अन्तर्वार्ता

डे‌ंगु केहाे? यसबाट कसरी जाेगिने?

डे‌ंगु केहाे? यसबाट कसरी जाेगिने?

काठमाडाैँ– पछिल्लो समय नेपालमा मात्र होइन, विश्वभर नै डेंगुको सङ्क्रमण बढ्दो छ। केही महिना अगाडि सुनसरीमा देखा परेको डेंगुकाे सङ्क्रमण पछिल्लो समय नेपालका अन्य जिल्लाहरुमा समेत फैलिने क्रम बढ्दै गएको छ।

डेंगुबाट बच्नका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउन थालेको छन्। उपायहरु अपनाउँदा अपनाउँदै पनि धेरै मानिसहरु सङ्क्रमणको जोखिममा रहेको चिकित्सकहरुले बताउने गरेका छन्। त्यसैगरी, काठमाडौँ पनि डेंगुको उच्च जोखिममा रहेको भन्दै सावधानी उपनाउन चिकित्सकले सुझाएका छन्।

विज्ञापन

के हो डेंगु? कसरी बच्ने? यस्तै विषयमा केन्द्रित रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलासँग देश सञ्चार संवाददाता प्रतिभा चन्दले गरेको कुराकानीः

डेंगु भनेको के हो?

डेंगु भनेको एक प्रकारको भाइरल ज्वरो हो। यो डेंगु भाईरस (डिइएन भी) ले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ। डेंगु भाइरसको चार प्रजाति छन्। जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन्।

एक पटक एक प्रकारको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यही प्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रजातिको डेंगू रोग लाग्न सक्छ, र प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ।

कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर सङ्क्रमित रहन्छ।

एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ। तर सङ्क्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुने गर्छन्।

पछिल्लो समय डेंगुको जोखिम काठमाडौँ कस्तो छ?

काठमाडौँका केही क्षेत्रहरुमा लोकल लामखुट्टेहरु नै सङ्क्रमित भएको पाइएको छ। जहाँबाट कहिले पनि उपत्यका बाहिर नगएका व्यक्तिहरुको रगत परिक्षण गर्दा उहाँहरु सङ्क्रमित भएको पाइएको छ।

सबैभन्दा महत्वपूर्ण कुरा मानिसहरुले के बुझ्न जरुरी छ भने यो लामखुट्टेले दिउँसोमा बढी टोक्ने गर्छ। यो बेलामा हामी पनि सक्रिय हुन्छौँ, यो समयमा हामीलाई टोक्दा अगाउँन पाउँदैन र धेरै व्यक्तिहरुलाई टोक्ने गर्छ। जसले यो रोगको भाइरस धेरै व्यक्तिहरुमा सर्न सक्छ र धेरै मानिस सङ्क्रमित हुन सक्छन्।

अहिलेको अवस्थामा काठमाडौँको तापक्रम लामखुट्टेको वृद्धि विकासका लागि एकदमै उपयुक्त छ। भनौँ न मौसम अनकुल छ। अर्को कुरा काठमाडौँका रैथाने मानिसहरुलाई यो भन्दा अगाडि डेंगु भएकाे छैनन्। त्यसकारण यस्ता मानिसहरुलाई डेंगु हुने सम्भावना एकदमै धेरै छ। त्यस कारण सबैभन्दा महत्वपूर्ण कुरा लामखुट्टेको टोकाईबाट बच्न अति आवश्यक छ।

डेंगु सङ्क्रमित व्यक्तिहरुमा कस्ता लक्षण देखा पर्छन्? 

लामखुट्टेले टोकेको वा कुनै पनि व्यक्ति सङ्क्रमित भएको एक हप्तामा विभिन्न किसिमका लक्षणहरु देखा पर्न थाल्छन्।

ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, मासुहरु कर्रकरी लुछ्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, छालामा रातो रातो दागहरु देखा पर्ने जस्ता लक्षणहरु देखिन्छन्।

तर कतिपय मानिस संक्रमित भएर पनि उनीहरुमा डेंगुको कुनै पनि लक्षण नदेखिने समेत हुन्छ। डेंगु भएका कतिपय मानिसलाई फ्लू जस्ता लक्षण देखापर्न सक्छन् भने कतिलाई डेंगु ज्वरो देखिन्छ।

त्यसैगरी एकदमै कम व्यक्तिहरुमा मात्र डेंगुका कारणले हुने जटिलताहरु देखिने हुन्छ। जटिलता भएको खण्डमा मानिसको रक्त नलीबाट प्लाजमा बहिर निस्किने गर्छ।

जसले गर्दा फोक्सो, पेटमा पानी जम्ने, पेट दुख्ने, बान्ता हुने, नाक, आँखा मुखबाट रक्तश्रव हुने, उठ्न नसक्ने, कलेजो सुन्निने जस्ता लक्षणहरु देखिन थाल्छन्।

बिरामीको रक्त संचालन नभएर ब्लड प्रेसर कम भएका कारणले स्वास्थ्यमा समस्या देखिन सक्छ। त्यसकै कारण मृगौला, कलेजो, दिमाग जस्ता अंगले काम गर्न छोड्न सक्छन्। यति मात्र नभएर कहिले काहीँ रक्तश्राव हुने समस्याहरु देखिने गर्छन्।

धेरै मानिसलाई सामान्य डेंगु ज्वराे मात्रै आउने गर्छ भने केही व्यक्तिहरुलाई यसका कारण जटिलता हुने गर्छ।

यसको उपचार पद्धति के छ?

डेंगु भएका व्यक्तिहरु औषधीको रुपमा पारासिटामोलको सेवन गर्नुका साथ साथै प्रशस्त मात्रामा झोलिलो खाने कुराहरु खानु पर्छ। यसको उपचारमा धेरै मानिसहरुले सेतो रतग चढाउनु पर्ने भनेर उस्पताल पुग्ने गरेको पाइन्छ। जुन एकदमै गलत हो। सेतो रगत चढाउनु पर्ने आवश्यक्ता पर्दैन।

तर रक्तश्रव धेरै भएको खण्डमा भने प्लेटलेसको संख्या घटेर जान्छ, यो डिजिजको प्रोसेस हो। बिस्तारै रगतमा प्लेटलेसको संख्या बढ्दै जान्छ। तर धेरै रुक्तश्राव भएको खण्डमा मात्रै हामीले रगत चढाउने गछौँ। नत्र यसको आवश्यक्ता हुँदैन।

यो भनेको भाइरल ज्वरो भएका कारण एन्टिबायोटिकको खासै काम हुँदैन। कुनै व्यक्तिमा अन्य व्याक्टेरियाकाे संक्रिमण हुन सक्छ। यस्तो अवस्थामा भने चिकित्सकले एन्टिबायोटिक चलाउन सक्छन्। अन्यथा डेंगु ज्वरोमा एन्टिबायोटिकको कुनै भूमिका छैन।

कस्ता व्यक्तिमा जटिलता बढी देखिन सक्छ?

दोस्रो पटक डेंगुको संक्रमण भएका व्यक्ति, गर्भवती महिलामा बढी जटिलता देखिन्छ।

यो रोग लाग्नबाट कसरी बच्न सकिन्छ?

– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने

– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने

– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालि दिने साथै जम्मा भएको पानी सफा गर्ने

– फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने

– एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने

– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुका साथै साना केटाकेटीलाई समयमा पनि झुलभित्र सुताउने

– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने

– घरका झ्याल ढोकामा जाली लगाउने

– घर वरिपरी सफा सुग्घर राख्ने पानी जम्ने खाल्डाखुल्डी पुर्ने।

भदौ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू