवश्यक रहेको सुझाव दिए ।

सिड्नीमा बसोबास गर्दै आएका आचार्यले भन्छन्, ‘एकैपटक परिवर्तन हुनुपर्छ भन्ने होइन्। तर विगत लामोसमयदेखि रथयात्रा जसरी निकालिन्थ्यो। त्यो अवस्था अझैपनि उस्तै छ। यसमा केही परिवर्तन ल्याउन सकिए, सबै श्रद्धालु तथा रथयात्राको गरिमा अझ बढ्थ्यो कि?’

रथयात्राका क्रममा डोरी तान्ने र प्रसादीका लागि भीडमा पुगेको सम्झना गर्दै उनी भन्छन्, ‘विषेश महत्व लाग्छ रथयात्राको समय। डोरी तान्दा पुण्य प्राप्त हुने। पाप कट्ने लगायत। विदेशमा भएपनि यस्ता पर्वहरुमा घरपरिवार साथीहरुको माया धेरै लाग्ने गरेको छ।’

अस्ट्रेलियाकै सिड्नीमा ११ वर्षदेखि बसोबास गर्दै आएका गायक सन्जीव पराजुली रथयात्रा विराटनगरको गौरव भएको बताउँछन्। प्रदेश सरकार, स्थानीय सरकार तथा आयोजक समितिका लागि समेत यस रथयात्रा भ्रमण वर्ष २०२० का लागि महत्वपूर्ण रहेको बताएका पराजुलीले मुखयतः नगर र आसपाससंगै सीमावर्ती भारतीय धार्मिक श्रद्धालु पर्यटकलाई भित्राउन रथयात्राले महत्वपूर्ण भूमिका खेल्न सक्ने दाबी गर्छन्।

त्यसैगरि, न्युजील्याण्डको क्राइस्टचर्चमा बसोबास गर्दै आएका विराटनगर तिनटोलियाका पारस आचार्यपनि धार्मिक आस्थाको केन्द्रविन्दु रथयात्रालाई परिस्कृत गर्न सकिए राम्रो हुने सुझाव दिन्छन्। यसमा परंम्परागत शैलीलाई आत्मसात गर्दै अब आधुनिक प्रविधीलाई समेत रथयात्रामा जोडिनुपर्नेमा जोेड दिँदै उनी भन्छन्, ‘विगत ५० वर्षदेखि यसरी नै रथयात्रा निकालिँदै आइएको छ। अब यसमा ड्रोनको प्रयोग, विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिए विदेशमा रहने विराटनगरवासीसम्म पुग्न सकिन्छ। यसले भ्रमणवर्ष २०२० लाई थप टेवा पुराउन सक्छ।’

सडक पूर्वाधारको सहजतासँगै रथतान्नका लागि लाखौं श्रद्धालु विराटनगरपुग्ने भएकाले यसको प्रचारप्रसार भने जस्तो नभएको उनको गुनासो छ। यसको बृहतरुपमा प्रचारप्रसार गर्न सकिए धार्मिक आस्थाको विषय रथ तान्न श्रद्धालुहरुको घुइँचो हुने बताएका पराजुलीले सुरक्षा अवस्थामा समेत सजग रहन जोडदिन्छन्। तिनटोलिया निवासी पराजुली पछिल्लोसमय संगीत क्षेत्रमा चर्चामा रहेकाछन्।

त्यसैगरि कामको सिलसिलामा डेढमहिना अघि दुबइ पुगेका विजय घिमिरे यसपटक रथयात्राको अनुभव संगाल्ने नपाउने बताउँछन्। विगतमा डोरी तान्न र विभिन्न कार्यक्रममा सरिक हुने गरेको बताएका घिमिरे भन्छन्, ‘विदेशमा रहदाँ रथयात्राको समाचारका लागि तस्विर हेर्दै चित्त बुझाउनुपर्ने बाध्यता छ। प्रचारप्रसारसंगै यसलाई टाढा हुने नेपालीमाझ पुराउन सके गरिमा उत्तिकै बढ्न सक्थ्यो।’

लण्डनमा ११ वर्षदेखि बसोबास गर्दै आएका सिदार्थ चौकका सुमन श्रेष्ठले रथयात्राको महत्वलाई नगरमा मात्र सीमित नहुने बताउँछन्। पछिल्लोसमय जिल्लाका विभिन्नस्थानमा समेत रथयात्रा निकालिने गरेकोमा उनले धार्मिक पर्यटनका लागि सरकारले यसलाई पनि सही पहिचान दिएर प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए।

भारतको जगन्नाथपुरीको रथयात्रापछिको दोश्रो ठूलो रययात्राको रुपमा यसलाई लिइने गरिएको बताएका श्रेष्ठले भारतीय धार्मिक श्रद्धालु भित्राउन भक्तजनहरुसम्म पुग्नु आवश्यक रहने बताँउछन्। यसपटक रथयात्राका क्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गराइने बताइएको छ।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू