छठ पर्वपछि वीरगञ्ज महानगरकाे मुख्य सडक बिस्तार गरिने

वीरगञ्ज– छठ पर्वपछि वीरगञ्ज महानगरपालिकाको मुख्य सडक बिस्तार गरिने भएको छ।

सडक विभाग अन्तर्गत रहेको व्यापारिक मार्ग विस्तार योजना पथलैयाले सूचना जारी गर्दै महानगरको मुख्य सडक दायाँ बाँया २५/२५ मिटर फराकिलो पार्ने जनाएको छ।

पटक–पटक सूचना जारी गरेर स्थगित हुँदै आएको सडक विस्तार योजना आगामी छठ पर्वपछि सुरु गरिने भएको हाे।

कार्यालयले जारी गरेको सूचनामा उतर –दक्षिण व्यापारिक मार्ग बिस्तार आयोजना अन्तर्गत परवानीपुरदेखि गण्डक सडकखण्डसम्म विचाराधिन रहेकोमा गण्डक–घण्टाघर–रक्सौल मितेरी पुलसम्म सडक बिस्तार हुने स्वीकृत भईसकेको जनाइएको छ।

त्रिभुवन राजपथको अधिकार क्षेत्रभित्र पर्ने दायाँ बायाँ २५/२५ मिटरको भौतिक संरचना आउँदो कार्तिक १७ गते छठ पर्वकाे दिवा अर्घसम्म हटाई सक्न कार्यालयले सूचनामार्फत आग्रह गरेको छ।

सो अवधिभित्र अतिक्रमित क्षेत्रमा बनाइएका भौतिक संरचनाहरु सर्वसाधारणहरुले आफै हटाएकाे खण्डमा कदर–पत्र समेत प्रदान गरिने कार्यालयले जानकारी दिएको छ।

भदौ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्