अमेजनमा रित्तिँदै छ अक्सिजनको अपार भण्डार

ब्राजिलको अमेजन बेसिनका जंगलमा आगलागीका ७२ हजारभन्दा बढी घटना प्रकाशमा आएका छन्। पूरा विश्वको अक्सिजन खपतको २० प्रतिशत अक्सिजन उत्पादन गर्ने अमेजनका जंगल सम्पूर्ण मानवताकै धरोहर हुन्।

ब्राजिलका राष्ट्रपति वोल्सानारो बयान दिने मामलामा नेपाली प्रधानमन्त्री केपी ओलीभन्दा कम छैनन्। अमेजनका जंगलमा भएको आगलागीबारे ओली पाराकै वक्तव्य दिएर राष्ट्रपति वोल्सानारो पनि सोसल मिडियामा ट्रोल भइरहेका छन्।

‘केही एनजिओ मलाई र मेरो सरकारलाई बदनाम एवं असफल बनाउन जंगलमा आगो लगाइरहेका छन्।’

स्वास्थ्य लाभ गरिरहेका हाम्रो प्रमले यो सुन्न पाए भने, ‘मभन्दा पनि टुक्के बादशाह त यो पो रहेछ, यसलाई नभेटेसम्म त मै प्रम भइरहनु पर्छ’ भन्ने आत्मबल जगाउँछन्।

अमेजनका जंगलमा आगलागी हुने घटनामा यसै वर्ष ८३ प्रतिशतले वृद्धि भएको छ। चलिरहेको सन् २०१९ मै यहाँका जंगलमा ७२ हजारभन्दा बढी आगलागीका घटना रेकर्ड गरिएका छन्। यीमध्ये केही प्राकृतिक रुपले भएका हुन् भने केही मानव सृजित घटना रहेका छन्।

ब्राजिलका कैयन राज्य अझै पनि अमेजनका जंगलमा भएको आगलागीबाट निस्किएको धुवाँले आच्छादित रहेका छन्। नासाले उपग्रहबाट प्राप्त गरेको तस्बिरबाट ज्ञात हुन्छ, अमेजोनाज, शेराइमा, रान्डोनिया, पारा र मायेग्रासो राज्य धुवाँबाट गम्भीर रुपले प्रभावित छन्। अमेजनको जंगलमा सल्किएको आगोले अमेजोनाज राज्यमा आपतकाल नै घोषणा गर्नुपर्‍यो।

ब्राजिलको स्पेश एजेन्सी ‘नेसनल इन्स्टिट्युट अफ स्पेस रिसर्च’ का अनुसार यस वर्ष मात्रै आगलागीका ७२ हजार ८ सय ४३ घटना घटेका छन्। सन् २०१८ को तुलनामा आगलागीका घटनामा ८३ प्रतिशतले वृद्धि भएको छ।

ब्राजिलमा अति तीव्र गतिले बढेका आगलागीका घटनाले राष्ट्रपति वोल्सानारोले अख्तियार गरेका नीतिमाथि प्रश्न चिन्ह खडा भएको छ।

अमेजनका जंगल विश्वको सबैभन्दा ठूलो जंगल प्रान्त हो। पृथ्वीलाई ‘ग्लोबल वार्मिङ’बाट जोगाइराख्न यस जंगलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। वैज्ञानिक एवं विश्वका तमाम विशेषज्ञहरुका अनुसार पृथ्वीमा खपत हुने कुल अक्सिजनको २० प्रतिशत अक्सजन अमेजनका जंगलमै उत्पादन हुन्छ। अमेजनका जंगल मध्येका ६० प्रतिशत वर्षा वन ब्राजिलभित्र पर्छन्।

ब्राजिलको स्पेस एजेन्सीका अनुसार उपग्रहबाट प्राप्त तस्बिरले ९ हजार ५ सय ७ आगलागीका नयाँ घटना थाहा हुन आएका छन्।

उपग्रहबाट प्राप्त तस्बिरको अध्ययनले ब्राजिलका उत्तरी राज्य शेराइमा धुवाँ र तुवाँलोको चपेटामा रहेको ज्ञात हुन आएको छ।

अर्को राज्य अमेजोनाजमा परिस्थितिलाई दृष्टिगत गरी ९ अगस्टदेखि आपतकाल घोषणा गरिएको छ।

ब्राजिलको पेरुसँगको सीमानामा अवस्थित शहरलाई १६ अगस्टदेखि उच्च सर्तकता स्थितिमा राखिएको छ।

आगलागीका घटना भाटोग्रासा राज्य र पारा राज्यमा अत्यधिक मात्रामा भएका छन्।

यी दुबै राज्यमा फँडानी तीव्र गतिले भइरहेका छन्। ग्रीष्म याममा जंगलमा आगलागी हुनु प्राकृतिक घटना हो, तर धेरैपटक आगो लगाउने काम स्थानीयजनले पनि गर्ने गर्छन्। आगो सल्केर नष्ट भएको जंगल क्षेत्रमा खेती गर्ने लोभले गरिब, स्थानीय कृषकलाई यस्तो कुकृत्य गर्न हौस्याइरहेको कहालीलाग्दो अवस्था छ।

ब्राजिलमात्रै होइन, विकासशील र अविकसित देशका नेतागण पनि कहिले वासको नाममा, कहिले सुकुम्वासी समस्या समाधानका नाममा त कहिले विकासको नाममा वन फँडानीलाई प्रश्रय दिइरहेका हुन्छन्।

नेपालकै कुरा गरौं, नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकासमुखी योजनाको नाममा यहाँको सरकार बीसौं लाख रुख काट्ने योजनामा लिप्त रहेको छ। योभन्दा दुर्भाग्यपूर्ण अवस्था अरु के नै हुनसक्छ?

सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी भन्छन्, ‘हामी यहाँको रुख काटेर अन्यत्र वृक्षरोपण गर्छौं।’ उनीहरुलाई मेंग्रोभ (MANGROVE) रुख र अन्य रुखको फरक बुझाइ दिने विज्ञहरुको अभाव भएर नै त होला, हाम्रा नेतागण आफ्नो लगायत पूरै देशको जगहँसाइ गराइरहेका छन्।

ब्राजिलमा पनि वोल्सोनारो राष्ट्रपति भएयता (जनवरी २०१९) पछि जंगलमा आगलागीका घटनामा तीव्र बढोत्तरी भएको छ। उनले अख्तियार गरेको नीतिमा अमेजन जंगल क्षेत्रमा खेती र उत्खनन् कार्यलाई प्राथमिकता दिएका छन्। वन फँडानीप्रति उनले आँखा चिम्लेझैं गरेका छन्, शायद उनलाई रुख देशको प्रगतिमा बाधक रहेझैं प्रतीत हुन्छ ।
आगलागीका बढ्दो घटनाक्रमबारे सोधिएको प्रश्नमा  उनी सहज जवाफ दिन्छन्— यो खेती गर्नका लागि जंगल सफा गर्ने बेला भो, त्यसैले कृषकहरुले आगो सल्काएर जंगल वरिपरिको भूमि सफा गरिरहेका छन्।

ब्राजिलको स्पेस एजेन्सी पनि यतिविघ्न आगलागीका घटनालाई प्राकृतिक मान्न सहमत छैन।

स्पेस एजेन्सीसँग सम्बन्धित शोधकर्ता अल्बैर्तो सेत्जेर भन्छन्, ‘यो वर्ष पनि प्राकृतिक हिसाबमा केही ठूलो परिवर्तन भएको छैन। हो, यसपटक अमेजन क्षेत्रमा वर्षा सामान्यभन्दा केही कम भएको हो। हल्ला फिंजाइएको छ अत्यधिक गर्मीले आगलागीका घटनामा वृद्धि भएको हो, तर यसमा कुनै सत्यता छैन। निश्चय पनि ग्रीष्म याममा आगो द्रुत गतिले फैलन्छ। तर, हामीले यो बिर्सन्न हुन्न आगो सल्किनुका पछाडि मानिसकै हात हुन्छ। त्यो जानेर गरिएको होस् वा अन्जानमा दुर्घटनावश यस्तो भएको होस्।’

ब्राजिलका राष्ट्रपति महोदयले देशको स्पेश एजेन्सीका निर्देशकलाई बर्खास्त गरेका छन्। एजेन्सीले अमेजनमा भएका आगलागीका तथ्यांक सार्वजनिक गरेको चित्त नबुझेर राष्ट्रपतिले निर्देशकलाई बर्खास्त गरेका हुन्।

वोल्सोनारोको मतानुसार ‘यी तथ्यांक ठीक छैनन्, त्यसैले म निर्देशकलाई वर्खास्त गर्दैछु। नयाँ निर्देशकको नियुक्तिपछि केही दिनभित्र यस सम्बन्धी नयाँ र सही तथ्यांक सार्वजनिक गरिने छ। यदि नयाँ तथ्यांकले जंगल मासिंदै गएको देखाउँछ भने म त्यसबारे नयाँ ढंगले सोच्नेछु।’

यसका साथै उनले आफ्नो बयानमा यो पनि भनेका छन्, ‘यी आगलागीका घटनाका पछाडि केही एनजीओको भूमिका हुनसक्छ। आगलागीका घटना गराएर उनीहरु म र मेरो सरकारलाई असफल भएको हेर्न चाहन्छन्।’

वोल्सोनारोको यस बयानको सोसल मिडियामा चर्को आलोचना भइरहेको छ।

 

भदौ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्