रविको जुलुसमा जाँदा हिरासतमा

आइजी साप्, प्रहरी भ्यानमा कोचेपछि यातना दिनैपर्छ?

भदौ ९ गते दिउँसो १ बजेसम्म आमाको स्वास्थ्य बीमा प्रक्रिया र दाबीको काम पूरा गरेर लगभग आधा घण्टा घरमा आराम गरेपछि एकजना छिमेकी शुभचिन्तक मामाको घरमा गएँ। रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलन हेर्न जाउँ न भनेर मैले मामालाई भनेँ। उहाँ र म निस्कियौँ। निशेषित क्षेत्रका ठाउँहरु बाहेक सेरोफेरोको ठाउँहरु मोटरसाइकलमै  घुम्यौँ।

‘यता घुम्न उचित छैन, जाउँ’ भन्ने मामाको दबाबलाई नकार्दै सुरक्षित लागेको स्थानमा मोटरसाइकल पार्क गरेर बस्यौँ।

विज्ञापन

हामी रहेको ठाउँको ठिक पारि आर्मी ब्यारेकको कम्पाउन्डबाहिर ४/५ जना प्रहरीले १/२ जनालाई यति निर्मम तरिकाले पिटे कि त्यो दृश्य देखेर एकैछिनमा भिड जम्मा भयो। प्रायको हातमा ढुङ्गा थियो। त्यो भिडलाई ढुङ्गा नहान्न आग्रह गरेँ। क्षणभरिमै त्यो भिड तितरबितर भयो। भिड मेरो आग्रहलाई स्वीकार गरेर तितरबितर भएको हैन, पुलिस आइपुगेको देखेर रहेछ। म भने त्यहीँ उभिएर त्यो दृष्य हेरिरहेँ। फेरि अर्का २/३ जना प्रहरीले एकजना महिलालाई यति निर्दयतापूर्वक पिट्यो, एक प्रकारको कहालीलाग्दो दृश्य थियो त्यो।

ममा पनि आक्रोश पलायो। आक्रोशित मेरो तनमनले सहन सकेन। सामान्य अवस्थामा उचाल्न नसक्ने ढुङ्गा मेरो हातले कसरी उठायो कुन्नि, केही चेतावनीका शब्द सहित त्यो देखिँदै नदेखिएको भिडलाई बोलाएँ। त्यो गह्रुंगो ढुङ्गा प्रहरीको हुलसम्म पुर्‍याउने बल त ममा थिएन नै, न त प्रहरीको आँखा फुटालिदिने मेरो अभिप्राय नै थियो ।
मेरो खाली आशा भनेको मैले त्यत्ति गर्दा ती महिला निर्मम यातनाबाट मुक्त हुन्छिन् कि भन्ने मात्र थियो।

मैले अड्कल नै काट्न सकिन। पुलिसको गाडी केही सेकेण्डमा म भएको ठाउँमा आइपुग्छ र उनीहरुको मुख्य टार्गेट म नै हुन्छु भन्ने कुरो। त्यसैले मैले भाग्ने जरुरी पनि देखिन।

जुन दृश्य, जुन यातना मैले देखेँ, त्योभन्दा दुईगुणा चार्ज त गाडीमा चढ्नु पूर्व नै गरिहाले पुलिसले मलाई। ‘म आफैँ चढ्न सकिहाल्छु नि, किन तान्न र धकेल्न पर्‍यो’ भन्दा लात्ताले धकाले र कपालमा समातेर ताने।

चार जनाले भित्रको दृश्य नदेखियोस् भनेर पछाडि पट्टीको खुल्ला ठाउँ ब्लक गर्दा रहेछन् र बाँकीले अन्धाधुन्ध प्रहार गर्दा रहेछन्। प्रतिवाद गर्न नहुने नियम हुँदोरहेछ तर मेरो बानीको कारणले होला थप यातना भोगेँ मैले। गाडीभित्र उनीहरुले एउटा सदाशयता या मानवता चाहिँ देखाए। ‘मेरो पानीको बोटल खसेछ, पानी खान दिन्छौ भाइ हो’ भन्दा पानीचाहिँ दिए। लगभग २०–२५ मिनेट गाडीमा घुमाएपछि एउटाले ‘छोड्दे यसलाई’ भन्दै थियो तर अरु धेरैले ‘छाड्न हुन्न यसलाई’ भन्दै अपराधीलाई झैं घिसार्न खोजे। त्यहाँ ठूलै प्रतिवाद गरेँ मैले। बाहिरबाट देख्ने कोही न कोही त होला नि भन्ने आशाले बल प्राप्त भएको थियो ममा। ठूलो गाडीबाट सानो गाडीमा पल्टी गर्ने बेलाको कुरो हो यो।

सानो गाडीमा चढेर हिरासत भित्रसम्म कुनै पनि किसिमको यातना भोग्नु परेन मैले।

हिरासत भित्र रहँदा

सामान्य प्रक्रिया पुर्‍याएर हिरासत कक्षभित्र छिराइयो। फरक खालका अनुहारहरु थिए भित्र। ‘चप्पल हातमा समातेर खुट्टा धोएर, चुप्प लागेर बस’ प्रहरीको भन्दा पनि कडा शैलीले आदेश दियो एउटाले। रविको समर्थकहरु आउने क्रम बढ्दै गयो, आउनेजस्ता प्रायलाई मैले सोधपुछ गरेँ। कहाँ, कसरी, किन?

‘ढाडको फिजियोथेरापी गरेर आउँदै थिएँ। थेरापीको पूर्जा देखाउँदा पनि समातेर ल्यायो दाइ।’

‘बैंकबाट फर्केर मोटरसाइकल माथि बसिरहेको थिएँ, च्याप्पै घाँटीमा समात्यो। गाडीभित्रै झ्याप्पै हाल्यो। मोटर साइकल अनि सँगै आएकी श्रीमती कता छन्? के हो, के हो दाइ?’

समयसमयमा पक्रेर ल्याइएकाहरुलाई भित्रै पनि यति निर्मम तरिकाले पिटिएको छ कि प्रतिवाद गर्न पनि ती संगिन अपराधमा आरोपी बन्ने खतरा देखेँ मैले। जो अलि पुरानो अथवा हिरासतमा २०–२५ दिनदेखि थियो- एउटाले लगभग १५ मिनेटको मन्तब्य पनि दियो। ‘हेर केटा हो, मान्छे मारेर आएको हुँ। बढी नबोलीकन बस, चुप लागेर बस, मलाई केही कुराको डर छैन।’

‘भातको भड्डु त देखेको थिएँ तर के खाई भो र भन्ने लाग्यो, फेरि पैसा पनि त लाग्दो हो नि भन्ने सोचेँ, गोजीमा ५० रुपैयाँ थियो। पैसा लाग्दैन भन्ने बुझेँ। भोक पनि थियो, त्यसैले एक छाक भातचाहिँ बजाइदिएँ।

लगभग १०–११ बजेतिर पालैपालो नाम बोलाइयो । बाहिर निकालेर जोडी बनाएर हत्कडी लगाइयो। फेरि के गर्न लाए भनेको स्वास्थ्य परीक्षणको लागि अस्पताल लग्न लागेका रहेछन्। प्राय साथीहरु ल्याप्चे लाउँदै निस्किए। मलाई पनि ल्याप्चे लगाउने भनिएको थियो। तर प्राय: आइराख्ने हस्पिटल भएकाले ल्याप्चे मात्र लाउने हो कि घाउ चोट के कति छ त्यत्तापट्टि पनि सोच्ने हो भनेर सोध्दा बाहिर देखिएको सामान्य घाउहरुमा ‘बेटाडिन’ दल्दिए, झन पीडा भयो, ठिकै छ औषधि हो भनेर चित्त बुझाएँ।

‘भातको भड्डु त देखेको थिएँ तर के खाई भो र भन्ने लाग्यो, फेरि पैसा पनि त लाग्दो हो नि भन्ने सोचेँ, गोजीमा ५० रुपैयाँ थियो। पैसा लाग्दैन भन्ने बुझेँ। भोक पनि थियो, त्यसैले एक छाक भातचाहिँ बजाइदिएँ।

दैनिक खाने धेरै औषधिहरुमध्ये निन्द्रा लाग्न सहयोग गर्ने औषधि पनि थियो। कुनै पनि औषधि खाने चान्स पाइएन। ‘ए दाइ, नघुरीकन सुत्नुस् न’ भन्ने आवाजले झस्कायो अनि म निदाएछु भन्ने पत्ता लगाएँ।

छुट्ने निश्चित भयो। बन्द कोठाबाट त निकालियो तर चार घण्टाको प्रतीक्षापछि भात खाएको २ सय रुपैयाँ तिरेर बिनाशर्त छुट्टियो। भात आफूले खाँदै नखाएको, त्यसैले आफू पैसा नतिर्ने पक्षमा रहेको अडान लिँदा, धेरेको नजरअगाडि उक्त व्यक्तिले पुलिसको लठ्ठी खाएको पनि सुनियो।

यी विविध कुराहरु सिसी क्यामेराभित्र कैद त छैनन् तर हिरासतभित्रको आवाज यदि त्यहाँ रहेको सिसी क्यामराले कैद गरेको छ भने हेर्न सकिएला। यदि कंगारु होटलकोजस्तो बिग्रिएको क्यामरा हुन् भने त भन्न सकिन्न। बाँकी कुरा त गीता छोएर साक्षी राखेर भन्न सक्छु।

आइजी साहेब आएर हिरासत निरीक्षण गर्नुभयो, सबै कुरा राम्रो देख्नु भयो होला, चर्पीको व्यवस्था पनि राम्रो छ। सफा कोठा छ। तर त्यहाँ भित्रको सुरक्षा जानकारी उहाँले कसरी मूल्याङ्कन गर्नुभयो?

अर्को कुरा, कञ्चनपुर हुनबाट जोगाउनु भो, उत्कृष्ट पुलिसिङ क्षमता भएको अधिकृत हुनुहुँदो रहेछ दानबहादुर मल्ल भने आवाजहरु पनि सुनियो। तर थोरै श्रेय रवि लामिछानेले गरेको आग्रहलाई बेलाबेलामा सम्झँदै आक्रोशलाई दबाउँदै आन्दोलनमा उत्रिएका रविका समर्थकलाई दिने कि नदिने ?

विद्रोही हुँदै राज्य शक्तिमा आएकाहरु छन् अहिले सत्ताधारीहरु। पुलिसले दिने यातनालाई एउटा कारकको रुपमा हेर्थें त्यसबेलाको द्वन्द्वलाई बढावा दिन। के अहिले सत्तामा रहँदा पनि पक्राउ गरिसकेपछि, त्यस्तै किसिमको यातनालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता हो उनीहरुको? अनि जनतामा विद्रोही भावना सिर्जना हुँदैन?

म त भन्छु, त्यत्रो भिड हुँदा पनि संयमित भएर ध्वंसात्मक गतिविधि नगर्ने रविका समर्थकहरुप्रति कृतज्ञता व्यक्त गर्नुपर्छ, चितवन प्रशासनले त्यत्रो आन्दोलनलाई पनि सहजै दबाइयो भनेर छाती फुलाएर पुरस्कारको अपेक्षा गर्नुभन्दा।

भदौ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्