विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक (तस्बिर र भिडियो)

विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक (तस्बिर र भिडियो)

मोरङ– विराटनगरमा ५२ वर्षदेखि निकालिएको राधाकृष्ण रथयात्राले निरन्तरता पाएको छ। शनिबार अपरान्ह तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित रथयात्रा निकालिएको हो।

यसक्रममा विराटनगर आसपाससँगै भारतको सीमावर्ती क्षेत्र बिहारबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु रथ दर्शनका लागि उपस्थित थिए।

विज्ञापन

विगत झै यसपटक पनि रथले नगर परिक्रमा गरेको छ। मन्दिर परिसर हुँदै मुख्य बजार महानगरपालिका चोक, जलजला चोक, ट्राफिक चोक, जनआन्दोलन चोक, बरगाछी चोक हुँदै पुनः मन्दिरसम्म पुग्नेछ।

७ किलोमिटरको यस दुरीका लागि रथलाई विभिन्न ४० स्थानमा विश्राम गराइएको थियो। कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राको डोरी ताने पुण्य प्राप्त हुने किंवदन्ती रहेको छ।

प्रदेश एकका प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङद्धारा उद्घाटन गरिएको रथयात्राको शुभारम्भ हेलिकप्टरबाट पुष्पवृष्टिसहित गराइएको थियो।

रथको दाँयातर्फको जोडिएको ७५ फिट लम्बाईको डोरी तान्न दायातर्फ पुरुष र बायाँतर्फको महिलाका लागि छुट्टाइएको थियो। रथयात्रालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ बनाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।

याे रथयात्रालाई दक्षिण एशियाकै दोश्रो ठूलो रथयात्रा भएकाे दावी गर्ने गरिएकाे छ। १९८८ साल देखि राधाकृष्णको युगलजोडीलाई खटमा राखेर नगरपरिक्रममा गराइन्थ्यो।

त्यसपछि, २०२५ सालबाट भने स्व.भुपालमान सिंह कार्की र स्व. सत्यनारायण धनावतको पहलमा रथयात्रा सुरु गरिएको छ।

 

भदौ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्