दिनदिनै चुक्दै छ सरकार

बामपन्थीहरु गरीब जनताको माझबाट अघि बढेका दलहरु हुन्। खासगरी तल्लो तप्काका जनताको समस्यालाई बुझेर उनीहरुको हितमा तात्कालीन सरकारका विरुद्ध आवाज उठाउँदै सरकारसम्म पुगिसकेका हुन्। जो जुन माध्यमबाट सत्ताधारी बने पनि राष्ट्रहितमा काम गर्ने, भ्रष्टाचारलाई नियन्त्रण गर्ने, बिदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने, विदेशी सेनामा भाडाका सैनिक हुुनबाट रोक्ने, विदेशिएका युवाहरुलाई स्वदेश फर्काएर आफ्नै देशमा रोजगारी दिने भन्ने जनप्रिय नारा दिएर जनताको लोकप्रिय मत प्राप्त गरी झण्डै दुइतिहाइको मतले निर्वाचन जितेका हुन्।

सरकार अहिले पनि युवाहरु स्वदेशमै रोकेर राख्ने राम्रा कार्यक्रमहरु ल्याउनुभन्दा रोजगारका नयाँ गन्तव्य खोज्दै अझ विदेश नै जान प्रोत्साहन गरिरहेको देखिन्छ।

विदेशमा पुगेर अलपत्र परेका हाम्रा कतिपय युवाहरु र चेलिबेटीको बिचल्ली भइरहँदा पनि उनीहरुलाई स्वदेशमा ल्याउने र स्वदेशमै रोजगारीका अवसरहरु दिन सरल नीति र कार्यान्वयनमा अझै पनि सरकार चुकिरहेको छ।

भ्रष्टाचारले आक्रान्त पारेको देशमा नीतिगत भ्रष्टाचार गरिने कार्यलाई रोक्नअझै पनि अख्तियारलाई अधिकार दिन सरकारले हिम्मत गर्न सकेको छैन। शायद आफ्नै नेता या कार्यकर्ता तथा समर्थक पर्छन् भन्ने डरले त होइन? यदि भ्रष्टाचार गर्ने जो कोहि ब्यक्तिलाई पनि सरकारका पक्षबाट सहानुभूति देखाउने या बचाउने सानो प्रयासबाट पनि भ्रष्टाचारीलाई नै मद्दत पुगिरहेको हुन्छ भन्ने सरकारले बुझ्नैपर्छ।

अहिलेको बलियो सरकार र कमजोर प्रतिपक्ष भएको बेलामा सरकार निडरतासाथ जनहितका कार्यमा अघि बढ्नु पर्नेमा केही संवेदनशील घटनाहरुबाट निकै अलोकप्रियताको बाटोमा गइरहेको छ। गत वर्षमा भएको निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न व्यक्तिहरु अहिलेसम्म पक्राउ नपरेकोमा जनआक्रोश नसेलाउँदै लोकप्रिय पत्रकार रवि लामिछानेलाई एकजना अर्को पत्रकार आत्महत्या गर्न बाध्य पारेको भनी अपुष्ट भिडिओको आधारमा थुनामा राखी कारबाही गरिएको छ। परिणामस्वरुप रवि लामिछानेका देशभरिका समर्थकहरु सडकमा उत्रेका छन्।

रवि लामिछाने कुनै दलविशेषमा नजोडिएका जनताका साह्रोगाह्रोमा सघाउने एक साहसी र लोकप्रिय युवा पत्रकारले छोटो समयमै जनताका मनमनमा बसिसकेका व्यक्ति हुन्। सरकारको सत्यतथ्य छानबिनमा जति ढिलाइ भयो, त्यति नै सरकारप्रति जनताको औँला ठडिरहने छ। सरकार सचेत भएर यसलाई बेलैमा टुंगोमा पुर्‍याउने प्रयास शिघ्र गरोस्। नत्र सरकारका वरिपरि बसेका केही अवसरवादी,असक्षम र स्वार्थी व्यक्तिका कारण पुरै सरकार अप्ठ्यारोमा पर्नसक्छ।

पछिल्लो समयमा प्रधानमन्त्रीबाट सदनमा दिएका भाषणबाट धेरै जनता प्रभावित भएका छन्। सानातिना भ्रष्टाचारी धमाधम पक्राउ परेका छन्। ठूला भ्रष्टाचारीहरु कारबाहीमा खासै नपरे पनि केहीलाई अख्तियारले छानबिनबाट अदालतमा मुद्दा दायर गरेकाहरु सजिलैसँग सफाइ पाएर बाहिर आएका छन्। अहिलेको खुला समाजमा प्राय: सबै कुरा पारदर्शी नै हुन्छ। जनताले पनि सरकारले गरेका राम्रा नराम्रा कुरा सबै जानकारीमा राख्छन्। त्यसैको आधारमा सरकारको मूल्यांकन हुुने गर्छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुशासन र मितव्ययितामा गरेको अत्यन्त राम्रो उदाहरण हाम्रो सरकारले पनि कार्यान्वयनमा ल्याउन सके सरकार छिटै लोकप्रिय बन्नसक्छ। पाकिस्तानमा न्यायालयले पनि भ्रष्टाचारमा संलग्नपूर्व प्रधानमन्त्रीलगायतलाई कसुर अनुसारको दण्डको निर्णय गर्दै जेल पठाएका उदाहरणहरु प्रसस्तै देखिए।

नेपालमा धेरै प्रमाणहरु जुटाएर केही वरिष्ट व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएकोमा लामो समयपछिको फैसलामा प्राय: सबैलाई सफाइ दिएपछि भ्रष्टाचार बिरोधी सचेत नागरिकहरु निराश भएका छन्। यसले विद्रोही शक्तिलाई राम्रो मसला दिएको छ। यसमा अदालतले भनाइअनुसार अख्तियारलाई पूर्वाग्रही भएर मुद्दा दायर गरिएकाले सफाइ पाएको भनिएको छ। यदि यसमा सत्यता छ भने अख्तियार पनि अलि बढी सचेत हुनुपर्ने देखिन्छ। नत्र भने जनताले अदालतका विषयमा औंला ठड्याउन सक्छन्।

कुनै पनि जनताको न्याय पाउन अन्तिम थलो भनेको अदालत नै हो। त्यस्तै गरेर भ्रष्टाचार घटाउने अन्तिम अस्त्र पनि अदालतको निर्णय नै हो। जनपक्षीय निर्णयहरुले नै जनताका आवाजको प्रतिनिधित्व गर्नेछ। नत्र फेरि जनविद्रोहको आवाजले समाजमा महत्व पाउनेछ। यस बिषयमा सरकार, सांसद तथा न्यायालयले जनताका आवाजलाई कदर गर्नैपर्छ।

अहिलेको समय ज्यादै संवेदनशील बन्दै गएको छ। सरकारका विरोधीले पनि विरोधको लागि अवसर खोजिरहेको देखिन्छ अनि सरकार पनि पेलेर लाने अबस्थामा रहेकाले यसको समाधान भनेको सरकारले जनताका आवाजको सही समयमा कदर गरेर परिणाममुखी कार्य गरेर जनतालाई देखाउनसक्छ। खासगरि समाजको लागि निस्वार्थ रुपमा कार्य गरिरहेका व्यक्तिहरुलाई सरकारले सहयोगीको रुपमा लिओस्  नकि प्रतिद्वन्द्वी। यस्ता प्रतिष्ठित समाजप्रेमी व्यक्तिले कुनै दलबिशेषको झण्डा नबोके पनि नेपाली जनताको मनमनमा बसेर अघि बढिरहेका छन्।

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्