कसरी जम्मु-कश्मिर भारतमा विलय भयो?

भूराजनीतिका सवालमा अत्यन्त संवेदनशील ब्रिटिस भारत सरकारले आफ्नो औपनिवेशिक स्वार्थ रक्षाका लागि भारतलाई चिनियाँ र रूसी हस्तक्षेप र उनीहरूको रणनीतिक महत्वाकांक्षाबाट सुरक्षित राख्न भारतको सम्पूर्ण उत्तरी भूसीमामा बफर राज्यहरूको दोहोरो तेहोरो शृंखला निर्माण गरेको थियो ।

अघिल्लो लेखमा उल्लेख गरिसकियो-रूस लगातार भारतलाई लक्ष गरेर अघि बढिरहेको थियो र अफगानिस्तानपछि काश्मिर रूस र भारतबिच भरपर्दो बफर थियो।

विज्ञापन

त्यसैले आफ्नो पक्षको कश्मिरको बफर हैसियतलाई सम्मान गर्ने क्रममा  दोस्रो विश्व युद्धको अवधिमा काश्मिरका राजा हरि सिंह ब्रिटिस प्रधानमन्त्री चर्चिलको युद्धकालीन मन्त्री परिषदका सदस्य समेत थिए। (१)

स्मरणीय छ, उनै हरि सिंहका जिजुबाजे गुलाव सिंहले नै लद्दाखदेखि गिल्गिट – बाल्टिस्तानसम्म विस्तारित जम्मु काश्मिर राज्य खडा गरेका थिए र उनको राज्यको सीमाना अफगानिस्तान, सिन्जियाङ् र तिब्बतसँग जोडिएको थियो।

उत्तर पश्चिममा पामिर पर्वत शृंखलादेखि अफगानिस्तान र काश्मिरसम्म रूसको सैनिक महत्वाकांक्षाबाट ब्रिटिस सरकार चिन्तित थियो भने उत्तर पूर्वमा बर्मा र चीनको युनान प्रान्तसम्म फ्रेन्चहरूको त्यस्तै रणनीतिक महत्वाकांक्षाको सामना उसले गर्नु परिरहेको थियो ।

ब्रिटिस भायसराय  लर्ड कर्जन त  सम्पूर्ण एसियामाथि स्वामित्व स्थापना गर्न चाहिरहेको रूस  संसारको छानो मानिने पामिर पर्वत शृंखला हुँदै कसहगर (हाल चीनको सिञ्जियाङ् प्रान्त अन्तर्गतको  एउटा प्रमुख शहर) मा नियन्त्रण गरेरअफगानिस्तान हुँदै काश्मिर र तिब्बतमाथि नियन्त्रण गर्न लागिपरेकोमा विश्वस्त थिए। तसर्थ हरहालतमा रूसको दक्षिणतर्फको गतिलाई रोक्नु पर्नेमा उनी प्रतिवद्ध  थिए। (२)

रसियन विदेशमन्त्री काउन्ट भ्लादिमिर ल्याम्सडोर्फले आफ्नो मुलुकको तिब्बत सरोकारको औचित्य  उल्लेख गर्दै भनेका पनि थिए – ‘रूसको मंगोलियासँग जोडिएको साइबेरियाको बुरियाटिया प्रान्तका जनताहरू दलाई लामालाई आफ्ना पोप सम्झिन्छन्।

त्यसकारण तिब्बतमा अर्को अन्तर्राष्ट्रिय शक्तिको निर्णायक प्रभुत्व स्थापना  र तिब्बतको स्वतन्त्रताको चरित्र र स्तर परिवर्तनकाप्रति रूसको विरोध रहने छ।’ (३)

एकातिर उत्तर पश्चिमतिरबाट रूस र अर्कोतिर दक्षिण पूर्वका मुलुक हुँदै बर्मा भएर चीनको युनानसम्म आफ्नो प्रभाव विस्तार गर्दै आएको फ्रान्सको सामना गर्नुपर्दा ब्रिटिस भारत सरकार एक किसिमको तनावको स्थितिमा थियो र उत्तरपश्चिमको दबाबमा उत्तर पूर्वमा आफ्नो हितमा उपेक्षा गरिरहेको आरोपको मध्य उसले बर्मामा फ्रेन्च प्रभाव रोक्ने समेत उद्देश्यले युद्ध मार्फत बर्मामा आफ्नो शासन स्थापना गरेको थियो।

अङ्ग्रेज सरकारले काश्मिर, हैदरावाद, जुनागढलगायतका  ब्रिटिस भारत सरकारको प्रतक्ष शासन नरहेका पाँच सय ६५ साना र मझौला राज्यहरूलाई भारत र पाकिस्तान मध्ये कुनै एउटा राज्यमा गाभिने वा  स्वतन्त्र भएर रहने विकल्प दिएका थिए।

तीमध्ये ५ सय ४७ राज्य आफू खुशी भारतमा समावेश भए।  १३ राज्य सहजताका साथ पाकिस्तानमा मिले। ट्रावन्कोर, भोपाल, जोधपुर, हैदरावाद र जुनागढलाई सामदाम दण्डभेद नीति अवलम्वन गरेर भारतमा मिलाइएको थियो।

तीमध्ये क्षेत्रफलको हिसावले दोस्रो ठूलो र भूराजनीतिक दृष्टिले सबैभन्दा संवेदनशील जम्मु काश्मिरको सवाल अत्यन्त जटील बन्न पुग्यो।

नेहरू काश्मिरमा हरि सिंहको शासनका कट्टर विरोधी थिए र राजा हरि सिंहको शासनका प्रवल विरोधी शेख अब्दुल्ला नेहरूका परम मित्र थिए।

त्यसैले हरहालतमा महाराज हरि सिंहको शासन अन्त्य गरेर काश्मिरको शासन शेख अब्दुल्लालाई सुम्पिन नेहरू प्रतिवद्ध थिए।

गान्धीजी काश्मिर जानुअघि काश्मिरमा थुनामा रहेका शेख अब्दुल्लाको पक्षमा र  विद्रोही राजनीतिको मनोवल  बढाउने, उनलाई  भेट्ने उद्देश्यले त्यहाँ पुगेका भारतका भावी प्रधानमन्त्री जवाहरलाल नेहरुलाई  हरि सिंह सरकारले २० जुन१९४७मा गिरफ्तार गरेर नजरबन्दमा राखिदिएको थियो। (४)

भारतको स्वतन्त्रता सम्वन्धमा वार्ता गर्न आएको ब्रिटिस क्याबिनेट मिसनसँगको बैठक छोडेर आफ्नो पुर्ख्यौली राज्य काश्मिरका मुसलमान समुदायका नेता अब्दुल्लाको पक्षमा आफ्नो समर्थन प्रदर्शन गर्न काश्मिर गएका नेहरूले आफ्नो  गिरफ्तारीलाई आफ्नो ठूलो अपमान सम्झिए। (५)

विशाल भारतका भावी प्रधानमन्त्रीलाई  गिरफ्तार गर्ने  राजनीतिक इच्छाशक्तिको मूल्य जे पनि हुन  हुन सक्दछ भन्ने कुरा  महाराज हरि सिंह  र उनका प्रधानमन्त्री रामचन्द्र काकले नबुझेका थिएनन्।

तर आफ्नो मुलुकको आन्तरिक राजनीतिमा खुला हस्तक्षेप गर्न आएका नेहरूलाई उनको इच्छा बमोजिम गर्न दिनु पनि मुलुकको अस्मिता र स्वाभिमान विरुद्ध हुने कुराले उनीहरुलाई त्यस किसिमको कठोर निर्णयगर्न वाध्य पारेको थियो।

नेहरूले आफ्नो उक्त अपमानको बदला राजा हरि सिंह र प्रधान मन्त्री काकसँग कुन हदसम्म लिए भन्ने कुरालाई इतिहासले प्रष्ट पारेको छ।

भारतीय नेताहरूको उपेक्षा  उदासीनताको भूमिजम्मु काश्मिर 

राजा हरि सिंह एकैपटक दोहोरो तेहोरो राजनीतिक र रणनीतिक दवावमा थिए।

नेहरू लगायतका भारतीय काङ्ग्रेसको नेतृत्व उनका कट्टर विरोधी थिए नै।

काश्मिर उपत्यकाभित्र शेख अब्दुल्लाको नेतृत्वको मुस्लिम समुदायको विद्रोही गतिविधि मूलत राजा र प्रधानमन्त्रीको हिन्दु पहिचान विरूद्ध लक्षित थियो।

अर्थात त्यसले परोक्षरूपमा साम्प्रदायिक चरित्रलाई प्रतिनिधित्व गरिरहेको थियो।

स्मरणीय छ शेख अब्दुल्ला नेतृत्वको राजनीतिक दलको नाऊ नै पहिला मुस्लिम कन्फरेन्स थियो र पछि रणनीतिक उद्देस्यले  नेसनल कन्फरेन्स नामाकरण गरिएको थियो।

पाकिस्तानका नेताहरू र भारतका गभर्नर जनरल लर्ड माउन्टबेटन काश्मिरलाई पाकिस्तानमा मिल्न दवाव दिइरहेका थिए।

जम्मुका हिन्दुहरू, लद्दाखका वौद्धहरू  र स्वयम् राजा र प्रधानमन्त्री  पनि आफ्नो मुलुकलाई पाकिस्तानमा गाभ्न स्वाभाविक रूपमा इच्छुक थिएनन्।

पाकिस्तानसँग गाभिनुको अर्थ जम्मु काश्मिरको हिन्दु पहिचान र हिन्दु राजबंशको समाप्ति नै हुने थियो।

उता भारतमा गाभिने निर्णय गर्न एकातिर काश्मिरका मुसलमानहरू को भावनाको सवाल थियो र अर्कोतिर नेहरूको  राजा हरि सिंह र प्रधानमन्त्री काकको सम्वन्धमा रहेको तनाव, अविश्वास र शत्रुता पूर्ण दृष्टिकोण

संक्षेपमा भन्दा, दक्षिण पश्चिममा हिन्दु बहुल जम्मु, काश्मिर उपत्यकामा मुसलमानहरू र उत्तर पूर्व लद्दाखमा वौद्धहरूको अत्यधिक वाहुल्यता रहेको जम्मु काश्मिरलाई खासरूपमा  मुसलमानहरूको लागि निर्मित राज्यमा गाभ्ने कुरा कुनै हिन्दु राजालाई आफैंमा सजिलो थिएन।

ऊता मुसलमान बहुल  र पाकिस्तानसँग  जोडिएको काश्मिरलाई हिन्दुस्तानमा गाभ्ने कुरा पनि जटील नै थियो ।

यिनै परिवेशमा राजा हरि सिंह र प्रधानमन्त्री  रामचन्द्र काक  भारतमा गाभिने कुरा सोच्न  र स्वीकार्न सकिरहेका थिएनन्।

काश्मिर स्वतन्त्र रहिरहनु नै एक मात्र उत्तम विकल्प हो भन्नेमा राजा र प्रधानमन्त्री विश्वस्त थिए।

आवश्यक परे उनको मुलुक रूस लगायतका कुनै पनि मुलुकसँग गठवन्धन गर्न स्वतन्त्र रहेको विचार पनि राजा हरि सिंहले व्यक्त गरेका थिए।

भारत र पाकिस्तान दुवैसँग मित्रवत रहेर स्विट्जरल्याण्ड जस्तै स्वतन्त्र तर तटस्थ मुलुकको रूपमा जम्मु काश्मिरको भविश्य राजा हरि सिंहले देखेका थिए। (६)

त्यसो त काश्मिरका मुस्लिम समुदायका नेता शेख अब्दुल्ला पनि काश्मिरको स्वतन्त्रताको पक्षमा थिए,पछाडिको उनको व्यवहारले त्यसलाई पुष्टि पनि गर्दछ।

तर पहिला नै स्वतन्त्र कश्मिर राज्यको माग गर्दा  महाराज हरि सिंह बलियो बन्ने र उनलाई विस्थापित गर्नमा भारतका प्रधानमन्त्री नेहरु र उनको  सरकारको समर्थन नहुने आधारमा उनी काश्मिरको भारतमा हुने विलयनको पक्षमा उभिएका थिए।

त्यसैले शेख अब्दुल्ला पहिला काश्मिरको राज्यसत्ता पहिला आफ्नो हातमा पार्न चाहन्थे ,अनि स्वतन्त्र काश्मिर!

काश्मिरका जन प्रतिनिधिहरूलाई मात्र भारत वा पाकिस्तानसँग मिल्नेबारे निर्णय गर्ने अधिकार रहेको र राजा हरि सिंहले त्यस्तो कुनै निर्णय गर्न नसक्ने दावी पनि शेखले गर्दै आएका थिए। (७)

तर त्यस परिस्थितिमा वैधानिकरूपमा जन प्रतिनिधिहरूको चयन सम्भव थिएन र शेख अब्दुल्लाको माग राजाले आफूलाई सोझै सत्ता हस्तान्तरण गरुन भन्ने थियो र नेहरू पनि त्यही चाहन्थे।

स्वाभाबिक रूपमा हरि सिंहको शासन प्रजातान्त्रिक थिएन तर उनी जनतामा अलोकप्रिय पनि थिएनन्।

आज भारतको सबैभन्दा गरिब प्रान्तमा गणना हुने जम्मु काश्मिर डोग्रा राजाहरूको शासनकालमा उक्त मुलुकले  त्यस अघिको सयौं बर्षसम्म नदेखेको शान्ति र समृद्धिकोविराट युगलाई अनुभव गरेको थियो। (८)

राजा हरि सिंह  स्वतन्त्र कश्मिरको लागि आवश्यक रणनीतिक पूर्वाधार निर्माण गर्दै थिए।

भारत  हिन्दु-मुसलमान वीचको कहालीलाग्दो साम्प्रादायिक हिँसा, मारकाट र विस्थापनलाई  व्यवस्थापन पनि गर्दै थियो।

अर्कोतिर माथि उल्लेख गरे जस्तो  भारत स्वतन्त्र हुनु अगाडि देखिनै एक किसिमले स्वतन्त्र हैसियतमा रहेका साँढे पाँच सय भन्दा बढी राज्यलाई आफूमा  गाभ्न पनि ऊ व्यस्त थियो।

त्यस अवस्थामा भारतीय राष्ट्रिय काङ्ग्रेसका नेताहरूको ध्यान भूराजनीतिक  र भारतीय सुरक्षाको दृष्टिले अहम महत्व राख्ने जम्मु काश्मिरमा पुगेकै थिएन।

काश्मिरसँग पुर्ख्यौली नाता भएको  र आफ्ना अनन्य मित्र शेख अब्दुल्लाको राजनीतिक भविष्यकोलागि  मात्र  काश्मिरमा नेहरूको सरोकार रहेको देखिन्छ।

अन्य केही सन्दर्भहरूले पनि काश्मिरप्रतिको भारतीय राष्ट्रिय काङ्ग्रेसका नेताहरूको उदासीनता प्रष्ट पार्दछ –

हिन्दु राजा र ठूलो सङ्ख्यामा मुस्लिम जनता भएको मुलुकका लागि भारत वा पाकिस्तान दुवैमा गाभिने विकल्प थियो।

महात्मा गान्धीले सार्वजनिक रूपमा नै काश्मिर भारत वा पाकिस्तान दुई मध्ये कुनै एक राज्यमा गाभिन पूर्णरूपमा स्वतन्त्र रहेको दावी गरेका थिए । (९)

जवाहरलाल नेहरुसँगको परामर्श र सहमतिमा उनको साटो काश्मिर गएका गान्धीले त्यहाँ  पुगेर दिएको सो मन्तव्यमा नेहरू लगायतका काङ्ग्रेस नेतृत्वको सहमति रहेको स्पष्टरूपमा बुझ्न सकिन्छ।

त्यसै गरी नेहरू र गान्धीसँग परामर्श नै गरेर काश्मिर गएका भारतका अन्तिम  र स्वतन्त्र भारतका प्रथम सर्वोच्च शासक तथा गभर्नर जनरल लर्ड माउन्टबेटनले काश्मिरका राजालाई यदि उनले पाकिस्तानमा गाभिने निर्णय गरेमा भारतलाईकुनै आपत्ती नहुने र त्यसको विरोध नहुने आश्वासन समेत  दिएका थिए।  (१०)

स्वतन्त्रता पूर्व पनि भारतमा गाभिन इच्छुक राज्यहरूसँग  गाभिने शर्तहरूका बारे छलफल गर्न बोलाइएको बैठकमा काश्मिरलाई बोलाइएको थिएन । (११)

उपरोक्त परिस्थितिले  काश्मिरमाथि आक्रमण गर्न पाकिस्तानलाई प्रेरणा मिलेको हुन सक्ने राजिव डोग्राको विचार छ ।

जम्मु काश्मिरको इतिहासको अत्यन्त संवेदनशील घडीमा  उक्त राज्यको प्रधान मन्त्रीमा नियुक्त भएका र पछि भारतको प्रधान न्यायाधिश पनि भएका मेहर चन्द महाजनले  जम्मु काश्मिरमा प्रधानमन्त्रीको पद ग्रहण गर्नु अघि गभर्नर जनरलमाउन्टबेटन, महात्मा गान्धी, जवाहरलाल नेहरू, वल्लभ भाइ पटेल लगायतका सबै प्रमुख नेताहरूलाई भेट्दा जम्मु काश्मिरले भारतमा गाभिने निर्णय गरेमा त्यसले आफूलाई प्रसन्न बनाउने तर पाकिस्तानमै गाभिने निर्णय गरेमा पनि कुनैआपत्ति नभएको विचार व्यक्त गरेका थिए।

यथार्थमा जम्मु काश्मिरलाई भारतमा विलय गराउने कुनै रणनीति भारतले निर्माण  गरेकै थिएन।

नेहरूको सरोकार शेख अब्दुल्लालाई  सत्ता हस्तान्तरण मात्रै थियो, जम्मु काश्मिरलाई भारतमा विलय गर्नमा उनको कुनै रुचि थिएन। (१२)

.जम्मु काश्मिरमाथिको पूर्ण तयारीको पाकिस्तानी आक्रमण

ऊता पाकिस्तानका सँस्थापक जिन्हा र उनका सहयोगीहरूका लागि मूलत काश्मिर  उपत्यका पाकिस्तानको अविभाज्य अङ्ग  थियो।

यहाँ के विचारणीय छ भने भारतीय मुसलमानहरूकालागि एउटा स्वतन्त्र राष्ट्रको औचित्यबारे बेलायत सरकारको उच्च ओहदामा रहेका मुसलमानहरूले सन् १८७५ देखि नै  उल्लेख गर्न थालेका थिए।  (१३)

१८८५मा भारतीय राष्ट्रिय काङ्ग्रेस  र १९०६मा मुस्लिम लिग स्थापना भए पछि त्यसको पक्षमा संगठनात्मक बल  क्रमश निर्माण हुँदै गयो।

१९३३मा लण्डनमा अध्ययनरत एक  मुस्लिम युवा चौधरी रहमत अलीले पंजाव,अफ्गानिया (उत्तर पश्चिम सीमा प्रदेश),काश्मिर,इरान, सिन्द ,तुर्किस्तान (सिञ्जियाङ्) अफगानिस्तान र बलुचिस्तानको  अक्षरबाट ती सबै भूभाग गाभिने पाकिस्तानराज्यको परिकल्पना गरेका थिए। (१४)

नयाँ  मुस्लिम राज्यको भूगोलको खाका र पारसी र उर्दु भाषामा शुद्धभूमिको अर्थमा  समेत बुझिने पाकिस्तान नाउले  पृथक मुसलमान राज्यको पैरवी गर्ने मुस्लिम लिगलाई त्यस्तो राज्यको एउटा खाका प्रदान गरेको थियो ।

अर्थात काश्मिर त पाकिस्तानको प्रारम्भिक परिकल्पनासँगै जोडिएर आएको भूभाग थियो।

उपरोक्त परिस्थितिमा अक्टोवर २२, १९४७मा  दुई  सय पचास भन्दा बढी बस र ट्रकमा  पाकिस्तानी सेनाका मेजर जनरल अकबर खाँको नेतृत्वमा  पाँच हजार भन्दा बढी विदामा बसेका पाकिस्तानी सैनिकहरू र जम्मु काश्मिरमाथि आक्रमणगर्ने उद्देस्यले गठित सैन्य दलका पठान आक्रमणकारीहरु जम्मु काश्मिरमा  प्रवेश गरे। (१५)

आक्रमणकारी सेनासँग  आधुनिक हतियार र गोला बारूद भएको तर काश्मिरसँग त्यतिखेर जम्मा आठ हजार सेना रहेको र ती मध्ये एक तिहाई मुसलमान रहेका र उनीहरुको अधिकांश हतियार सहित पाकिस्तानी आक्रमणकारीहरूसँगमिल्न  गएकाले कश्मिर सरकार उक्त आक्रामणको सामना गर्न तयार पनि थिएन र उसको सामर्थ्य पनि थिएन (१६)

पछि त्यसमा आजाद  काश्मिर फौजको नाउमा अरु पाकिस्तानी सेना समेत समावेश भएका थिए।

चार दिनमा श्री नगरलाई  नियन्त्रणमा लिने  लक्ष राखेको  सेनाले एक्कासी  जम्मु काश्मिरमा प्रवेश गरेर स्थानीय सुरक्षा  र संचार प्रणालीलाई ध्वस्त पार्दै  बढेका थिए।

स्मरणीय छ, पाकिस्तानले जम्मु काश्मिरमाथि आक्रमणको लागि व्यापक तयारी गर्दै छ भन्ने जानकारी श्रीनगर र दिल्ली सरकारलाई पहिले देखि नै थियो तर आक्रमणको दिन बारे भने उनीहरू अनभिज्ञ देखिन्थे।

उता पाकिस्तान आफ्नो विजयमा यति आश्वस्त र विश्वस्त थियो कि तत्कालको सूचनामा विमानद्वारा  कश्मिरको राजधानी श्रीनगर पुग्ने र २७ अक्टोवरमा  काश्मिरमा पाकिस्तान  पक्षको सरकार गठन गर्ने उद्देस्यले जिन्हा  २६ अक्टोबरमालाहौर पुगेर श्री नगरको सूचनाको प्रतीक्षा गरेर बसेका थिए । (१७)

जम्मु काश्मिरमाथि आक्रमण गर्न गठन गरिएको अस्थायी  पाकिस्तानी सेनामा मूलत अफगानिस्तान-पाकिस्तान सीमा क्षेत्रका पठानहरूलाई रणनीतिक आधारमा समावेश गरिएको थियो ।

एक त उनीहरू अत्यन्त लडाकु समुदायमा पर्ने भएकाले  युद्धमा त्यसको आफ्नै  महत्व  छँदै  थियो ।

अर्को,  त्यतिखेर अफगानिस्तानसँग पाकिस्तानको सम्वन्ध राम्रो थिएन ।

पाकिस्तानले केही अघि मात्रै राष्ट्र सङ्घको सदस्यता  पाएको थियो र  ब्रिटिस  भारत सरकारले निर्धारण गरिदिएको  अफगानिस्तान- पाकिस्तान सीमामाअफगानिस्तानको आपत्ति थियो।

त्यसैले पाकिस्तानको राष्ट्र सङ्घको सदस्यताप्रति अफगानिस्तानको विरोध रहेको थियो।

अफगानिस्तानको सीमा नजिकका पाकिस्तानका पठानहरू पनि छुट्टै स्वतन्त्र राज्यको पक्षमा थिए र अफगानिस्तानले उनीहरूलाई उकास्ने डर पाकिस्तानलाई थियो ।

ती लडाकु पठानहरूलाई अफगानिस्तान -पाकिस्तान सीमा क्षेत्रबाट टाढा पुर्याउंदा त्यसको अर्को रणनीतिक लाभको अवस्था. पाकिस्तानलाई हुने नै भयो ।

यसबाट नियमित पाकिस्तानी सेना प्रयोगबाट  निम्तिन सक्ने अन्तर्राष्ट्रिय कानुनी जटीलताबाट पनि मुक्त हुन सजिलो भयो र हिन्दु शासकको कब्जाबाट आफ्नो धार्मिक समुदायलाई मुक्त गर्ने पवित्र दायित्वको नाउमा उनीहरूलाई सजिलै प्रेरित गरिएको थियो ।

साथैमा युद्धहरूमा  पठानहरूको  प्रमुख आकर्षण रहने गरेको लुटपाटको अवशरको लोभ पनि उनीहरूलाई देखाइएको थियो (१८)

काश्मिरमा प्रवेश गरेपछि पाकिस्तान पक्षका विद्रोहीहरू लुटपाटमा संलग्न हुन थाले, आफ्नै मुलुकमा लुटपाटमा संलग्न उनीहरूको पक्षमा  स्थानीय काश्मिरी सेना विस्तारै पछि हट्न थाले ।

यसैवीच पाकिस्तानी लडाका दल जम्मु काश्मिरको सीमा क्षेत्रमा प्रवेश गरेको दुइ दिन पछि अर्थात अक्टोबर २४ को साँझमा मात्र  भारत सरकार र काश्मिर सरकारलाई त्यस्तो आक्रमणको सूचना प्राप्त भयो ।

श्रीनगरमा पुगेर पाकिस्तानी झन्डा फहराउने  र जम्मु काश्मिरमा  पाकिस्तान समर्थक सरकार गठन  गर्ने तयारीमा बसेका जिन्हाले भारतको सम्भावित प्रतिक्रियाको अनुमान गर्ने नै भए ।

त्यसैले उनले पाकिस्तानी सेनाका प्रधान सेनापतिलाई तत्काल श्री नगरबाट जम्मु जाने मार्ग र बनिहाल भन्ज्याङ कब्जा गरेर श्रीनगरलाई  नाकाबन्दीगर्ने र सम्भावित भारतीय आक्रमणलाई अर्थहीन बनाउने आदेश दिएका थिए ।

तर पाकिसानी सेना प्रमुखले आफ्नो सेना त्यसको लागि तयार नरहेको बताएर उक्त सम्भावनालाई क्षीण बनाइदिए । (१९)

यहाँ के स्मरणीय छ भने स्वतन्त्र भारतका प्रथम गभर्नर जनरल लर्ड माउन्टबेटन भए जस्तै पाकिस्तानी सेनाका प्रधान सेनापति सर फ्र्यांक मेसर्वी थिए र त्यतिखेर पाकिस्तानी सेनाका कार्यवाहक प्रधान सेनापतिको  पदमा  जनरल सर  डगलसडेभिड ग्रेसी थिए ।

उनले  दुई  मुलुक वीच युद्ध उत्पन्न गराउने प्रकृतिको कुनै पनि आक्रमणमा आफ्ना सेनालाई सरिक गराउनु पूर्व आफ्ना सर्वोच्च सेनापति ( सुप्रिम कमाण्डर )को अनुमति आवश्यक रहेको बताएका थिए । (२०)

यो लेखको पहिलो भाग पनि हेर्नुहोस्:

जम्मु–कश्मीरको भूराजनीति : विगत र वर्तमान

त्यतिखेर भारतीय र पाकिस्तानी  सेनाका सर्वोच्च सेनापति एकै व्यक्ति थिए – अतिरथी अर्थात फिल्ड मार्शल  सर क्लाउड  जोन अचिन्लेक ।

उक्त घटनापछि पाकिस्तानी सेना प्रमुखको अनुरोधमा अति रथी अचिन्लेक लाहोरमा गएर जिन्हालाई सैन्य नियम र जम्मु काश्मिरको  भारतमा  भएको  विलय र त्यसको  विविध राजनीतिक  र कानुनी पक्षबारे जिन्हालाई आश्वस्त पार्ने कामगरेका थिए ।

ब्रिटिस प्रधान सेनापतिले जिन्हाको आदेश पालना नगरे पनि पाकिस्तानी सैन्य अधिकृतको नेतृत्वमा  विभिन्न स्थानमा तैनाथ पाकिस्तानी सेनालाई जिन्हाले जम्मु कश्मिरमा स्थिति नियन्त्रणको लागि र विद्रोही सैन्य दलको ब्याकअपको रूपमाउपयोग गरेका थिए ।

स्पष्ट थियो- पाकिस्तान सरकार र सेनाको सहयोग बिना पाकिस्तानको  उत्तर पश्चिम क्षेत्रका लडाकु  त्यसरी जम्मु काश्मिर सम्म आधुनिक हातहतियार र तोप गोला सहित आइपुग्न सम्भव नै  थिएन।

शेख अब्दुल्लाकोलागि भारतले जम्मु काश्मिरमा गरेको सैनिक हस्तक्षेप 

पाकिस्तानका सँस्थापक नेता तथा गभर्नर जनरल जिन्हाले पनि जम्मु  काश्मिरका  राजा हरि सिंहलाई फकाउने अनेक प्रयत्न गरेका थिए।

उनी आफ्नो राज्यका एक मात्र प्रभुसत्ता सम्पन्न व्यक्ति भएको हैसियतमा उनले नेसनल कन्फरेन्सका नेता लगायत कसैको कुरा सुन्नु आवश्यक नभएको बताउने गरेका थिए।

आफ्नो स्वास्थ्यमा सुधारको लागि काश्मिर जस्तो स्थानमा आराम गर्ने इच्छा पनि उनले राजा  सिंह समक्ष राखेका थिए ।

त्यसरी काश्मिरमा गएर बस्न मिल्यो भने आफ्ना उच्व्चाधिकारी र अन्य आवश्यक दलबल सहितको त्यो बसाईलाई जम्मु काश्मिरलाई पाकिस्तानमा गाभ्ने रणनीतिको अङ्ग  बनाउन सकिने उनको विश्वास थियो।

तर राजा हरि सिंहले त्यसलाई सम्मानपूर्वक अस्विकार गरिदिएका  थिए।

जिन्हाले त्यसलाई आफ्नो अपमानको रूपमा  लिए।

पाकिस्तान सरकारका उच्च अधिकारीहरू जम्मु- काश्मिर सरकारका उच्चाधिकारीहरूलाई भेटेर फकाउने, तर्साउने र  उनीहरू मार्फत  आफ्नो मुलुकलाई पाकिस्तानमा गाभ्न आकर्षण, दवाव र धम्की सबै दिइरहेका थिए । (२१)

कास्मिरको नाकाबन्दी गरेर उपभोग्य बस्तुहरूको अभाव सिर्जना गराएर  जनतामा हरि सिंह शासनकाप्रति विद्रोह गराउने पनि पाकिस्तानी डिजाइन थियो । (२२)

पाकिस्तानको सीमा नजिकका जम्मु काश्मिरका हिन्दु गाउँहरूमा आग जनी र लुटपाट गर्दै, साम्प्रदायिक दङ्गा मच्चाउँदै   पाकिस्तानी आक्रमणकारीहरू  अघि बढिरहेका थिए । (२३)

राजा र प्रधानमन्त्रीलाई अपहरण गरेर बलपूर्वक पाकिस्तानमा गाभ्ने निर्णय गराउने पनि उनीहरूको रणनीति थियो । (२४)

जम्मु काश्मिरका राजा हरि सिंहले आफ्नो मुलुकमाथि भएको आक्रमणको सामनागर्न भारत सरकारसँग सैन्य सहयोग मागे ।

भारत सरकारको उच्च  राजनीतिक तह सुरक्षा समितिमा जम्मु   काश्मिरमाथि भएको आक्रमणविरूद्धको रणनीति तयार गर्न  र सो सम्वन्धी निर्णय गर्दागर्दै दुई दिन बित्यो।

अन्तत: २७ अक्टोबरको दिन पाकिस्तानी ऐन्य दलले श्रीनगर हवाई मैदानलाई नियन्त्रणमा लिनु केही अघि मात्रै भारतीय  सेनाको शिख बटालियन  हवाई जहाजबाट श्रीनगर  विमान स्थलमा ओर्लिन शुरु गर्यो  र जम्मु काश्मिरमा नयाँ इतिहासको रचना भयो । (२५ )

जम्मु काश्मिरको सवालमा भारतीय प्रधानमन्त्री  नेहरू कतिसम्म  दुविधा तथा अन्यौलग्रस्त र निर्णयविहीन थिए भन्ने कुराको एउटा उदाहरण तत्कालीन जम्मु काश्मिरका प्रधानमन्त्री  र पछि  भारतका प्रधान न्यायाधिश मेहर चन्द महाजनको उल्लेखबाट बुझ्न सकिन्छ ।

महाजन अनुसार पाकिस्तानी आक्रमणकारीहरू जम्मु कश्मिरको गृष्मकालिन राजधानी श्रीनगर कब्जा गर्ने अवस्थामा पुगिसकेका थिए ।

श्रीनगरमा व्यापक, त्रास र आतंक फैलिएको थियो।

आक्रमणकारीहरूले बाटोमा पर्ने गाउँ बस्ती जलाउँदै , लुटपाट र हत्या मच्चाउँदै  श्रीनगरतर्फ बढिरहेको अवस्थामा श्रीनगर उपत्यका जोगाउन र जनताको जीवन र सम्पत्तिको रक्षाका लागि जस्तोसुकै बलिदान गर्न पनि राजा हरि सिंह प्रतिवद्ध थिए ।

त्यसै क्रममा जम्मु काश्मिरका प्रधान मन्त्री मेहरचन्द महाजन  राजा हरि सिंहको आदेश अनुसार  भारत सरकारका उच्च  नेतृत्व सँग वार्ता गर्न दिल्ली गए ।

जम्मु कश्मिरको गृष्मकालीन राजधानी अर्थात काश्मिर उपत्यकाका  जनताको जीवन सम्पत्तिको रक्षा गर्न र श्रीनगरलाई ध्वस्त हुनबाट जोगाउन राजा हरि सिंह जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएर त्यसकोलागि दिल्लीसरकारसँग जस्तो सुकै सम्झौता गर्ने आदेश आफूलाई भएको कुरा उनले नेहरूलाई  बताए ।

प्रधानमन्त्री  नेहरू, उप प्रधान तथा गृहमन्त्री पटेल लगायतका उच्च नेतृत्वसँग मेहर चन्दले आफ्नो कुरा राखेर काश्मिरका जनाताको रक्षाका लागि तत्काल  सेनालाई विमानबाट श्रीनगर ओराल्न अनुनय विनय गरे ।

त्यस्तो अनुरोधपछि पनि घरी यो कुरा र घरी त्यो कुरा गरेर नेहरूले अल्मल्याउने कुरा गरिरहेपछि महाजनले भने –

‘हामीलाई सेना पठाइदिनुस्, जम्मु काश्मिरलाई भारतमा गाभ्न परे पनि गाभ्नु होस् , जनताको नाउमा जो सुकैलाई ( शेख अब्दुल्ल्लाई सङ्केत गरेर ) जति शासनाधिकार दिनु परे पनि दिनुहोस तर आज साँझ सम्म  भारतीय सेनालाई विमानबाटश्रीनगर पुर्याइदिनु होस्।’

(श्री नगर जाने सडक मार्ग पाकिस्तानी आक्रमणकारीको नियन्त्रणमा पुगि  सकेको र सडक मार्गबाट सेना पुग्न ढिला समेत हुने भएको अवस्था थियो।)

जति अनुनय विनय गर्दा पनि नेहरू  टसमस नभए पछि अन्त्यमा जम्मु काश्मिरका प्रधानमन्त्री महाजनले  भारतीय प्रधानमन्त्री  नेहरूलाई भने –

“श्रीनगर जोगाउन आज साँझसम्म  भारतीय सेना  नपुग्ने हो  भने  मलाई  लाहोर गएर पाकिस्तानका सर्वोच्च शासक मुहम्मद अली जिन्हासँग  जस्तो सुकै सम्झौता गरेर पनि  काश्मिरी जनताको रक्षा सुनिश्चित गर्ने आदेश छ।”

महाजनको कुरा सुनेर नेहरू अशान्त जस्ता देखिए र क्रुद्ध आवाजमा  महाजनलाई  “गए हुन्छ पाकिस्तान गइ हाल्नोस्” भने।

महाजन बसेको ठाउँबाट जुरुक्क उठे र कोठाबाट बाहिर निस्कँदै थिए,  गृह तथा उप प्रधानमन्त्री सरदार पटेल  हत्तनपत्त उनको बाटो छेक्न आइपुगे  र  कानमा खुसुक्क भने – ‘महाजन तपाँई पाकिस्तान  जानु पर्दैन।’

त्यत्तिनै खेर नेहरूको हातमा एउटा सानो चिर्कटो कागज आइपुग्यो।

नेहरूले त्यसलाई पढे र सबैले सुन्ने गरी भने – शेख अब्दुल्लाले पनि भारतीय सेना पठाउने सम्वन्धमा  सहमति व्यक्त गर्नु भएको रहेछ।

महाजन अनुसार शेखसँगैको अर्को कोठामा बसेर उनीहरूका कुरा सुनिरहेका रहेछन्। (२६)

महाजनको प्रस्ताव उनका लागि नयाँ सम्भावना लिएर आइरहेको थियो भन्ने कुरा उनले नबुझ्ने कुरै भएन।

त्यसपछि आफू ढुक्क भएको महाजनले लेखेका छन्।

त्यसपछि नेहरूले सुरक्षा परिषद्को बैठक बोलाए र अक्टोबर २७मा (महाजन -नेहरू वार्ताको दुई दिनपछि मात्रै) अर्थात समय धेरै भिड्काएर अर्थात पाकिस्तानी आक्रमणकारीहरूले श्रीनगर विमानस्थल कब्जा गर्न मात्रै बाँकी रहँदा  श्रीनगरमा  भारतीय सेना झर्‍यो।

क्रमशः

सन्दर्भ सूची:

(१) एम.जे. अकवर,इन्डिया दी सीज विदीन, पेङ्गुइन बुक्स, १९८५, पृष्ठ २२९ .

(२) फ्रेडरिक ए. ग्रिनहट द्वितीय – दी तिबेतियन फ्रन्टियर्स क्वेस्चन – फ्रम कर्जन टु कोलाम्बो कन्फरेन्स, एस चन्द एण्ड कम्पनी, (मिति नभएको) पृष्ठ १७.

(३) फ्रेडरिक ए. ग्रिनहट, ऐजन पृष्ठ १९-२०.

(४) एम. जे. अकवर ऐजन पृष्ठ २३०.

(५) अलासटेयर ल्याम्ब -क्राइसिस इन कश्मिर १९४७ टु १९६६,  रुटलेज एण्ड केगान पल, लण्डन, १९६६, पृष्ठ ३९.

(६) राम चन्द्र गुहा – इण्डिया आफ्टर गान्धी दी हिस्टोरी अफ वर्ल्ड्स लार्जेस्ट डेमोक्रेसी, पिकाडोर, २००८, पृष्ठ ६२ – ६४.

(७) गुहा ऐजन पृष्ठ ६३.

(८) जोन केयी : इन्डिया – अ हिस्टोरी  फ्रम दी अर्लियस्ट सिभिलाइजेसन्स टु दी बुम अफ ट्वेन्टी फस्ट सेन्चुरी, हार्पर प्रेस २०१०, पृष्ठ ४२३.

(९) एम. जे. अकवर – इन्डिया दी सीज विदीन, पेङ्गुइन बुक्स, १९८५, पृष्ठ २३२.

(१०)   एच. भी. हड्सन – दी ग्रेट डिभाइड ,  हचिन्सन  लण्डन , १९६९ पृष्ठ ४४४.

(११)  हेर्नुहोस विभिन्न मुलुकमा  राजदुत रहेका  पूर्व भारतीय कूटनीतिज्ञ  र पत्रकार तथा लेखक  राजिव डोग्राको भारत-पाकिस्तान सम्वन्धमा अत्यन्त आधिकारिक मानिने पुस्तक  – ह्वेर बोर्डस ब्लीड , एन इन्साइडर्स  अकाउन्ट अफ इन्डो-पाकरिलेसन्स, रूपा,२०१५ पृष्ठ-६६.

(१२) लुकिङ्ग ब्याक – दी अटोबायोग्राफी अफ मेहर चन्द महाजन : फर्मर चिफ जस्टिस अफ इन्डिया, एसिया पब्लिसिङ् हाउस , १९६३, पृष्ठ २६६,२६८.

(१३) सी.आई युजेन किम र लरेन्स जिरिङ्- एन इन्ट्रोडक्सन टु एसियन पोलिटिक्स,प्रेन्टिस हल अफ इण्डिया (इन्डियन रिप्रिन्ट),१९७९, पृष्ठ १८१.

(१४) किम र  जिरिङ्, ऐजन पृष्ठ १८४.

(१५) डोग्रा ऐजन उही पृष्ठ.

(१६) एच. भी.  हड्सन, ऐजन पृष्ठ ४५१.

(१७) ड़ोग्रा ऐजन, सोही पृष्ठ.

(१८) एम. जे. अकवर ऐजन , पृष्ठ २३७.

(१९) हडसन् ऐजन पृष्ठ  ४५७.

(२०) हडसन ऐजन, उही पृष्ठ.

(२१) लुकिङ ब्याक (महाजन),ऐजन,२६५.

(२२)लुकिङ ब्याक (महाजन),ऐजन, पृष्ठ २६८.

(२३) लुकिङ ब्याक (महाजन),ऐजन २७१.

(२४) लुकिङ ब्याक (महाजन),ऐजन,महाजन २७२.

(२५)  अलास्टियर ल्याम्ब ऐजन, पृष्ठ ४५.

(२६) लुकिङ ब्याक (महाजन),ऐजन पृष्ठ १५१-१५४.

(भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस)सँग सम्वद्ध छन्।)

भदौ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्