अस्ट्रेलियामा नेपाली महिलाहरुको तीज दर

सिड्नी-अस्ट्रेलियाको न्युसाउथवेल्य राज्यमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको सबर्ब अर्थात् ठाउँ हो अबर्न।

करिब डेढ लाखको हाराहारीमा रहेका नेपालीहरू अचेल अस्ट्रेलियाको कुनाकुनामा पुगिसकेका छन् तर सिड्नीको केन्द्रबाट करिब २२ किलोमिटर पश्चिममा अवस्थित यो ठाउँले आधिकारिक रूपमा नै सबैभन्दा बढी नेपालीभाषी रहेको अस्ट्रेलियाको सबर्बको रूपमा नाम केही समयअघि लेखाइसकेको छ।

यसको झझल्को सजिलैसँग यहाँका सडक र गल्लीहरूमा केहीबेर हिँड्दाबित्तिकै पाउन सकिन्छ।बाक्लै रूपमा नेपाली पसलहरू, रेष्टुरेन्टहरू तथा नेपालीभाषीहरू यस क्षेत्रमा भेटिन्छन्।

त्यसैले पनि नेपाली चाडपर्वहरू आउनासाथ यो ठाउँलाई पनि नेपालमय हुन मन लाग्छ र यहाँका नेपालीहरू जुट्ने गर्छन् अलिकति नेपाल सम्झिन, केही व्यस्तताको थकान मेटाउन अनि केही मौलिक संस्कृतिलाई जोगाएर मातृभूमिको न्यास्रो मेटाउन।

यस्तै संस्कृतिप्रेम जगाउने जिम्मा यसपटक लिएको थियो अबर्न नेप्लिज कम्युनिटीले। २४ अगष्ट २०१९ तारिख शनिबारको दिन । निकै घमाइलो अनि न्यानो दिन।

सिड्नीवासी नेपालीहरूले यो दिनलाई सिड्नीको लिडकमस्थित वायाट पार्कमा अबर्न नेप्लिज कम्युनिटीले आयोजना गरेको अबर्न तीज महोत्सवमा सहभागी भएर ऐक्यबद्धता जनाए र आफ्नो मौलिक संस्कृतिप्रेममा खुब रमाए।

ख्यातिप्राप्त लोकगायक बद्री पङ्गेनीले उपस्थित सबै दर्शकलाई आफ्ना उत्कृष्ट गीतसंगीतमार्फत् एक दिनका लागि भए पनि मातृभूमिको न्यास्रो मेटाइदिए। प्रकाश सपुतले ‘गलबन्दी’ भाका गाएर दर्शकलाई चिसिंदै गएको साँझमा तताउँदै लगे।

त्यसैगरी प्रीति आलेसँग मिलेर गायक प्रकाश सपुतले दोहोरी र्‍याप ब्याटल गाएर सबैलाई मनोरञ्जन प्रदान गरे भने बुगीउगी विजेता कविता नेपालीले आफ्नो नृत्यमार्फत् सबैलाई भरपुर मनोरञ्जन प्रदान गरिन्।

बिहान ११ बजेदेखि शुरु भएको उक्त तीज महोत्सवमा स्थानीय कलाकार तथा सर्जकहरूको प्रस्तुतीले पनि रौनकता थपेको थियो।नेपाली खानाका परिवारहरूका स्टलहरूका साथै व्यवसायिक स्टलहरू पनि राखिएको सो महोत्सवमा अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति थियो।

एक दिनका लागि भए पनि सिड्नीको वायाट पार्क नेपालमय बन्यो। उपस्थित साना बालबालिका, युवा तथा अभिभावकहरू नेपाली लोकसंगीत तथा सिर्जनाको धुनमा मुग्ध भएर नेपालबाट टाढा रहेको अनुभूतिलाई बिर्सिदै आफ्नो गन्तव्यतिर लागे भने आयोजकहरू दर्शकश्रोताको उपस्थिति तथा मायाले दङ्ग पर्दै आआफ्नो गन्तव्यतिर लागे।

आयोजक अबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अशोक उप्रेतीले कार्यक्रममा उपस्थित समाजका अगुवाहरूलाई स्वागत गर्दै तथा कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पहिलो कार्यक्रम नै यति भव्य भएकोमा आफूहरूले भविष्यमा यस्ता मौलिक पर्व र संस्कृति जोगाउने कार्यक्रम गर्न अझै हौसला तथा प्रोत्साहन मिलेको कुरा बताए।

देशसञ्चारसँग कुरा गर्दै उनले भने, “सिड्नीको सबैभन्दा धेरै नेपालीभाषी बस्ने ठाउँ भएको गौरव प्राप्त गरेका अबर्नवासीले आफ्नो कला, संस्कृति र पर्वहरूलाई यहाँका नयाँ पुस्ता र अघिल्लो पुस्तालाई जोड्ने पुल बनाउनका लागि यो तीज महोत्सवले उल्लेखनीय भूमिका खेलेको महसुस गरेका छौं। आगामी दिनमा अझै भव्य कार्यक्रमहरू गर्न यसबाट हामीलाई भरपुर हौसला र प्रोत्साहन गरेको छ।”

भदौ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्