मन्त्री र मेयरबीचकाे खिचातानीले बागेश्वरी मन्दिर क्षेत्रमा सटर बनाउने काम राेकियाे

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले बागेश्वरी मन्दिरको पश्चिममा बाटो फराकिलो गर्दा भत्काइएको सटरलाई व्यवस्थित गर्न खोज्दा शहरी विकास मन्त्री मो. इस्तियाक राई ‘स्यालहुँईया’को पछि लागेको बताएका छन्।

‘घरबारी टोलको बाटो फराकिलो बनाउँदा मन्दिरको १६ वटा सटर भत्काउनु पर्‍यो। वर्षौदेखि बसेका उनीहरुलाई राम्रो सटर बनाएर दिन्छौँ भनेर सम्झाइ बुझाई गर्‍यौँ। त्यहीँ नयाँ सटर बनाउन खोज्दा केही मान्छेले गलत बुझेर मन्त्रीजीलाई समेत झुक्याए’, आइतबार आयोजित पत्रकार सम्मेलनमा मेयर राणा भने, ‘उद्घाटनपछि मैले नै कम्प्लेक्स भनेर फेसबुकमा राखिदिएको थिए। त्यही हेरेर मन्दिर परिसरमा कम्प्लेक्स बनाउने भनेर विरोध भयो। मन्त्रीजी उनीहरुकै पछि लाग्नुभयो।’

बागेश्वरी मन्दिरमा सपिङ कम्प्लेक्स बन्दैछ। त्यसलाई रोक्नु पर्छ भनेर केही व्यक्तिले लिखित नै उजुरी गरेपछि मन्त्री राईको अगुवाईमा त्यसलाई रोक्ने काम भएको थियो। अहिले त्यहाँ कुनै काम भएको छैन।

प्रमुख राजनीतिक दलले पनि मन्दिर परिसरमा कम्प्लेक्स बनाउन नहुने राय दिइसकेका छन। खासमा त्यहाँ कम्प्लेक्स नभई सटर नै बनाउन थालेको मेयर राणाले आइतबार पत्रकार सम्मेलनमा खुलासा गरे। ‘बन्ने सटर नै हो। मैले सटर भन्नु भन्दा कम्प्लेक्स भन्दा राम्रो होला भनेर भनेको हुँ, एकथरी उफ्रिहाले’, मेयर राणाले थपे, ‘न्यूरोडमा बन्न थालेको सपिङ कम्प्लेक्सलाई आधार बनाएर पत्र आयो। हामीले बुझाएपछि अहिले सबै ठाउँमा आएका छन्।’

मन्दिर परिसरमा रहेका १६ वटा सटरलाई अर्को बनाइदिन्छु भनेर सम्झौता नगरेको भए घरबारीटोलको बाटो फराकिलो हुने अवस्था थिएन। कहीँ पनि विवाद हुने बित्तिकै एडीवीले हात झिकिहाल्छ। उपमहानगरपालिकाले ती सटर सञ्चालकलाई फेरि पनि सटर बनाएर दिने भनेपछि बाटो फराकिलो गराउन दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्काको सबै प्रक्रिया पुर्‍याएर सटरहरुको उद्घाटन गर्दा विवाद भएको हो। त्यसमा थोरैधेरै मेयर राणाको पनि हात रहेको छ। सटर नै बनिरहेको थियो भने किन कम्प्लेक्स भन्नु पर्थ्याे? सटर बनाउनका लागि १६ जना पसलेसँग दुई/दुई लाख रुपैयाँ अग्रिम लिइएको छ। उनीहरुलाई मासिक १२ हजार भाडा दिनु पर्ने सम्झौता गरिएको छ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मेयर राणाले मन्दिरमा मासिक डेढदेखि दुई लाखसम्म खर्च रहेकाले आम्दानीको स्रोत बढाउनु पर्ने बताए। उनले जुनसुकै मन्दिरको सटरहरु रहने गरेको दावी गरे।

सटरमा जोड दिनुभन्दा मन्दिरको नाममा रहेको ८४ विगाह जमिन हिनामिना भएको छ। त्यसको खोजी गर्ने हो कि ? भन्ने प्रश्नमा मेयर राणाले आफूहरु स्थानीय तहमा निर्वाचित भएर आएपछि नै उपमेयरको संयोजकत्वमा छानबिन समिति गठन गरेर बागेश्वरीको सम्पत्ति खोजबिन थालेपनि दुई वर्षसम्म मालपोत कार्यालयले सहयोग नगरेको बताए।

‘मन्दिरको ८५ विगाह जमिन तीन सय जनाको नाममा गएको छ भन्ने खबर आएको छ, दुई वर्षसम्म हामीलाई मालपोत कार्यालयले सहयोग गरेन, अहिले आएर बल्ल खोजबिनमा सहयोग गरेको छ’, मेयर राणाले भने, ‘केही दिनमा सबै छर्लंङ्ग हुन्छ।’ मेयर राणाले मन्दिरको जग्गा जसको नाममा गएको भएपनि फिर्ता गर्ने उद्घोष गरे।

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज निवासी शहरी विकास मन्त्री राईसँग कुनै मनमुटाव नरहेको प्रष्ट पारेको छ। बागेश्वरीको सटर, शिलालेखमा नाम लेखाउने कुरा, विरुवा रोप्ने ठाउँका विषयहरुमा मन्त्री र मेयरका बीचमा टसल भएको चर्चा रहेको । ‘मन्त्रीसँग मेरो कुनै विमति छैन । व्यक्तिगत र संस्थागत रुपमा राम्रै छ’, मेयर राणाले थपे, ‘खाली केही व्यक्तिले मन्त्रीजीलाई अलमलमा पारेका हुन्।’

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले आव २०७५/०७६ मा सम्पन्न गरेको मुख्यमुख्य काम र भावी रणनीतिका विषयमा पनि प्रष्ट पारेको थियो।

भदौ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्